धीरकुमार श्रेष्ठ नेपाली साहित्यमा बहुआयामिक सेवा गरिरहेका प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलाहरूमा समेटिइसकेको छ । उनको कलम बालसाहित्यमा निकै प्रवल रहेको छ । यहाँ उनको ‘च्याटमा क्याट शीर्षकको बालकथा समेटिएको छ । नाटकीय शैलीमा प्रस्तुत यस बालकथाले बालबालिकाका स्वाभाव र बिरालोका माध्यमबाट जीवनहरूसँगको सहसम्बन्धलाई देखाइएको छ ।-सम्पा. |
“दिदी दिदी, के गर्नुभ‘को ?” भाइले सोध्यो । ऊ दुई कक्षामा पढ्छ ।
“च्याट गरेको ।” दिदीले भनिन् । ऊ सात कक्षामा पढ्छे ।
“कोसँग ?” ऊ दिदीसँग यस्ता प्रश्नहरू सोधिरहन्छ ।
“साथीसँग ।” दिदी पनि भाइका प्रश्नहरूको जबाफ दिइरहन्छे ।
“च्याटमा के गर्नुभयो त ?”
“कुरो गरेँ ।”
“कस्तो कुरो ।”
“स्कुलको ।”
“स्कुलको के कुरो ?”
“होमवर्कको ।”
“च्याटले होमवर्क गरिदिन्छ ?”
“होइन ।”
“अनि के गर्छ त ?”
“च्याट भनेको त कुराकानी हो बुद्धु !”
“अनि मैले तपाईंसँग कुरो गरेँ । च्याट भयो ?”
“भएन ।”
“त्यसो भए क्याटसँग कुरो गर्छु । हुन्छ ?” ऊ खुरर्र दौडेर कोठाको कुनामा गयो । त्यहाँ बसिरहेको बिरालोलाई काखमा लियो ।
“धत् ! अनलाइनबाट कुरो गर्नुलाई च्याट भन्छ नि !”
“हो र ! क्याटसँग कुरो गर्नु च्याट होइन ?” ऊ हाँस्न थाल्यो ।