विष्णु के.सी नेपाली साहित्यका सिर्जना र समीक्षा दुवै क्षेत्रमा कलम चलाउने प्रतिभा हुन् । निरन्तर समीक्षामा कलम चलाइरहेका के.सी कवि, गीतकार, बालसाहित्यकारका रूपमा पनि परिचित छन् । उनको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिइसकेको छ । यहाँ उनको सारभूत परिचयसहित उनको पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण शीर्षकको समीक्षा समेटिएको छ । यस समीक्षालाई महाकाव्यको संरचनापरक समीक्षाका रूपमा प्रस्तुत गरिएको छ।
-सम्पा.
१. पृष्ठभूमि
लक्ष्मीप्रसाद देवकोटा यस धरतीमा लगभग ४९ वर्ष १० महिना २ दिन –१९६६ कार्तिक २७ –२०१६ भाद्र २९) बाँचे आफ्नो समष्टि आधा शताब्दी आयुको चार दशक कविता साधनामा व्यतीत गरे । दश वर्षकै उमेरमा ‘‘घनघोर दुःख सागर…..” भन्ने कविता लेखेर कवितायात्रा थालेका उनले मृत्युका केही दिनअघिसम्म कविता रचिरहे । उनले आफ्नो चार दशक लामो कविता यात्राका क्रममा कविताका लघु, मध्यम र बृहत् तिनै तहमा परिमाणात्मक र गुणात्मक दुवै दृष्टिले ऐतिहासिक सफलता हासिल गरेका छन् । उनको कवित्व स्वाभाविक रूपले फुटकर कविता, खण्डकाव्य हुँदै महाकाव्यका तहसम्म फैलिएको देखिन्छ । जहाँसम्म महाकाव्य लेखनको प्रश्न छ, उनले २००० सालबाट महाकाव्य लेख्न थालेका हुन् । त्यस बेलादेखि २०१५ सम्मै उनको महाकाव्यसाधना कतै द्रुत र कतै सुस्त हु“दै अघि बढेको देखिन्छ (अवस्थी, २०६४ : ८६) । यस बिचमा उनले चौधओटा महाकाव्य लेखनको प्रयास गरे । तीमध्ये शाकुन्तल (र.का.२००२, प्रका. २००२), सुलोचना (रका.२००२, प्रका. २००३), पृथ्वीराज चौहान (रका. २००३, प्र.का २०४९), महाराणप्रताप (रका.२००३, प्रका.२०२४), वनकुसुम (रका २००३, प्रका.२०२५), प्रमिथस (रका. २००७–१५ प्रका. २०२८) गरी छ ओटा नेपाली र शकुन्तला (रका. २०१०, प्रका.२०४८), अङ्ग्रेजी समेत गरी सात महाकाव्य हालसम्म प्रकाशित र उपलब्ध छन् । बा“की सात मध्ये सुषमालोचन (रका. २०००), भक्तप्रल्हाद (रका. २००३) र सत्याभास वा बुद्धचरितको भूमिका (रका.२००३) नेपाली भाषामा रचित अपूर्ण महाकाव्य हुन् भने संस्कृतमा २००३ साल तिरै रचिएका २ मध्ये सिकन्दर अपूर्ण छ र सुन्दरीजल पूर्ण भए पनि अप्राप्य छ (अधिकारी, २०६६ : ६८) । अनि अङ्ग्रेजी भाषामा २००३ सालतिरै लेखिएको प्रमिथस अन बाडन्ड र २०१० तिर रचिएको संयोगिता हाल उपलब्ध छैनन् (अधिकारी, २०६६ : ६८ र अवस्थी, २०६४ : ८६) । उनले २०१० पछि कुनै नयाँ महाकाव्य लेख्न नथालेको भए पनि आफ्ना अप्रकाशित महाकाव्यहरू (खास गरी प्रमिथस) को परिमार्जन २०१५ सालसम्मै गरेको बुझिन्छ । उनको जीवनको अन्तिम वर्ष २०१६ मा भने क्यान्सर रोगले च्यापेका कारण उनले महाकाव्यसम्बन्धी काम गर्न सकेनन् । प्रसतुत लेखमा उनको पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण गरिएको छ ।
२. कृतिगत परिचय
पृथ्वीराज चौहान लक्ष्मीप्रसाद देवकोटाका प्रकाशित ६ ओटा नेपाली महाकाव्यमध्ये लेखनका दृष्टिले चौथो र प्रकाशनका दृष्टिले अन्तिम महाकाव्यकृति हो । यसको लेखन २००३ सालमा भएको हो । देवकोटाले भाषानुवाद परिषद् छाडी त्रिचन्द्र कलेजमा प्रवेश गरेपछि नै यो महाकाव्य लेखिसकेका हुन् (अधिकारी, २०६६ : १९७) । यसलाई लेखनपछि उनले भाषानुवाद परिषदमा बुझाएका थिए । त्यतिखेर यसको प्रकाशन हुन सकेन । २००७ सालको प्रजातन्त्रपछिको स्वतन्त्र परिवेशमा यस महाकाव्यको प्रकाशनका बारेमा स्मरण गराउ“दा उनैले परिष्कार परिमार्जन बा“की रहेको सङ्केत गरेका थिए । त्यसपछि यो २०४९ सालमा ४८ वर्षपछि भाषानुवाद परिषद्कै उत्तराधिकारी संस्था साझा प्रकाशनबाट लक्ष्मीजयन्तीका अवसरमा प्रकाशित हुन सकेको हो । यसको प्रकाशनमा देवकोटाका पुत्र पद्मप्रसाद देवकोटा र साझा प्रकाशनका तत्कालीन महाप्रबन्धक तुलसीप्रसाद भट्टराईको विशेष चासो एवम् अठोटको भूमिका रहेको बुझिन्छ (त्रिपाठी, २०४९ : च) । देवकोटाले त्रिचन्द्र कलेजका तत्कालीन प्राध्यापक गोकुलचन्द्र शास्त्रीको हिन्दू राष्ट्रिय स्वतन्त्र्य चेतनाका उन्नायक वीर पुरुषको बलिदानी चरित्रमा आधारित भई महाकाव्य लेख्ने सुझाबबाट उत्प्रेरित भई यो महाकाव्य लेखेका हुन् । (त्रिपाठी, २०४९ : छ) । कविले नेपाली इतिहासकै वीर पुरुषलाई किन नायक बनाएनन् भन्ने तर्कतर्फ दृष्टि दि“दा मकैपर्व (१९७७), लाइब्रेरी पर्व (१९८७) र सहिद काण्ड(१९९७) जस्ता घटनाक्रमलाई राम्ररी बुझेका उनले स्वदेशीभन्दा विदेशी इतिहासकै सन्दर्भबाट देशभक्ति, स्वाभिमान र बलिदानको गरिमागान गर्न उचित ठानेको मान्न सकिन्छ । यस महाकाव्यको अन्तरमा तत्कालीन नेपालको राणाशासनको अन्त्यका लागि भित्रभित्रै भइरहेको स्वतन्त्रताप्रेमी गतिविधिलाई ऊर्जा दिने भावसन्दर्भ पनि व्यञ्जित भएको पनि भेटिन्छ नै । यो महाकाव्य भारतको मध्यकालीन (१२ औ“ शताब्दीको) इतिहासका केही घटनाक्रममा आधारित भई रचना गरिएको छ । तत्कालीन भारतको हिन्दूहिन्दूबिचको फुट र त्यसबाट अरूले फाइदा लिएको सन्दर्भ नै यस महाकाव्यको विषयबीज हो ।
३. कथावस्तु
पृथ्वीराज चौहान ऐतिहासिक स्रोतको कथावस्तु भएको महाकाव्य हो । १२ औ“ शताब्दीको भारतीय इतिहासका केही घटनाक्रम नै यस महाकाव्यमा कथावस्तुका रूपमा उपयोग भएका छन् । तत्कालीन भारतमा चौहान वंशका राजाहरू प्रभावशाली थिए । केही अरू राजा भने चौहानलाई देखिसह“दैनथे । यसै क्रममा डिल्ली अजमेरका राजा पृथ्वीराज चौहान त्यतिखेर निकै शक्तिशाली मानिन्थे । उनको कन्नौजका राजा जयचन्दस“ग शत्रुता थियो । उनीहरूबिचको यस किसिमको शत्रुवत् सम्बन्धले अन्ततः दुःखद परिणाम निम्त्यायो । यही ऐतिहासिक सन्दर्भलाई आफू अनुकूल पारेर कथावस्तुका रूपमा उपयोग गर्ने काम कविले गरेका छन् ।
प्रस्तुत महाकाव्यमा २१ सर्ग छन् । कथावस्तुका दृष्टिले यी २१ सर्गमध्ये सुरुका ७ सर्ग पृष्ठभूमिका रूपमा देखापरेका छन् भने आठौँ सर्गबाट मात्र खास कथावस्तु सुरु हुन्छ । यस महाकाव्यको कथावस्तुको बनोटलाई हेर्दा त्यसमा आदि, मध्य र अन्त्यको शृङ्खला भेट्टाउन सकिन्छ । त्यसभित्र पताका प्रकरी जस्ता प्रसङ्ग कथाहरू भने भेटि“दैनन् । यस महाकाव्यको कथावस्तुको आदि भागमा कन्नौजकी राजकुमारी संयोगिताले धाईआमाबाट अजमेरका राजा पृथ्वीराज चौहानको बाल्यकालदेखिकै वीर चरित्रको जानकारी पाएको, उनले तिनै राजालाई आफ्नो पतिका रूपमा कल्पना गर्न थाले पनि आफ्ना पिता (जयचन्द) स“ग उनको (पृथ्वीराजको) सम्बन्ध राम्रो नभएका अवस्थामा आफ्नो सपना पूरा नहुने देखी एकान्तमा आ“सु खसाली रोएको, अजमेरका राजाले पनि संयोगिताको रूपगुण एवम् उनको आफूप्रतिको प्रेमको सम्बन्धमा कवि चन्दाबाट थाहा पाएपछि आफै“ भेष बदलेर कन्नौज पुगेको र कन्नौजमा संयोगितालाई भेटी प्रेमपत्र आदानप्रदान गरेर अजमेर फर्केकोजस्ता मुख्य घटनाक्रम पर्दछन् ।
महाकाव्यको मध्य भागमा सन् ११९० तिर मुस्लिम शासक महम्मद गोरी (घोरी?) ले भारतको पन्जाबमा आक्रमण गरी धन—दौलत हत्याएको, जयचन्दले जोरीपारी सिद्धिए आफ्नो कीर्ति बढ्ने सोची सहयोग नगरेको तर पृथ्वीराजले भने आफ्ना सैनिक र अनुयायीसहित लडाइ“मा लागेर गोरीलाई भगाएको, यता जयचन्द भने राजसूय यज्ञ एवम् छोरी संयोगिताको स्वयम्वरको तयारीमा जुटेको, उक्त समारोहमा सारा भारतीय राजारजौटा जम्मा भए पनि पृथ्वीराज आफै“ सरिक नभई चन्दालाई प्रतिनिधि पठाएको, जयचन्दले पृथ्वीराजलाई बोलाउन चन्दालाई प्रलोभनमा पारेर पठाए पनि उनी नआएको, यसबाट रिसाएको जयचन्दले पृथ्वीराजको मूर्ति बनाई ढोकामा राखेर अपमान गरेको, पृथ्वीराज भने भेष बदलेर उक्त समारोहमा सहभागी भएको, संयोगिताले स्वयम्वरका बेलामा पृथ्वीराजलाई नदेखी ढोकाको मूर्तिलाई वरमाला लगाएपछि जयचन्द रिसले चुर भएको एवम् छद्मभेषी पृथ्वीराजले “मै पृथ्वीराज हु“” भन्दै संयोगितालाई घोडामा राखी अजमेर लगेर भोगविलासमा लागेसम्मका मुख्य घटनाहरू पर्दछन्।
महाकाव्इको अन्त्य भागमा चाहि“ पृथ्वीराज भोगविलासमा लिप्त भएपछि राज्यको सुरक्षाका बारेमा ख्याल नराखेको, उता गोरीले भने आफ्नो हारको बदला लिन तयारी गरेको, सन् ११९१ मा गोरीले भारतमा आक्रमण गरेको, जयचन्दले सहयोग नगरेको, पृथ्वीराजले हारेको र गोरीले मुस्लिम धर्म ग्रहण गरे नोकर बनाएर राख्ने शर्त राख्दा पृथ्वीराजले स्वीकार नगरेपछि उनको शिरच्छेदन गरेको र संयोगिता विरहव्याकुल भई सती गएको जस्ता मुख्य घटनाहरू पर्दछन् ।
प्रस्तुत महाकाव्यको कथावस्तुको संरचनालाई सर्गगत रूपमा यसरी देखाउन सकिन्छ :
पहिलो सर्ग
आँखामा बत्ती र नशामा जोस लिएर मुटु फुलाई महाकाव्य पढिदिन कविले आग्रह गरेका छन् । मनुष्यको आगमन मानवसेवाका लागि हो≤ प्रेम नै विश्वास र विश्वको विश्वास जित्ने चिज हो≤ अतीतमा भारतीय वीरहरू महान् थिए ≤ ती वीरहरूको कथालाई पढ्दा वा सुन्दा कविले इनाम पाएझैं महसुस गर्नेछन् ।
दोस्रो सर्ग
भारतमा रिस, द्वेष र फुट थियो । हिन्दू राजाहरू आपसआपसमा झगडा गर्दै र भारतलाई टुक्रा पार्दै एक अर्कामा डाहा गर्थे । उनीहरूमा मै ठुलो भन्ने घमण्ड थियो । उनीहरू कामवासना र मदिरामा पनि भुलेका थिए । उनीहरूमा कलिको प्रभाव देखिन्थ्यो । जनताले भने सुविधा पाएका थिएनन् । कोही राज्यविस्तारका लागि छिमेकीस“ग लडाइ“ गर्थे । कोही कीर्ति राख्न युद्ध गर्थे । बलियाहरू निर्धालाई दुःख दिन पाउ“दा रमाउ“थे । उनीहरूको यस्ता चालाबाट भारत अस्तव्यस्त थियो । स्वर्गझै“ सुन्दर भारतमा एकता र मेलमिलापको खा“चो थियो । त्यसका अभावमा वैरीहरू गिद्ध र कागका आ“खाले हेरिरहेका थिए । त्यस्तै अवस्थामा एक जना राजा चाहिँ विष्णुका अवतारझै“ रूप गुणले युक्त थिए । तिनको नाम पृथ्वीराज थियो । ती भारतका उज्याला आत्मा थिए ।
तेस्रो सर्ग
संसारमा एउटै राजा छन् भन्ने हिन्दूको विश्वास छ । एउटै ऐन, एउटै दृष्टि, एउटै नीति, एउटै थिति, न्यायका मूर्ति, ब्रह्माको कृति सत्यका स्वामी मानिने हिन्दू राजा दुष्टका कंश र विष्णुका अंश हुन् । ऋषिहरूले राम्रा विचारले हिन्दूहरूको रीति थिति बनाएका हुन् । जसअनुसार राजा बाबुसरह र प्रजा छोरासरह हुन्छन् । राजा प्रजाका गोठाला पनि हुन् । प्रजाको समस्यालाई हृदयबाटै सुन्नु राजाको काम हो । सही न्याय दिने सबैलाई प्रेम भावले हेर्ने, सबैलाई मिलाएर लाने, विद्याप्रेमी र साधुका दाता भई प्रजाको दिलको सिंहासनमा राजाले बस्नुपर्छ । शुद्ध र चोखो दानापानी, सनातन थिति, भाइभाइमा मेलमिलाप, बाहुन र गाईको रक्षा आदि हिन्दूहरूको विशेषता हुन् । न्याय र प्रजाको हित भइन्जेल राज्य चलिरहन्छ । हिन्दूका यी थिति र रीति जान्ने त्यसबेलाका एकमात्र राजा पृथ्वीराज चौहान थिए । उनी हिन्दूका भूषण थिए । तर उनको सत्व्यवस्थाको डाहा गर्ने जयचन्द राजा पनि थियो । त्यो उनलाई (पृथ्वीराजालाई) सौताझै“ मान्थ्यो । त्यो जालझेल जान्ने अहम् भावले युक्त दुष्ट प्रवृत्तिको थियो ।
चौथो सर्ग
राजपूतहरू संसारकै वीर थिए । तिनमा पनि चौहानहरू त रत्न नै थिए । अनलदेव चौहानका पराक्रमी तिन भाइ छोरा थिए । जेठाको नाम जगदेव, माइलाको नाम विशालदेव र साइलाको नाम सोमेश्वर थियो । यिनै मध्येका माइला विशालदेव समरजेता र गुणी राजा थिए । उनले सम्भरका गजातूर्कलाई जितेर म्लेच्छहरूलाई ठेगाना लगाई भारतलाई आर्यहरूको भूमिमा परिणत गरेर डिल्लीसम्म शासन गरे । बाह्रौँ शताब्दीको आधाआधीमा नाडोल, जालोर र पालीजस्ता राज्यलाई हिमालदेखि विन्ध्याचलसम्म उनले शासन गरे । अजमेरलाई उनले विद्या, यश र ज्ञानको मूल केन्द्र बनाए । तर पछि त्यसलाई म्लेच्छहरूले उजाड बनाइदिए । यसरी बाह्रौ“ शताब्दीको मध्यतिर भारतमा शासन गर्ने विशालदेवकै छोरा थिए पृथ्वीराज चौहान । उनको राज्य अजमेर र डिल्लीमा थियो । उनी चौहान वंशका कीर्तिमानी सपूत थिए ।
पाँचौँ सर्ग
पृथ्वीराज चौहान बालकैदेखि खुब चलाख थिए । बिहानले दिनको सङ्केत गरेझै“ उनी हुने हुने बिरुवाको चिल्लो पात थिए । धाईआमाले उनलाई उनका (पृथ्वीराजका) पुर्खाको वीरताको कथा सुनाउने गरेकी थिइन् । आफ्ना पुर्खाले भारतका लागि कसरी योगदान गरे कसरी ब्राह्मणको रक्षा गरे, कसरी आफ्ना शत्रुहरूको नाश गरे भन्ने कुरा उनी ध्यान दिएर सुन्थे । उनी सङ्गीतका पनि सौखिन थिए । उनी कहिलेकाही कविता पनि रच्ने गर्थे । उनी सिकार पनि खेल्थे । सिकारमा उनी खुब सिपालु थिए । विद्यामा पनि उनी अब्बल नै थिए । राजाका सन्तान वा वीर पुत्रहरूलाई दिइने तालिम उनलाई पनि दिइएको थियो । त्यस्तो तालिममा पुर्खाको वीरताको कथा सुनाइन्थ्यो । लड्न, भिड्न र धनु, गधा एवम् चक्र चलाउन सिकाइन्थ्यो । साधु सन्त र ब्राह्मणको रक्षा गर्न पनि सिकाइन्थ्यो । त्यस तालिममा उनी सबैभन्दा अगाडि भए । जवान भएपछि त उनले प्रत्येक दिन चमत्कार नै गरे । अनङ्गपाल आफ्नो दरबारमा ‘यो मेरो नाति’ भनेर सबैलाई देखाउ“थे । उनी अजमेरपुरकै सुन्दर युवक थिए । उनको रूप—यौवन अत्यन्त आकर्षक थियो । उनलाई देख्दा वैरीहरू काप्दथे । उनको यश चारैतिर फैलियो । उनी आफ्नो विवाहको कुरा चल्दा आफू वीर राजपूत भएकाले म्लेच्छको राज्य जित्ने लक्ष्य नै मुख्य काम भएको बताई विवाहको कुरा छल्थे ।
छैटौँ सर्ग
कन्नौजका राजा जयचन्द (कतै विजयचन्द पनि भनिएको) आफै“लाई मपाई सोच्ने, घमण्डी र मूर्ख थिए । उनी अरू कुनै राजालाई मान्दैनथे । आफै“लाई विष्णुका अवतार भन्ने सोच भएका उनी यशका लालसी थिए । उनी बुद्धिका मोटा, कर्मका खोटा, सङ्कुचित मनका र अरूको देखासिकी गर्ने खालका थिए । उनी म्लेच्छलाई गर्नुपर्ने व्यवहार आफ्ना भाइहरूलाई गर्थे । पृथ्वीराजको नाम र यश देखेर उनको मन पोल्थ्यो । अरू राजाहरूलाई पयरमा पार्न सके पनि पृथ्वीराजलाई भने उनले झुकाउन सकेका थिएनन् । उनी आफ्ना रजौटाहरूलाई पयरमुनि राखेर शान देखाउन अश्वमेध यज्ञ गर्न चाहन्थे । काग र हा“स जस्ता जयचन्द र पृथ्वीराजमा वैमनश्यता बढ्दै गयो । जयचन्द सभासमारोहमै पृथ्वीराजालाई होच्याएर बोल्थे । पृथ्वीराज चाहिँ हाँसेर टारिदिन्थे ।
सातौँ सर्ग
भारतमा शासकहरूबिच देखिएको फुट र कलहको मौका छोपी म्लेच्छहरू चनाखा आ“खाले हेर्थे । निर्दोषलाई शक्तिशालीले आक्रमण गर्ने प्राकृतिक नियम नै हो । आफू फुट्दा अरू जुट्छन् । शिहाउद्दिन मुस्लिम राजाले यही मौकामा भारतमाथि विजय हासिल गर्ने सपना देखे । प्राकृतिक सौन्दर्यले भरिपूर्ण उब्जनीशील माटो भएको भारत देशको सिंहासनमा बस्ने सपना मोहोमद गोरी (काव्यमा ‘घोरी’ भनिएको) ले पनि देख्यो । ऊ डिल्ली आक्रमणका लागि निरन्तर अभ्यासमा लाग्यो । उसले भाइभारदारलाई बोलाएर आफूलाई भारतको शासक हुन अल्लाहले प्रेरित गरेको भन्दै भारतमा इस्लाम राज्य स्थापनाका निम्ति ज्यान अर्पनुपरे पनि पछि नहट्न आह्वान गर्यो । आफूहरू थोरै भए पनि अल्लाह सम्झेर भारत विजयका निम्ति अघि बढ्न उसले सबैलाई सम्झायो । युद्धमा मर्दा जन्नत प्राप्त हुने र जित हासिल गर्दा ताज पाइने कुरा पनि सम्झायो । उसका भाइबन्धुले पनि ‘‘अल्ला हो अकबर …” भन्दै सहमति जनाए ।
आठौँ सर्ग
कन्नौजका राजा जयचन्दकी छोरीको नाम संयोगिता थियो । उनी रूप गुणले युक्त अत्यन्त राम्री थिइन् । भर्खर सोह्र वर्षमा प्रवेश गरेकी उनी फक्र“दो फुलझै“ थिइन् । मसिनो बोल्ने, मिठो हा“स्ने उनको बानी थियो । उनलाई वीर पुरुषको वीरताको कथा मनपथ्र्यो । धाई आमा उनलाई पृथ्वीराज चौहानको वीरताको कथा सुनाउ“थिन् । पृथ्वीराज पराक्रमवाला, रूपगुणमा उत्तम, कविता जान्ने, लडाइ“मा सिपालु, देवतास“ग गणना गर्न सकिने वीर पुरुष भएको कुरा धाईआमाबाट थाहा पाएपछि उनले तिनै वीर पुरुष पृथ्वीराजलाई प्रेम गर्न थालिन् । उनका पिता जयचन्द भने पृथ्वीराजको निन्दा गर्थे । यसबाट आफ्नो प्रेमसम्बन्ध सफल हुन नसक्ने देखी उनी पीडाले छटपटाउँथिन् र एकान्तमा आ“सु खसाली रुन्थिन् ।
नवौँ सर्ग
पृथ्वीराज चौहानका कवि मित्र चन्दाले कन्नौजकी राजकुमारी संयोगिताको रूपगुणको बयान गरे । वीर पुरुषलाई सुहाउने र भारतकी रानी बन्न लायक भनी चन्दाले धेरै प्रशंसा गरेपछि पृथ्वीराजले कविको कुरा पत्याउन नसकिने भन्दै शङ्का व्यक्त गरे । चन्दाले आफू मिथ्या नभएको र ती राजकुमारीलाई देखेर हजारौँ राजाहरू भुतुक्कै हुने गरेको बताएपछि पृथ्वीराज साधु र चन्दा चेलोको रूपमा भेष बदली यथार्थ हेर्न कन्नौज गए । बाटामा किसानहरूको उदार आतिथ्य प्राप्त भयो । कन्नौज निकै राम्रो थियो । सहरी वातावरण, व्यापारिक गतिविधि र राज्यव्यवस्था राम्रो देखिने कन्नौज धनी थियो ।
दशौँ सर्ग
दरबारको द्वारमा कर्पाटक नामकी द्वारे बसेकी थिई । उसैले दुई जना ठुला साधु आएको जानकारी गराई । साधुलाई बगै“चामा बोलाएर तिनको मधुर कुरा सुन्ने व्यवस्था भयो । चन्दाले दुई अर्थ लाग्ने गीत गाए । सामान्य अर्थमा ईश्वरको भजन जस्तो र विशेष अर्थमा “पृथ्वीराज चौहान यिनै गुरु हुन्” भन्ने भावका गीत सुनेपछि संयोगिता झस्किन् । सुसारेले तिनै गुरु पृथ्वीराज भएको सङ्केत गरेपछि उनलाई विश्वास भयो । उनले आफ्ना प्रेमीलाई “के चढाउ“m” भनी सोध्दा पृथ्वीराजले प्रेमको हृदय चाहेको जवाफ चन्दामार्फत् दिए । संयोगिताले आफ्नो तस्बिरको उपहार र प्रेमपत्र दिइन् । साधु (पृथ्वीराज) ले सुनको बारा उपहार दिए । प्रेमपत्र र उपहार आदानप्रदानपछि ती दुई साधु आफ्नो राजधानी फर्के ।
एघारौँ सर्ग
११९० तिर मोहमद गोरी (घोरी) ले भारतमा आक्रमण गर्यो । उछकी रानीले आत्मसमर्पण गरी । रानी र राज्य पाएको गोरी आक्रमणमा अझ हौसियो । गुजरातमा उसको हार भयो । पञ्जावमा भने उसले जितेर धन—दौलत समेत ओसार्यो । कन्नौजका राजा जयचन्द रमिता हेरेर बस्यो । अरू राजाहरू पनि जुम्सा देखिए । पृथ्वीराज भने भारतलाई बुझ्ने राजा थिए । मुसलमानहरूबाट बच्न उनले हिन्दूहरूलाई सङ्गठित पारे । उनी हिन्दू वीरहरूको सेनापति बने ।
बाह्रौँ सर्ग
थानेश्वर भन्ने ठाउ“मा मुसलमान र हिन्दूका सैनिकहरू युद्धका लागि तयार देखिए । हिन्दूहरू सिंगारिएका हात्ती—घोडा चढेर ठुलो सङ्ख्यामा उपस्थित थिए । मुसलमानहरू थोरै थिए । उनीहरूका बिचमा घमासान युद्ध भयो । युद्धमा मुसलमानहरूले जित्ने जस्तो देखियो । हिन्दूवीरहरू भाग्न लागे । त्यसैबेला पृथ्वीराजले सबैलाई एकत्रित पारी गोरीको फौजमाथि आक्रमण गरे । हिन्दूवीरहरूले मुसलमानका शिर मुलाझैैँ काटे । गोरी पनि घाइते भयो । जसो तसो बा“चेको गोरीलाई उसैको एक सैनिकले भगायो । हिन्दूको जित भयो । डिल्ली सहरमा अविर जात्रा गरी पृथ्वीराजको जयगान गर्दै विजयोत्सव मनाइयो ।
तेह्रौँ सर्ग
जयचन्द राजा यश र कीर्तिको भोको थियो । ऊ अरूलाई मान्छे नै गन्दैनथ्यो । ऊ आफै“लाई ईश्वर र विष्णुको अवतार ठान्थ्यो । उसमा मपाई“त्व पूरापुर थियो । ऊ मजस्तो राम्रो र ठुलो कोही छैन भन्ने भ्रममा परेको थियो । ऊ आफ्नो दरबारमा राजसूय यज्ञका तयारीमा लागेको थियो । दरबारलाई इन्द्रको स्वर्ग बिर्साउने गरी स्वर्गकै नक्कलमा सजाइएको थियो । त्यो सजावट भाषाले बयान गरिसकिने खालको थिएन । उसको कीर्तिको बखान गर्दै जयजयकार गरिदैँ थियो । उसलाई इन्द्र, विष्णु, युधिष्ठिर आदिकै अवतारका रूपमा प्रशंसा गरि“दै थियो ।
चौधौँ सर्ग
जयचन्दले पृथ्वीराजलाई पनि यज्ञमा आउन निमन्त्रणा गरेको थियो । त्यस यज्ञमा संयोगिताको स्वयंवर हुने कार्यक्रम पनि थियो । पृथ्वीराजले चाहि“ आफ्नो प्रतिनिधिका रूपमा चन्दालाई पठाएका थिए । यो देखेर जयचन्दले नराम्रो मानी पृथ्वीराज नै आए आफ्नो यज्ञको शोभा बढ्ने भन्दै चन्दालाई पृथ्वीराजलाई लिएर आउन अह्रायो । यो काम गरेवापत चन्दालाई कदर सम्मान गर्ने प्रलोभन समेत देखायो । तर पृथ्वीराज आएनन् । जयचन्द रिसले चुर भयो । उसले पृथ्वीराजको मूर्ति बनाई ढोकामा राखी सिस्नोको माला लगाइदिएर अपमान गर्यो । जम्मा भएका राजारजौटाहरूलाई रमिता देखायो । पृथ्वीराज भने भेष बदलेर अरू नै देशको राजाका रूपमा उपस्थित थिए । स्वयम्वरको बेला भयो । संयोगिताले आफ्नो मनको वर पृथ्वीराजलाई खोजिन् । पृथ्वीराजलाई नदेखेर निराश भएकी उनले द्वारमा पृथ्वीराजको मूर्ति देखिन् । उनले त्यसैलाई वरमाला लगाइदिइन् । जयचन्द रिसले आगो भयो । त्यति नै खेर पृथ्वीराजले “मै पृथ्वीराज हु“” भन्दै संयोगितालाई घोडामा हालेर दौडे । जयचन्दका सैनिकले भेटेनन् । जयचन्द मौका आएपछि ठुलो ठक्कर दिने दागा धरेर बस्यो ।
पन्ध्रौँ सर्ग
पृथ्वीराज संयोगिताका साथ डिल्ली पुगेपछि त्यहा“ धुमधाम उत्सव मनाइयो । भव्य नाचगानको आयोजना भयो । सहरमा जताततै पृथ्वीराजको जयजयकार गरियो । दुलाहा (राजा) हात्तीमाथि सवार थिए । सडकमा दुई तरफ सिपाहीको लाम थियो । फुल, अबिर र लावा बर्सिएका थिए । डिल्ली सहर स्वर्गझैँ लाग्थ्यो ।
सोह्रौँ सर्ग
पृथ्वीराज र संयोगिता प्रेममा मग्न भए । कौञ्च पञ्छीका जोडीझै“ संसार भुलेर एकअर्काका आकर्षणमा दिन बिताउन थाले । उनीहरूले भावी अनिष्टको ख्यालै गरेनन् । उनीहरूको यही चाल देखी मुसलमानहरू हारको बदला लिने मौका हेरिरहेका थिए ।
सत्रौँ सर्ग
गोरीले आफूले खाएको हारको चोट बिर्सेको थिएन । ऊ बदला लिने दाउमा इस्लामी फौज जम्मा पारेर सङ्गठित रूपमा तालिम दिँदै थियो । यता डिल्लीका वीर राजा पृथ्वीराज भने विलासको निद्रामा थिए । त्यसैबेला प्रतापी राणाले हिन्दूहरूमा फुट हुँदा शत्रुको मनोबल बढेको भन्दै सबै हिन्दू राजाहरूलाई एक हुन आह्वान गरे । यसबाट पृथ्वीराज पनि झल्यास भएर भोगविलासको निद्राबाट बिउ“झे । उनले अरू राजाहरूसँग हात मिलाई मुसलमानहरूस“ग लड्न सङ्गठित रूपमा तयारी गरे । कन्नौजका राजा जयचन्द भने कानमा तेल हालेर बस्यो । उसले सहयोग गरेन । घरको “मालिक मर्दा आफैँ राज गर्थेँ” भनी सोच्ने बिरालो झै“ जोरोपारी समस्यामा पर्दा आफूलाई फाइदा हुन्छ भन्ने सोच उसको थियो ।
अठारौँ सर्ग
थानेश्वरबाट पन्ध्र कोस पर मैदानमा हिन्दू र मुसलमानहरूको घमासान युद्ध सुरु भयो । त्यो समय सन् ११९१ को थियो । हिन्दू वीरहरूले भारतीय सभ्यता बचाउन मुसलमानहरूमाथि वीरतापूर्ण आक्रमण गरे । मुसलमानहरू आच्छुआच्छु भए । उनीहरू ‘भागौ“ कि बसौ“’ भन्ने दोधारमा परे । तर हिन्दूको शान धेरै टिकेन । मुसलमानहरू ‘‘अल्ला हो अकबर” भन्ने आवाज गर्दै अघि बढे । हिन्दूहरू भागाभाग गर्न थाले । अन्ततः हिन्दूले हारे मुसलमानले भारत हात पारे । हिन्दूको रगत भलसरि बग्यो ।
उन्नाइसौँ सर्ग
गोरीले युद्ध जित्यो । उसको सपना सफल भयो । पृथ्वीराजलाई पक्रेर गोरीको अगाडि ल्याइयो । पृथ्वीराजले शिर झुकाएनन् । गोरीले पयर परेर माफी मागी इस्लाम धर्म ग्रहण गरे नोकरका रूपमा बाँच्न दिने कुरा बतायो । पृथ्वीराजले “स्वधर्म छाडेर जिउनु भनेको नरकको बाटो लिनु हो” भन्ने सोच्तै गोरीलाई नै माफी माग्न र तत्काल भारत छाड्न भने । आखिर पृथ्वीराजको शिर काटियो ।
बिसौँ सर्ग
संयोगिता दरबारमा बसिरहेकी थिइन् । सूर्य रातो भएर अस्ताएको दृश्यले उनलाई अधीर बनायो । त्यसैबेला एउटा गिद्ध आएर छानामा बस्यो । यो अपशकुन देखेर उनको आ“खाबाट आ“सुका थोपा झरे । त्यसैबेला रिसल्लाहरूले उता राजाको शिर काटिएको खबर सुनाए । उनले “वीरले हारेर फर्कनुभन्दा धर्मको युद्धमा मरेर अमर भएकै राम्रो भन्ने सोची आफ्ना पतिको शिर ल्याइदिन आग्रह गरिन् । लावालस्कर गएर राजाको शिर ल्याए । रानी संयोगिता त्यही शिर छातीमा राखी सतीवेदीमा चढिन् ।
एक्काइसौँ सर्ग
जयचन्द राजा धिक्कारको योग्य छ । उसले म्लेच्छसँग मिल्न खोजेर चमेरे नीति देखायो । त्यो उसको मूर्खता थियो । आखिर एक दिन मुसलमानहरूलाई हटाएर भारतको झन्डा उँचो पार्ने दायित्व हिन्दू वीरहरूलाई छ । सङ्गठन ठुलो पारी अघि बढेमा फेरि जितिने सम्भावना छँदै छ ।
यसरी प्रस्तुत महाकाव्यको वस्तु वर्णनका उपर्युक्त २१ सर्गको शृङ्खलालाई सर्सती हेर्दा १२ औँ शताब्दीको भारतमाहिन्दूराजाहरू
(खासगरी अजमेरका राजा पृथ्वीराज चौहान र कन्नौजका राजा जयचन्द) को आपसी बेमेलबाट बाहिरी शत्रु (महम्मद गोरी) ले फाइदा लिन पाएको ऐतिहासिक तथ्यका साथै राजा पृथ्वीराज र राजकुमारी संयोगिताको प्रेम, विवाह र वियोगको मार्मिक प्रसङ्गलाई कथावस्तुको मुख्य केन्द्र बनाइएको देखिन्छ । इतिहास प्रसिद्ध घटनाबाट बनेको यो कथा महाकाव्यको सैद्धान्तिक अपेक्षा अनुकूलकै छ । कथावस्तुगत सर्ग सन्तुलनका दृष्टिले हेर्दा चाहिँ जम्माजम्मी २१ सर्गमध्ये पहिलो एकतिहाई (१–७ सर्ग) मा कथावस्तु सुरु नहुनु र बा“की सर्गमा ठाउँठाउँमा एउटै प्रसङ्ग दोहोरिनुले पनि केही कमी कमजोरी महसुस हुन्छ । खासगरी पृथ्वीराजको अधिक प्रशंसा र जयचन्दको अधिक निन्दाका क्रममा यस किसिमको कमजोरी देखिन गएको छ । यो सरल किसिमको हुनाका साथै बाह्य तथा आन्तरिक द्वन्द्वले युक्त पनि रहेको छ । पाठकमा वीर, शृङ्गार र करुण रसको सञ्चार गर्ने यो कथावस्तु नायकनायिकाको वियोगमा टुङ्गिएको दुःखान्त किसिमको छ भने बनोटगत शैलीशिल्पका दृष्टिले चाहि“ अलि कमजोर किसिमकै देखिन्छ ।
४. पात्रविधान
पत्रविधानका दृष्टिले पृथ्वीराज चौहान महाकाव्यलाई नियाल्दा यसमा मूलतः ऐतिहासिक सन्दर्भकै पात्रहरूको सक्रियता फेला पर्छ । यसको पात्रविधान अन्तर्गत सत्–असत्, प्रत्यक्ष–सूच्य एवम् मुख्य सहायक र गौण भूमिकाका पात्रहरूको उपयोग गरिएको देखिन्छ । यसका पृथ्वीराज चौहान, संगोगिता, कवि चन्दाजस्ता पात्रहरू सत् भूमिकामा छन् भने जयचन्द, महम्मद गोरी, आदि असत् भूमिकामा छन् । त्यस्तै पृथ्वीराज, संयोगिता, जयचन्द, गोरी, चन्दा आदि प्रत्यक्ष पात्र हुन् भने धाई, अनलदेव, विशालदेव, सोमेश्वर, उछकी रानी, मोहम्मद सुल्तान आदि सूच्य पात्र हुन् । अनि मुख्य भूमिकामा चाहि“ पृथ्वीराज, जयचन्द, संयोगिता र गोरीको उपस्थिति सहायक भूमिकामा कवि चन्दा, धाईआमा जस्ता पात्र देखा पर्छन् । बा“की पात्र भने गौण, भूमिकामा छन् । अर्को दृष्टिबाट हेर्दा यसमा पुरुष पात्रहरूको त्रिकोणात्मक स्थिति फेला पर्छ । हिन्दुत्वको रक्षामा खट्ने पृथ्वीराज, फुट, कलह र घमण्डमा रमाई हिन्दू भईकन पनि हिन्दुत्वको बचावट नगर्ने जयचन्द तथा हिन्दूलाई सिध्याएर हिन्दूस्तान कब्जा गर्ने उद्देश्यमा लागेको महम्मद गोरी यसका त्रिकोणीय पात्र हुन् (गौतम, २०५६ : ३२४) । यो महाकाव्य एउटै मूलकथाबाट बनेको हुँदा यसमा पात्रगत गन्जागोल छैन । पात्रको चरित्रचित्रणका दृष्टिले हेर्दा चाहिँ पृथ्वीराजको बाहेक अरू पात्रको चरित्र त्यति राम्ररी खुल्न नसकेको महसुस हुन्छ । यहाँ प्रत्यक्ष भूमिकाका केही मुख्य पात्रहरूको चरित्रगत विशेषता यसरी हेर्न सकिन्छ :
क) पृथ्वीराज
पृथ्वीराज प्रस्तुत महाकाव्यका नायक हुन् । डिल्ली र अजमेरका राजाका रूपमा चित्रित उनी काव्यका केन्द्रमा रहेका देखिन्छन् । उनकै नामबाट महाकाव्यको शीर्षकीकरण गरेका सन्दर्भबाट पनि उनी महत्त्वपूर्ण पात्र हुन् भन्ने बुझ्न सकिन्छ । काव्यभित्र उनलाई ठाउँठाउँमा चिनाइएको पाइन्छ । खासगरी पाँचौँ सर्ग पूरै उनको चरित्र चित्रणमा खर्च गरिएको छ । उनी बिहानले दिनको सङ्केत गरेझै“ हुने बिरुवाको चिल्लो पात थिए । सानैदेखि खुब चलाख उनी विद्या, सिकार र युद्ध कलामा सिपालु थिए । राजाका सन्तान वा वीर पुत्रलाई दिइने तालिम उनले पनि पाएका थिए । उनका हजुरबा (अनङ्गपाल) उनलाई देखेर गर्व गर्थे । शूरवीर र रूप यौवनले युक्त उनलाई देखेर शत्रुहरू थरथर काम्थे । उनको यश चारैतिर फैलिएको थियो । हिन्दुत्वको रक्षामा उनले आफूलाई समर्पित गरेका थिए । यसरी महाकाव्यमा उनलाई एक शूरवीर राजाका रूपमा चिनाउने प्रयास कविले गरेका छन् । शत्रुलाई परास्त गरी अघि बढ्ने लक्ष्य भएका उनले आरम्भतिर विवाहका कुरालाई खासै महत्त्व नदिएको बुझिन्छ पछि कन्नौजकी राजकुमारीले आफूलाई मनपराएको र रूपगुणले युक्त आफूलायक भएको थाहा पाएपछि भने उनीप्रति आकर्षित हुन्छन् । यस आकर्षणले उनलाई कन्नौजसम्म छद्म रूपमा पुर्याउ“छ र जुन प्रेमाकर्षण प्रकारान्तरले उनको अन्त्यको काणसमेत बन्छ । संयोगितास“गको भोगविलासमा राज्यव्यवस्था र राज्यको सुरक्षा समेतलाई भुल्दा उनले गोरीबाट हार व्यहोर्नुमात्र नभएर ज्यान समेत गुमाउनु पर्यो । उनको कामातुरता उनको विनासको कारण बन्यो । तर पनि उनले गोरीका अगाडि ज्यानको भिख मागेनन् । मर्दा पनि स्वाभिमानलाई कायम राखे । काव्यभित्र कविले उनलाई पराक्रमी, प्रतिभाशाली, वीर र हिन्दूका संरक्षकका रूपमा चिनाएका छन् । कविले उनलाई राजामा चाहिने गुणले युक्त दूरदर्शी कीर्तिमानी पनि भनेका छन् । तर उनले जयचन्दसँग शत्रुता मेटाउन प्रयास गरेनन् । जयचन्दको निम्तालाई अस्वीकार गरी झन शत्रुता बढाए । छद्मरूपमा संयोगीतालाई भेटे र छद्मरूपमै संयोगितलाई स्वयम्वरबाट भगाए । यी सन्दर्भहरू एउटा वीर र दूरदर्शी व्यक्तिका लागि सुहाउने देखि“दैन । उनले निश्चय नै केही ठाउँमा वीरता देखाएका छन् । पहिलोपल्ट गोरीलाई हराउनु, गोरीका अघि शिर झुकाएर जीवनदान नलिनु आदि उनका वीरतापूर्ण कार्य हुन् । उनको चरित्र खुल्ने केही पङ्क्ति यी हुन् :
अग्ला र गोरा वीरका छोरा कदका गठिला
न धेरै बोल्ने नधेरै चल्ने सत्यका हठिला
उनलाई देख्दै दुष्टको मन पापले काँप्दछ
मनुष्यलाई देख्दैमा उनको बुद्धिले नाप्दछ (५/१३)
हातमा धनु पीठमा ठेक्रो पाश्र्वमा तरबार
माछाको आ“खा प्वाल पार्ने वीर भन्दथ्यो दरबार (५/१४)
यसरी कविले वर्णन गरेझै“ पृथ्वीराजको चरित्र उनकै व्यवहारमा प्रस्ट हु“दैन । कविले जति नै प्रशंसा गरे पनि उनको चरित्रमा घमण्ड, षड्यन्त्र र कामातुरताको मात्रा पनि केही हदसम्म छ जसले उनलाई दुःखद अन्त्यसम्म डोहोर्याएको छ । उनी यस महाकाव्यका बद्ध र केन्द्रीय भूमिकाका पात्र
हुन् । उनी मञ्चीय, स्थिर र सत् पात्र पनि हुन् । नायकीय गुणका दृष्टिले भन्दा चाहि“ उनलाई धीरललित नायक मान्न सकिने देखिन्छ (अधिकारी, २०६६ : २०६) । समष्टिमा उनी धेरै गुन र कम बैगुन भएका पात्र हुन् । उनको त्यही बैगुन (खासगरी भोगविलास) मै विनाशको कारण भएका परिप्रेक्ष्यमा उनको चरित्रबाट वीर पुरुषले भोगविलासमा डुबिरह“दा अनिष्ट बेहोर्नुपर्ने सन्देश समेत व्यञ्जित भएको छ ।
ख) संयोगिता
संयोगिता प्रस्तुत महाकाव्यकी नायिका हुन् । उनी आठौँ सर्गबाट देखापरेकी छन् । कन्नौजका राजा जयचन्दकी छोरीका रूपमा उनको उपस्थिति भएको छ । उनी षोडषी एवम् रूपगुणले युक्त सुन्दरी नारी हुन् । धाईआमाबाट पृथ्वीराजको वीरता र शूरताको जानकारी पाएकी उनले पृथ्वीराजलाई नै आफ्नो पतिका रूपमा कल्पना गरेकी छन् । नभन्दै पृथ्वीराजले समेत मन पराइएकी उनी नारीसुलभ प्रेमभावले युक्त प्रेमिका हुन् । आफ्ना पिता र पृथ्वीराजको विपरीत सम्बन्धले गर्दा उनलाई चिन्तित पारेको छ । पृथ्वीराजले छद्मरूपमा भेट्दा प्रेमपत्र आदानप्रदान गरेको, स्वयम्वरमा पृथ्वीराजलाई खोज्दा नपाएर पृथ्वीराजको मूर्तिलाई वरमाला लगाइदिएको, पृथ्वीराजसँग भोगविलासमा चुपचाप समर्पित भएको एवम् पृथ्वीराजको मृत्युपछि सती गएको बाहेक उनको खास विशेषता प्रस्ट हुन सकेको छैन । उनले पिताले अपमान गरेर सिस्नुको माला लगाइदिएको पृथ्वीराजको मूर्तिलाई वरमाला लगाइदिएकी छन् । यो उनको विद्रोहको सङ्केत हो । नारी इच्छाका विपरीत रहनेहरूका लागि नारी स्वतन्त्रताको उद्घोष पनि यहा“ भएको छ । उनको रूप गुण एवम् चरित्र खुल्ने केही पङ्क्ति यी हुन् :
मिर्गका लोचन तमकोशे त्यसै
अप्सरा जस्ती, अमृत रसै
अलक कलाकी ।
बै“शका हरा वागमा फुल्ने
भमरा लहर जसमा झुल्ने
गुलाफ गालाकी ।
सोह्रमा भर्खर प्रवेश गर्दी
हंसकी चालाकी । (८/२)
संयोगिता हो तिनको नाम
विधिका उत्तम छिनोकी काम
कन्नौज कुलकी ।
जरामा थियो पुर्खाको बास्ना
बै“सकी फूलकी ।
गम्भीर चाला प्रेमकी ज्वाला
स्वर्गकी मूलकी । (८/१३)
तिनलाई लाग्थ्यो वीरको नाम
अत्यन्त पियारो ।
सुन्दथिन् कथा वीरको ज्यथा
कविको गीत धारो । (८/१४)
संयोगिता यस महाकाव्यकी बद्ध पात्र हुन् । शृङ्गार रसको उत्पादन एवम् आस्वादनमा उनको भूमिका महत्त्वपूर्ण रहेको छ । उनले पृथ्वीराजप्रति पवित्र र सच्चा प्रेम गरेकी छन् । भौतिक प्राप्तिभन्दा आत्मिक प्रेममा नै रमाउने स्वच्छन्दतावादी कविचेतना उनकै सतीगमनबाट प्रस्टिएको छ । सारमा भन्दा नायिका भईकन पनि उनको सक्रिय भूमिका भने कम छ । उनी यस महाकाव्यकी बद्ध, स्थिर, मञ्चीय, सत्यपात्र हुन् । शास्त्रीय दृष्टिले भन्दा चाहि“ उनलाई स्वकीया प्रकृतिकी नायिका मान्न सकिने देखिन्छ ।
ग) जयचन्द
जयचन्द प्रस्तुत महाकाव्यको नकारात्मक भूमिकामा देखापरेको पुरुष पात्र हो । उसको समष्टि मूल्याङ्कन गरेर हेर्दा ऊ खलनायकका भूमिकामा उभिएको छ । ऊ कन्नौजको राजा हो । शूरवीर र तेजी भईकन पनि ऊ घमण्डी छ । ऊ कीर्ति र प्रशंसाको भोको छ भन्ने चर्चा पनि कविले गरेका छन् । उसले आफ्नो प्रभावमा ससाना राजा रजौटाहरूलाई समेटे पनि डिल्ली र अजमेरका राजा पृथ्वीराजलाई झुकाउन सकेको छैन । ऊ पृथ्वीराजलाई शत्रुका नजरले हेर्छ । आफ्नी छोरी संयोगिताले उसैलाई पतिका रूपमा ग्रहण गरेको, आफ्नो निम्तामा नआएको र स्वयम्वरबाटै छोरी भगाउ“दा पनि आफूले केही गर्न नसक्ताका सन्दर्भबाट ऊ पृथ्वीराजप्रति प्रतिशोधको भावनाले ग्रस्त हुन्छ । यसैको प्रतिशोधस्वरूप महम्मद गोरीले पृथ्वीराजलाई पराजित गरी हिन्दूत्वमाथि धावा बोल्दा समेत ऊ सहयोग गर्दैन । आफ्नै छोरीज्वाइ“प्रति उसको अलिकति पनि दया पलाएन । त्यतिमात्र होइन शत्रु वा जोरीपारीको पराजयमा रमाउ“दा आफ्नै स्वाभिमान गुम्न आ“टेको र आफै“ खतरामा परेको कुरासमेत उसलाई थाहा भएन । भारतीय मध्यकालीन इतिहासअनुसार ऊ गोरीस“गै मिलेको भन्ने तथ्य फेला पर्छ (अधिकारी, २०६६ : २०७) । कविले उसको बुद्धि र विवेकहीनतालाई बिराली बुद्धि (१७/१२) भनेका छन् । कविले उसको अदूरदर्शी, प्रतिशोधी र घमण्डी व्यक्तित्वलाई मन्दबुद्धि कर्मको खोटा, कीर्तिको प्यासा भनी टिप्पणी गरेका छन् । उसको चरित्र खुल्ने केही पङ्क्ति यी हुन् :
जयचन्द राजा यशको गाजा
पिएर बस्त छ ।
संसारभरमा पाइन्छ यौटा
मान्छेको नामको स्वर्गको द्यौता
त्यो महु“ भन्दछ । (१३/१)
अरूको देखासिखीमा यिनी
भारतका अधिराज ।
बन्न नै खोज्थे दिन र रात
सब राजाहरू माझ ।
सिँगारु भन्ने यिनमा थियो
कन्नौज कुलको ताज
मुर्खका तर यी शिरोमणि
मिथ्याको सज्थे साज ।
म्लेच्छको अघि देखाउने बल
देखाई भाइको माझ । (६/११)
यसरी हेर्दा जयचन्द राजा भईकन पनि राजाका आवश्यक गुण नभएको आहारिसे र अदूरदर्शी व्यक्तित्वका रूपमा चित्रित हुन पुगेको छ । ऊ यस महाकाव्यको दोस्रो महत्त्वपूर्ण पुरुष पात्र हो । कथावस्तुको विकास र द्वन्द्वको सिर्जनामा उसको भूमिका महत्त्वपूर्ण देखा पर्छ । उसैका माध्यमबाट कविले भाइभाइमा एकता नहु“दा अरूले फाइदा लिने सन्देश सञ्चार गरेका छन् । समष्टिमा ऊ यसस महाकाव्यको बद्ध, मञ्चीय, स्थिर र नकारात्मक भूमिकामा देखापरेको पुरुष पात्र हो ।
घ) महम्मद गोरी
प्रस्तुत महाकाव्यमा कविले गोरीलाई ‘घोरी’ (७/७) भनेका छन् । इतिहासअनुसार ऊ अफगानिस्तानको मुस्लिम शासक थियो । उसको नाम महम्मद गोरी अर्थात् शाहाबुद्धिन गोरी हो । भनिन्छ उसलाई पृथ्वीराजसित प्रतिशोध लिन जयचन्दले नै निम्त्याएको थियो (गौतम, २०५६ : २२३) ।
गोरी प्रस्तुत महाकाव्यको खलनायक हो । उसले नायकको हत्या गरी नायकीय संसारलाई ध्वस्त बनाइदिएको छ । मुस्लिम शासकका रूपमा चित्रित ऊ भारतको रिस, द्वेष, फुट र कलहको मौकामा फाइदा उठाउने चतुर व्यक्ति हो । भारतको प्राकृतिक सौन्दर्य र वैभव हात पार्न उसले आफ्ना मुस्लिम भाइभारदार र सेनालाई उक्साएको छ । उसले आफू थोरै भए पनि अल्लाहले आफ्नो विजय गराइदिने भन्दै भारतको सिंहासनमा बस्ने सपना देखेको छ । ऊ भारतको शासक बन्न अल्लाहबाट प्रेरित भएको देखिन्छ । उसले आफ्ना सहयोगीहरूलाई “युद्धमा मर्दा जन्नत प्राप्त हुन्छ” भन्दै उकासेको छ । यसबाट ऊ आफ्नो स्वार्थमा अरूलाई होम्ने कप्टी पात्रका रूपमा देखा पर्छ । उसले भारतीय हिन्दू राजाहरूको फुटको मौका छोपेर पन्जाब लगायतका राज्यहरूमा सफलता प्राप्त गर्यो । उछमा आक्रमण गरी त्यहा“की रानी समेतलाई आफ्नै बनायो । ऊ निरन्तर रूपमा दिल्ली हात पार्ने दाउमा थियो । यसै क्रममा ११९० को युद्धमा पृथ्वीराजले उसलाई पराजित गरे । ऊ भागेर (सेनाद्वारा भगाइएर) बा“च्यो । तर उसले भारतमाथिको आफ्नो विजय अभिलाशा त्यागेन । ऊ निरन्तर तयारी गर्दै उपयुक्त मौका हेर्दै बस्यो । पृथ्वीराज संयोगितासँगको भोगविलासमा डुबेका मौका छोपी उसले (११९१ मा) आक्रमण गर्यो । पृथ्वीराजको तयारी कमजोर हुँदा ऊ विजय भयो । पृथ्वीराजलाई मारी डिल्ली हत्यायो । गोरीको चरित्र खुल्ने केही पङ्क्ति यी हुन् :
सपना देख्यो घोरीले रातमा
भारत देखेर ।
घोडामा चढी सुनको छोडा
श्रीपेच लगाई आलम भारत
टापले ठोकेर ।
बाइपङ्खे हाँकमा मदिरा प्याला
लिएर पिएको
अल्लाको दयाबाट हो भन्यो
सपना दिएको । (७/१०)
नबिर्से हाम्रो
इस्लामको ढाल
नफुट्ने चाम्रो
लिएर लडूँला
अल्लाहको हुकुम कुरानको रकम
लिएर बढूँला ।
मरै है जन्नत जिए है ताज
भारतमा चढूँला । (७/१७)
यसरी हेर्दा गोरी आफ्नो धर्मप्रति प्रतिबद्ध र राज्य विस्तारमा निरन्तर लागेको मुस्लिम शासकका रूपमा देखापर्छ । ऊ हिन्दूहरूको राज्य जिल्ने र आफू त्यसको राजा बन्ने इच्छा राखी अघि बढ्ने क्रममा अनेक अपराध गर्न पुगेको छ । नायकका विरुद्ध उभिएको ऊ शूरवीर खलनायक हो । उसले नायकलाई पराजित गरी नायकको राज्यसमेत हत्याएको छ । समष्टिमा ऊ यस महाकाव्यको बद्ध, मञ्चीय, स्थिर र खलनायकीय भूमिकाको मुख्य पुरुष पात्र हो ।
५. परिवेशविधान
प्रस्तुत महाकाव्यको परिवेशविधानलाई हेर्दा यसभित्र कालिक, स्थानिक, प्राकृतिक एवम् परिस्थितिजन्य परिवेश चित्रणका अवस्थाहरू फेला पर्छन् । यसको कालिक परिवेशको कुरा गर्दा भारतीय इतिहासको १२ औँ शताब्दीको अन्त्यतिरको कालखण्ड नै हो भन्ने स्पष्ट छ । त्यतिखेर भारतमा रिस, द्वेष, डाहा, आपसी फुट र कलहले गर्दा हिन्दू राजाहरूका बिच एकमत नभएको र त्यही मौकामा भारतमाथि आँखा गाडिरहेका महम्मद गोरी जस्ता व्यक्तिले फाइदा उठाउन पाएको ऐतिहासिक तथ्य यहा“ उजागर भएको छ । ११९० र ११९१ को युद्धको उल्लेखबाट पनि यस महाकाव्यको कालिक परिवेशले मध्यकालीन भारतीय इतिहासलई आत्मसात् गरेको प्रस्ट पार्दछ । यस महाकाव्यको मूल स्थानिक परिवेश भने डिल्ली, अजमेर र कन्नौज राज्यका स्थानहरू नै हुन् । यसका साथै पन्जाब, उछजस्ता राज्यको उल्लेख भए पनि त्यहाँको खास चित्रण पाइ“दैन । कन्नौज जयचन्दका प्रतापले फुल्दो फक्रदो एवम् धनधान्यले युक्त भएको बताइएको छ । हात्ती घोडाको व्यापार हुने, अनेक झिलिमिलीले सजाइएको, अन्न छेलोखेलो भएको, सुन जस्ता बहुमूल्य वस्तु गाडामै लादेर ओसार्ने जस्ता अनेक गतिविधिको उल्लेखबाट कन्नौज राज्यको सुखसम्पन्नता प्रस्टाइएको छ । त्यसरी नै राजसूय यज्ञ र स्वयम्वरको तयारीको वर्णनमा कन्नौजको स्थानिक गतिविधि बोधगम्य बनेको छ । अनि संयोगितालाई भित्र्याइसकेपछिको विजयोत्सवको वर्णनका क्रममा केही मात्रामा डिल्लीको परिवेश खुलेको देखिन्छ । भव्य नाचगान, पृथ्वीराजको जयजयकार, सडकका दुईतरफ सिपाहीको लाम, फूल र अविरको वर्षा र सम्पूर्ण जनजीवनको हर्षोल्लासले डिल्ली सहर स्वर्गझैँ भएको चित्रणमा पृथ्वीराजको प्रभाव एवम् डिल्लीको अवस्था बुझ्न सकिन्छ ।
प्रस्तुत महाकाव्यमा प्रकृतिचित्रण पनि फेला पर्छ । भारतको सौन्दर्य चित्रणका क्रममा कविले प्रकृतिचित्रण गरेका छन् । भारत प्राकृतिक दृष्टिले धनी भएको, भारतीय माटो उब्जनीशील भएको र त्यहा“को सौन्दर्यले जो कसैलाई लोभ्याउने अवस्था रहेको अभिव्यक्ति कविले गरेका छन् :
हिमालका छन् चा“दीका चुली
बिहान साँझ सुनझैँ फुली
अभेद्य किल्ला रजतको बली
लहरमा पग्लेका ।
छन् नागबेली खोला र नाला
झलझल स“ग्लेका ।
…
स्वर्गकी भूमि अमृत रसले
हृदय पिलाउने ।
सुन्दरताकी भण्डार जस्ती
हेर्दैमा भुलाउने ।
सुनौला गजुर उठेका सहर
तटमा झिल्मिली ।
हीरा र मोती जडेको सुन
सिंहासन स्वप्ना देखेर हेर्यो
घोरीले टुल्टुली ।
यस किसिमको प्राकृतिक चित्रणका क्रममा नेपाली प्रकृतिको झल्को समेत पाइने कुरा उल्लेखनीय छ ।
यस महाकाव्यमा परिस्थितिजन्य परिवेश पनि खुलेको पाइन्छ । आपसी मेल नहुँदा ‘भाइफुटे गंवार लुटे’ भनेझैँ मुसलमान शासक गोरीले आक्रमण गरेको र सफलता पाएको, जयचन्द र पृथ्वीराजको प्रतिष्ठा द्वन्द्वकै कारणबाट ज्वाइँ—ससुराको नातामा सुमधुर बन्नुपर्ने सम्बन्ध झनझन जटिल भई शत्रुवत् हुन पुगेको, राजा वा वीर पुरुषले भोगविलासमा लिप्त भएर आफ्नो वास्तविकता भुलिदि“दा अनिष्ट बेहोर्नुपरेको एवम् अहम्, द्वेष र मपाईंत्वको घमण्डले गर्दा हिन्दुत्व र हिन्दू राज्यको अस्तित्व नै खतरामा पर्न गएको जस्तो कुराहरू एकपछि अर्को गर्दै कार्यकारण शृङ्खला आएका छन् । त्यसो हु“दा यहा“ परिस्थितिजन्य परिवेश उल्लेख्य नै देखा पर्छ ।
प्रस्तुत महाकाव्यको परिवेश चित्रणअन्तर्गत यज्ञ, स्वयम्वर, प्रेम, प्रेमपत्र आदानप्रदान, विवाह, भोगविलास, युद्धको कोलाहलपूर्ण वातावरण, हिन्दू र मुस्लिमको धर्म, पतिको शिरच्छेदनबाट पत्नी मर्माहत भएको अवस्था, छातीमा पतिको शिर राखेर सती गएको सन्दर्भ जस्ता कुराहरू पनि आउ“छन् । यसप्रकार परिवेशचित्रण भए पनि यसको परिवेशचित्रण महाकाव्योचित बन्न नसेकेको सङ्केत शोधक समालोचकले गरेका छन्
(अधिकारी, २०६६ : २११–२१३) । महान् उद्देश्यलाई वहन गर्न महान् विषयवस्तु र महान् पात्रहरूलाई अघि बढाउने महाकाव्यको परिवेश पनि महान् हुनु अपरिहार्य हुन्छ (ज्ञवाली, २०६८ : ३०–३१) । यस दृष्टिले यस महाकाव्यको परिवेशविधान व्यापक र विस्तृत हुन सकेको पाइ“दैन । यसमा महाकाव्यको सैद्धान्तिक अपेक्षाका युद्ध, प्रेम, प्रणय, विलासजस्ता केही कुरा भए पनि पूर्णत : सन्तुष्ट हुन सकिने अवस्था देखिँदैन ।
६. विचार
पृथ्वीराज चौहान महाकाव्यको वैचारिकतातिर दृष्टि दिँदा कविले आफ्ना अन्य कतिपय काव्यकृतिमा झैँ यसमा पनि आत्मिक प्रेमप्रतिको आकर्षण अत्यधिक देखाएका छन. । त्यसरी नै जातीय एकता, राष्ट्रियता, स्वाधीनता र मानवीय अहम्पनालाई पनि यहा“ विचार सम्प्रेषणको आधार बनाइएको
छ । संयोगिता र पृथ्वीराजको प्रेम प्रतिकूल परिस्थितिमा पनि हुर्केको, पिताको इच्छा विपरीत नै संयोगिताले पृथ्वीराजको मूर्तिलाई वरमाला लगाइदिएको, पतिको निधनमा शोकाकूल हुँदै सती गएको जस्ता घटनाक्रमको बुनोटबाट यहाँ संयोगिताको पतिप्रतिको आत्मिक प्रेम स्तुत्य रहेको देखाइएको छ । भौतिक प्राप्तिमा भन्दा पनि आत्मिक आनन्दमा प्रेमको सच्चा स्वाद अनुभव गर्ने स्वच्छन्दतावादी रहस्यवादी कविप्रवृत्ति यहा“ प्रकट भएको देखिन्छ । त्यसरी नै तत्कालीन भारतमा केन्द्रीय शासन नभएको, टुक्रे राज्यहरूका शासक आफ्नै सुखसुविधा र मोजमस्तीमा लागेको, राजाहरूबिच पनि मेलमिलाप र एकता नभई रिस, द्वेष, डाहा, आहारिसका कारण शत्रुवत् सम्बन्ध भएको अनि यही फुटको अवस्थामा गोरीजस्ता मुस्लिम शासकले पटकपटक आक्रमण गरी भारत हत्याउन सफल भएको र हिन्दूत्व सङ्कटमा परेको घटनाक्रमको वर्णनबाट कविले जातीय एकता नहु“दा अस्तित्व सङ्कटमा पर्ने कुराको सङ्केत गर्दै जातीय एकताबाटै राष्ट्र, राष्ट्रियता, स्वधर्म र जातिको पहिचान बचाउन सकिने विचार अभिव्यक्त गरेका छन् :
भाइ है फुटे गँवारले लुटे
ऐक्यमा टुटे दुश्मन छुटे
चिरिए आफू अरू नै जुटे
नाशका सेनाले । (७/४)
राष्ट्र स्वाधीन रहे राष्ट्रवासी स्वाधीन रहन्छन् । राष्ट्रिय स्वाधीनताको रक्षक अरू कोही नभएर त्यसका जिम्मेवार सञ्चालक हुन् । तिनले अलिकति पनि गल्ती गरे राष्ट्र धरापमा पर्छ र राष्ट्रिय स्वाधीनता पनि गुम्छ । यही कुरालाई कविले तत्कालीन भारतका शासकहरूले ख्याल नगर्दा गोरीको फन्दामा परेर राष्ट्रको स्वाधीनता गुमाउनुपरेको अभिव्यक्तिबाट तत्कालीन (२००३/४ साल) नेपालका राणा शासकहरूको राष्ट्रप्रतिको बेवास्ता, जनताप्रति कुदृष्टि र त्यसबाट उत्पन्न भएको परिस्थितिप्रतिको व्यञ्जना गरेका छन् । भारतीय वीर पुरुष पृथ्वीराजको वीरतागायन र राष्ट्रिय स्वाभिमान कायम राख्न निरीह भई बा“च्नु भन्दा मृत्यु स्वीकार गर्नु नै उत्तम ठानी उनले जीवनोत्सर्ग गरेका सन्दर्भबाट स्वतन्त्रताप्राप्तिको आन्दोलनमा झुक्न नहुने वैचारिक सन्देश पनि यहा व्यञ्जित भएको पाइन्छ (जोशी, २०६५ : १९५) ।
त्यसैगरी कविले यस काव्यमा वैयक्तिक अहम्पनाले व्यक्ति त नाश हुन्छ हुन्छ त्यसले राष्ट्र, राष्ट्रियता र जातिकै अस्तित्वसमेत खतरामा पार्ने विचार पनि अघि सारेका छन् । जयचन्दको अति घमण्ड वा मपाईंत्व र पृथ्वीराजको उनीप्रतिको द्वेषको भावनाले विकाराल रूप लि“दा हिन्दू जातिले नै पराजय भोगेको परिस्थितिको चित्रणबाट स्वाभाविक गर्वभन्दा बढी आत्मगौरव मानिसलाई नसुहाउने र उसले सबैका निम्ति जिउने कोसिस गर्नुपर्ने विचार कविको छ :
म जस्तो राम्रो क्वै छैन हेरि ∕
ऐनामा हेर्दा म जस्तो सुन्दर
देखिन्न काहीं संसारमा फेरि
मेरो नै सधैँ बज्दछ भेरी
म उड्दा उड्दा स्वर्गमा पुगी
सिंहासन लिन्छु ईश्वरको हेरी ∕
मपाईं नबन ।
सबैका निम्ति जिउ है बिन्ती
नभन्नु विश्व आफ्नो नै निम्ति
अनन्त अघि के मेरो गन्ती
आफूलाई नगन । (१३/४)
प्रस्तुत महाकाव्यमा कविले उपर्युक्त विचारका अतिरिक्त अरू पनि केही वैचारिक अभिव्यक्ति दिएका छन् । त्यस्ता केही वैचारिक सन्देश यी हुन् :
– मसिन मानिसकै सेवाको निम्ति धर्तीमा आएको हो । प्रेमले नै संसारलाई अड्याइराख्न सक्छ । (१/५१)
– न्यायहीन शासन लामो समय चल्दैन । (३/२१)
– नारीको मुहारमा ईश्वरको दिव्य मोहनी खुल्छ । (१६/२)
– धर्मको पक्षमा लाग्नेको मात्र कीर्ति फैलिन्छ । (६/३)
– मृत्यु हार होइन, सच्चाइ वीरको गहना हो । (२१/४)
७. रसभावविधान
महाकाव्यको एउटा प्रमुख विशेषता भनेको रसभावको सहज अभिव्यक्ति हो । यस दृष्टिले पृथ्वीराज चौहान महाकाव्यलाई हेर्दा यसमा मूलतः वीर, शृङ्गार र करुण रसको अभिव्यक्ति भएको पाइन्छ । यी तिन रसहरूमध्ये वीर अङ्गी रसका रूपमा शृङ्गार एवम् करुणचाहि“ अङ्ग रसका रूपमा रहेका देखिन्छन् । मध्यकालीन भारतीय इतिहासका वीर प्रतापी राजा पृथ्वीराज चौहानको वीरतावर्णनलाई मूल वस्तु बनाई त्यसैका माध्यमबाट जातीय स्वाभिमान र राष्ट्रिय अखण्डता एवम् स्वाधीनता कायम राख्न जस्तोसुकै त्याग गर्न पनि पछिपर्नु नहुने विचार व्यक्त गरिएको यस महाकाव्यमा वीररस प्रमुख रस हुनु स्वाभाविक पनि छ“दै छ । आरम्भका सर्गहरूबाटै पृथ्वीराजको वीरता, पराक्रम र तत्जनित कार्यहरूको महिमागान हु“दै आएको यस महाकाव्यमा खासगरी पृथ्वीराजले संयोगितालाई स्वयम्वरबाट जयचन्द एवम् अरू उपस्थित राजाहरूलाई चुनौती दिदैँ भगाएर लानु, मुसलमान शासक महम्मद गोरीलाई ११९० को युद्धमा पराजित गर्नु, ११९१ को युद्धमा हार खाई पक्राउ परेपनि गोरीका सामु ज्यान भिख नमागी जातीय स्वाभिमान र राष्ट्रिय स्वाधीनताका लागि उनी बलिदान हुनुजस्ता घटनाक्रमबाट उत्साह भाव प्रकट भई वीररस अस्वाद्य बनेको छ । यद्यपि यहा“ उत्साह भाव उत्कर्षमा पुगी वीर रस परिपाकको अवस्थामा पुगेको भने मान्न सकि“दैन (जोशी, २०६७ : १८७) । यद्यपि यस महाकाव्यमा वीर रसको प्रयाप्त प्रयोग छ ।
प्रस्तुत महाकाव्यमा अङ्ग रसका रूपमा प्रवाहित शृङ्गार रस आठौँ सर्गबाट अनुभूत हुन थालेको छ । संयोगिता पृथ्वीराजप्रति आकर्षित हुनु, आफ्ना पिता र पृथ्वीराजको शत्रुवत् सम्बन्ध आफ्नो प्रेमका लागि प्रतिकूल हुनुले उनी चिन्तित हुनु, कवि चन्दाबाट संयोगिताको रूपगुणको महिमा सुनेका पृथ्वीराज छद्मरूपमा कन्नौज पुग्नु, कन्नौजमा प्रेमपत्र आदान प्रदान हुनु, स्वयम्वरमा संयोगिताले पृथ्वीराजलाई नभेटेर पृथ्वीराजकै मूर्तिलाई वरमाला लगाइदिनु, पृथ्वीराजले संयोगितालाई भगाएर डिल्ली पुर्याउनु, डिल्लीमा दुलही भित्र्याउने भव्य उत्सव हुनु र पृथ्वीराज संयोगितास“ग भोगविलासमा लिप्त हुनुजस्ता घटनाक्रमको बुनोटबाट यस महाकाव्यमा रतिभाव प्रवाहित भई शृङ्गार रसको अभिव्यक्ति भएको छ । त्यसैगरी अङ्ग रसकै रूपमा अभिव्यक्त भएको करुण रसको पृष्ठभूमि भने निकै अघिका सर्गदेखि नै अनुभूत गर्न सकिन्छ । भाइभाइमा एकमत नहुनु, मपाईंत्वले एकपछि अर्को अनिष्ट निम्तिदै जानुजस्ता सङ्केतहरू सुरुका सर्गहरूमै भएको छ । खास गरी पृथ्वीराज र जयचन्दको प्रतिष्ठाद्वन्द्व नै यस महाकाव्यको कारुणिकताको पृष्ठभूमि हो । उनीहरूकै शत्रुवत् सम्बन्धका कारण सहयोगका अभावमा पृथ्वीराजले हार खानुपरेको देखिन्छ । त्यसो त पृथ्वीराज एक्लै पनि वीर पराक्रमी थिए तथापि उनको संयोगिताको अतिशय प्रेमविलास पनि शोकभावको सहयोगी भइदियो । खासगरी पृथ्वीराज भावी अनिष्टको समेत ख्याल नगरी विलासमा लाग्दा उता गोरीले आक्रमण गर्नु, जयचन्द रमिते बन्नु, तयारीको अभावमा पृथ्वीराजले हार खानु, उनको टाउको काटिनु, पतिको निधनबाट संयोगिता विह्वल हुनु र पतिको टाउको छातीमा राखी सती जानुजस्ता घटनाबाट शोकभाव प्रवाह भई करुण रसको अभिव्यक्ति भएको पाइन्छ ।
यसरी प्रस्तुत महाकाव्यमा वीर, शृङ्गार र करुण रसको अभिव्यक्ति भएको देखिन्छ । यी तिनै रसहरूमध्ये कुनै पनि परिपाकका अवस्थामा आश्वाद्य नहुनुले भने केही खल्लो अवश्य गराउ“छ । निष्कर्षमा के भन्न सकिन्छ भने पृथ्वीराज चौहान शृङगार र करुण रस सहायक रूपमा प्रवाहित भएको वीर रसप्रधान महाकाव्य हो ।
८. लयविधान
प्रस्तुत पृथ्वीराज चौहान लोकलयात्मक महाकाव्य हो । महाकाव्यमा शास्त्रीय विविध छन्दको अनुशासित प्रयोग हुनुपर्ने नियमको बेवास्ता गर्दै लोकलयकै प्रयोग गर्नमा मुनामदन जस्ता खण्डकाव्यमा लोकलयले पाएको सफलताले पनि कविलाई प्रेरित गरेको अनुभव हुन्छ । यो कवि देवकोटाका ६ ओटा नेपाली महाकाव्यमध्ये एकमात्र लोकलयात्मक महाकाव्य हो । नेपाली लोकलयमा पनि महाकाव्य हुन सक्छ भन्ने प्रयोगकै रूपमा यो आएको देखिन्छ (शर्मा नेपाल, २०५९ : ११५) । नेपाली जनजीवनमा अन्त्यन्त प्रिय भएकाले पनि कविले लोकलयलाई महाकाव्यका तहसम्म उचालेको महसुस हुन्छ ।
प्रस्तुत महाकाव्यमा प्रयोग भएको लोकलय मुनामदनकै झै“ १६ अक्षरे लय हो । यसमा ३+२, ३+२, ३+३ को सूत्रमा अक्षर तथा शब्दको वितरण हुन्छ । पाचौ“, दशौँ र सोह्रौँ अक्षरमा विश्राम हुने यो लय मनमोहक एवम् श्रुति मधुर पनि हुन्छ नै । कविले यही लयको प्रयोगबाट यहा“ विविधता देखाउने प्रयास गरेका छन् । खासगरी १६/१६ अक्षरका २ पाउको एक श्लोक मानिने यस लयलाई कविले सर्वत्र त्यही रूपमा प्रयोग गरेका छैनन् । श्लोकगत नभई पङ्क्तिगुच्छकका रूपमा कवितापङ्क्तिहरूको वितरण गरेको देखिन्छ । १६ अक्षरे पङ्क्ति पनि सर्वत्र पूर्ण भएको पाइ“दैन । रोचकता ल्याउन र मार्मिकता थप्नका निमित्त ठाउ“ठाउ“मा ५ र १० अक्षरका खण्ड पङ्क्तिहरू प्रशस्तै प्रयोग भएको पाइन्छ । गनेर हेर्दा पूर्ण पङ्क्तिको सङ्ख्या १५१० देखा पर्छ भने खण्डपङ्क्तिको सङ्ख्या १७७८ जति रहेको पाइन्छ । कथ्यभाषाको प्रयोग र अन्त्यानुप्रास, मध्यानुप्रास एवम् खण्डपङ्क्तिगत अनुप्रासको राम्रो तालमेल भएकाले यसमा लयको स्वाद तिक्खर अनुभव हुन्छ । ठाउ“ठाउ“मा प्रयोग भएका पूँ पूँ, कूँ, कूँ, झटपट, थरर, तरर, कटटट, झिलिक्क, छ्याप्ल्याङ्ग, ह्वाङ्ग्राङ्ग, धधक—धधक, गडगड, खटखट आदि अनुकरणात्मक शब्दले काव्यभित्र लयको प्रवाहमा गति थपेको पाइन्छ । अन्तरअनुप्रासीयताको कलात्मक प्रयोग पनि यस महाकाव्यको लयविधानको उल्लेख्य विशेषता हो । यतिहु“दा हु“दै पनि विषवस्तुसितको तालमेलका दृष्टिले यस महाकाव्यको लयविधानगत कला वा कवित्व मध्यमस्तरभन्दा माथि उठ्न सकेको बुझि“दैन (जोशी, २०६७ : १६७) । यद्यपि यो महाकाव्य उल्लेख्य छ ।
प्रस्तुत महाकाव्यको लयप्रयोगका बारेमा शोधक समालोचकहरूको टिप्पणी पनि निकै महत्त्वपूर्ण पाइन्छ । वासुदेव त्रिपाठीका अनुसार यसमा नेपाली लोक गाइनेका चा“चरी र कर्खाका महुनीदार छन्द–ढा“चा र महागाथा–संरचनालाई महाकाव्यस्तरमा पुनरुज्जीवन दिएको छ (त्रिपाठी, २०४९ : छ) । त्यस्तै चूडामणि बन्धुले यसलाई लोकलयमा महाकाव्य लेख्न सकिन्छ भन्ने उदाहरण मान्न सकिने तर लोकलयको उच्च महाकाव्यात्मक उदाहरण मान्न नसकिने बताएका छन् (बन्धु, २०६७ : १५२) । कृष्णराज अधिकारीले भने यसमा विषय अनुकूलको लयचयन हुन नसकेको औ“ल्याएका छन् । ऐतिहासिक विषयको वीररसप्रधान महाकाव्यमा जवर्जस्ती लोकलयको प्रयोग गर्दा महाकाव्यगत प्रभावकारिता प्राप्त हुन नसकेको तर्क उनको छ
(अधिकारी, २०६६ : २२३) । यस सम्बन्धमा कृष्ण गौतमको टिप्पणी भने अलि फरक छ :
‘‘…..कवि देवकोटा सानो शिक्षित समुदायभित्र रहिआएको महाकाव्यलाई यसकारण लोक छन्दमा रूपायन गर्छन् कि यो अधिकतम शिक्षितहरू कहा“ पुगोस् । महाकाव्यलाई पठित वृन्दका कोठाबाट सामान्य शिक्षितका झुपडीसम्म पनि पुर्याउने चेष्टा यो पहिलो सुरुवात हो ।” (गौतम, २०५६ : २२८)
यसरी हेर्दा पहिले कहिल्यै लोकलयमा नेपाली महाकाव्य नलेखिएका परिप्रेक्ष्यमा एउटा प्रयोगकै रूपमा कविले यस महाकाव्यमा लोकलयको प्रयोग गरेको देखिन्छ । अनि महाकाव्यमा शास्त्रीय छन्दकै प्रयोग गरिनुपर्छ भन्ने मान्यतालाई उनको स्वच्छन्दतावादी कविले त्यागेको महसुस पनि हुन्छ । साथै राष्ट्रका जनजनको धुकधुकी स्वरूप लोकलयलाई महाकाव्यकै लयका तहमा पुर्याउनु कविको जाति तथा राष्ट्रप्रेम झल्किने कार्य पनि हु“दै हो । यद्यपि प्रयोगका नाममा विषयअनुकूलको लय नभइदि“दा महाकाव्यात्मक प्रभावकारिता जति हुनुपथ्र्यो त्यति नभएको कुरा पनि मननयोग्य छँदै छ ।
९. आयाम र सर्गविधान
प्रस्तुत महाकाव्यको आयाम धेरै ठुलो पनि नभएको र धेरै सानो पनि नभएको मझौला खाले देखिन्छ । कविले २२ सर्गमा रचना गर्ने भनी कल्पना गरेको भए पनि पन्ध्रौ“ सर्ग कविद्वारा नलेखि“दा यो २१ सर्गको आयाममा सीमित भएको छ । पृष्ठ गणना गर्दा जम्माजम्मी १८४ पृष्ठमा यसको वस्तुवर्णन सकिएको छ । यसमा पूर्ण तथा खण्डपङ्क्ति गरी जम्मा ३२८८ पङ्क्ति सङ्ख्या रहेको पाइन्छ । आरम्भका सात सर्गसम्म खास कथावस्तु नभएको यस महाकाव्यमा आठौ“ सर्गबाट मात्र कथावस्तु सुरु भई बिसौ“ सर्गमा सकिएको छ । अन्तिम सर्ग चाहि“ कविको टिप्पणीका रूपमा मात्र आएको छ । यस हिसाबले जम्मा २१ सर्गमध्ये अघिल्ला सात र पछिल्लो एकलाई छाडी बिचका १३ सर्गको आयाममा यसको कथावस्तु फैलिएको देखिन्छ । यसको कथावस्तुको आयाम नायकनायिकाको प्रेम, प्रेमपत्र आदानप्रदान, युद्धमा हार र नायकनायिकाको वियोगजस्ता मुख्य घटनाको बनोटबाट निर्मित छोटै आकारको छ तथापि यसको वस्तुवर्णनको अन्तरआयाम भने गम्भीर र विशाल छ । भारतको हिन्दू राजाहरूको वैमनष्यता र हिन्दू मुसलमानको राज्यप्राप्तिको युद्ध निकै गहिराइयुक्त विषय हो । युगयुगसम्म प्रभाव पार्ने यसै ऐतिहासिक विषयको गहनताले पनि यस महाकाव्यको गरिमा बढाएको छ । समग्रमा यस महाकाव्यको भौतिक आयाम मझौलाखाले भए पनि विषयवस्तुगत अन्तरआयाम भने विशाल र व्यापक एवम् गहिराइयुक्त देखिन्छ ।
प्रस्तुत महाकाव्यको सर्गविधान २१ सर्गको छ । यो सर्गविधान महाकाव्यमा ८ भन्दा बढी सर्ग हुनुपर्छ भन्ने शास्त्रीय मान्यता अनुकूल नै रहेको देखिन्छ । कविले २२ सर्गको संरचना कल्पना गरेको भए पनि बिचको पन्ध्रौँ सर्ग नलेखि“दा यो २१ सर्गमा संरचित छ । बिचको एक सर्ग नहु“दा पनि कथावस्तुगत शृङ्खला भने खजमजिएको पाइ“दैन । पाण्डुलिपिमा चौधौँ सर्ग लेखिसकेपछि पन्ध्रौ सर्गमा ‘‘यहा“ एक सर्ग दुई वीरहरूको आत्मोत्सर्ग हुनसक्छ” (देवकोटा, २०४९ : १४५) भनी खाली छाडेर सोह्रौँ सर्गबाट बाइसौँ सर्गसम्म लेखेको बुझिन्छ तथापि त्यो सर्ग पछि लेखिएन । त्यसका सम्बन्धमा देवकोटाका गणेशकवि (मित्र) श्यामदास वैष्णवले पनि उक्त सर्ग नलेखिएका अवस्थामा समेत महाकाव्यको सिलसिला नटुटेकाले छाप्न सकिने सङ्केत गरेको बुझिन्छ । छाप्ने क्रममा कविले कल्पना गरेको सोह्रौँ सर्गलाई पन्ध्रौँ गर्दै क्रमशः बाइसौँलाई एक्काइसौँमा टुङ्ग्याइएको देखिन्छ । सर्गगत सन्तुलनका दृष्टिले हेर्दा यसका २१ सर्गमा कविता पङ्क्तिगत सन्तुलन देखापर्दैन । कुनै सर्गमा ४ श्लोक वा पङ्क्ति गुच्छक देखिन्छ भने कुनैमा ५७ श्लोक वा पङ्क्ति गुच्छकसम्म देखा पर्छन् । त्यस्तै विषयवस्तुको वर्णन पनि सन्तुलनयुक्त देखिएको छैन । १ देखि ७ सर्गमा पृष्ठभूमिगत गन्थनमात्र रहेको छ । आठौँ सर्गबाट सुरु भएको कथानक बिसौँमा पुगी टुङ्गिएको छ । अन्तिम सर्गमा कविको टिप्पणी स्वरूपका कविताहरू छन् । आरम्भको सर्गमा मङ्गलाचरण हुनुपर्ने, प्रत्येक सर्गको अन्तिममा भावी सर्गको कथासङ्केत र छन्दपरिवर्तन हुनुपर्ने शास्त्रीय नियमको पनि यहा“ बेवास्ता गरिएको छ । दोस्रो सर्गको अठारौ“ श्लोकमा सरस्वती (शारदा) को नामसम्म लिए पनि त्यसले मङ्गलाचरणको अभावपूर्ति हुँदैन । हुन त देवकोटाजस्ता स्वच्छन्दतावादी कविका कृतिमा शास्त्रीय नियमको पालना खोजिरहनु पनि सान्दर्भिक छैन । छन्दलगायत कतिपय पक्षमा नयाँ प्रयोग गरिरहेका कविले मङ्गलाचरणका सन्दर्भमा पनि नयाँ प्रयोग नै गरेको देखिन्छ । समग्रमा प्रस्तुत महाकाव्यको सर्ग विधान त्यति आकर्षक र सन्तुलन युक्त रहेको पाइ“दैन ।
१०. भाषाशैली
पृथ्वीराज चौहान महाकाव्यलाई भाषाशैलीका दृष्टिले हेर्दा यसको भाषा सरल, सम्प्रेष्य र शैली वर्णनात्मक किसिमको देखिन्छ । यसमा १२ औँ शताब्दीतिरको भारतीय इतिहासको सन्दर्भलाई वण्र्य वस्तु बनाई त्यसका माध्यमबाट तत्कालीन नेपाल (२००३ तिर) को स्वातन्त्र्य चेतना र शासकहरूको विलासीपन सङ्केत गर्दै क्रान्तिकर्ममा लागेकाहरूले जस्तोसुकै मूल्य चुकाउनुपरे पनि झुक्नु नहुने कुरा व्यञ्जना गरिएको छ । हिन्दू राज्यहरूमा आपसी मेल नभई द्वन्द्वको अवस्था हु“दा तेस्रो पक्ष (मुस्लिमहरू)ले फाइदा लिन सकेको घटनावर्णनबाट कार्यकारणकै शृङ्खलामा कथावस्तुलाई अघि बढाई स्वाभाविक र विश्वसनीय अवस्था सृजना गरिएको देखिन्छ । कथावस्तुको विकासमा कुनै अस्वाभाविकता देखि“दैन । पृथ्वीराज र संयोगिताको प्रेम, मिलन र कारुणिक वियोगका सन्दर्भबाट आत्मिक प्रेमप्रतिको आफ्नो आकर्षण यसमा पनि कविले देखाएका छन् । ‘सती’ जस्तो अमानवीय प्राचीन प्रथालाई ठाउँ दिएको भए पनि त्यो प्रेमको अमरताका लागि प्रयोग भएकाले त्यसलाई अरू अर्थमा बुझेर व्याख्या गर्नु पनि उपयुक्त ठहर्दैन। यसमा कविको स्वच्छन्दतावादी रहस्यवादी चेतनाको अभिव्यक्ति निकै राम्ररी भएको छ । प्रेम, मिलन, वियोग, वीरता, क्रान्तिकारिता, राष्ट्रप्रेम, जातिप्रेम एवम् स्वातन्त्र्य चेतनाजस्ता स्वच्छन्दतावादी काव्यकलाका विविध अभिलक्षण यसमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा देखा परेकै छन्।
प्रस्तुत महाकाव्यमा उच्चार्य भाषाको प्रयोग भएको छ । लोकलयलाई महाकाव्यका तहसम्म उठाएर लेखिएको यस महाकाव्यमा मुनामदनकै झै“ १६ अक्षरे झ्याउरे लयको प्रयोग गरिएको छ । महाकाव्यलाई नेपाली जनजीवनकै प्रिय लयमा प्रस्तुत गरेर उल्लेख्य काम गर्न खोजे पनि यसको लयात्मकता मुनामदनकै उचाइमा पुगेको भने पाइ“दैन । यसमा बोलचालमा आइसकेका शब्दहरू केही हिन्दी तथा अरू आगन्तुक शब्द र अधिकांश तद्भव एवम् झर्रा शब्दहरूको प्रयोग पाइन्छ । अनुकरणात्मक शब्द, अत्यानुप्रास, मध्यानुप्रास एवम् अन्तरअनुप्रासको प्रयोगले यसको भाषामा श्रुतिमधुरता, थपिएको छ । ‘भाइ फुटे गवा“र लुटे’ ‘कानमा तेल हालेर बस्नु’ जस्ता उखान तथा टुक्काको प्रयोग हुनाले पनि यस काव्यको भाषा सहज र सम्प्रेषणीय बनेको छ । यहा“ कविले जयचन्दलाई ‘काग’, ‘चमेरो’, ‘बिरालो’, मुसलमानहरूलाई ‘चितुवा’, ‘चमेरो’, ‘बाज’, ‘बिच्छी’, पृथ्वीराजलाई ‘बाघको बच्चा’, ‘हंश’, प्रेममा लिप्त पृथ्वीराज र संयोगिताको जोडीलाई ‘ढुकुर जोडी’, ‘क्रौञ्च जोडी’ आदि विम्ब दिएर भाव सम्प्रेषणमा तीक्ष्णता थपेका छन् । त्यस्तै उपमा, रूपक, अतिशयोक्ति, समाशोक्ति, अप्रस्तुत प्रशंसा, लोकोक्ति, विशेषोक्ति आदि अर्थालङ्कारको प्रयोगबाट पनि कलात्मकता सिर्जना भएको पाइन्छ । यसमा शृङ्गार, करुण र वीर रसको अभिव्यक्ति भएको छ भने तिनको परिपाक वा चरम आस्वादनको अवस्था नहुँदा महाकाव्यीय गरिमामा केही खल्लो अवश्य महसुस भएको छ । यसमा मङ्गलाचरण, लयगत विविधता, सर्गान्तमा छन्छपरिवर्तन र अगामी सर्गको कथासङ्केतजस्ता महाकाव्यको शास्त्रीय मान्यताको पालन नगरी स्वच्छन्दता अपनाइएको छ । लोकलयकै प्रयोग पनि महाकाव्यका तहमा देवकोटाले नै पहिला गरेका हुन् । यसको कथनपद्धति अधिकांशतः कवि कथानात्मक छ भने कतैकतै सम्बोधनात्मक एवम् संवादात्मक किसिमको फेला पर्छ ।
पृथ्वीराज चौहान महाकाव्यको भाषाशैली, सरल, श्रुतिमधुर, सम्प्रेष्य र लोकलयात्मक छ । यो भाषाशैली महाकाव्यको पूर्वीय–पाश्चात्य मान्यता अनुकूल नभएको भन्ने विचारहरू पनि पाइन्छन् । (अधिकारी, २०६६ : २३०) । खासगरी महाकाव्यमा उदात्त, उत्कृष्ट, अलङ्कृत र विषयको गरिमालाई थेग्ने भाषाशैली हुनुपर्ने मान्यताका सापेक्षतामा भने यो केही कमजोर अवश्य देखिएको छ ।
११. शीर्षकीकरण
प्रस्तुत महाकाव्यको शीर्षक पृथ्वीराज चौहान हो । पृथ्वीराज चौहान यस महाकाव्यका नायक हुन् । मुगलकालीन भारतीय इतिहासका एक हिन्दू राजा पृथ्वीराजका बाल्यकाल, युवाकाल, वंशवृक्ष, शूरता, वीरता, प्रेममिलन, प्रेमविलास एवम् वीरतापूर्ण अन्त्यका विभिन्न सन्दर्भका घटनाहरूको कलात्मक वर्णनबाट यस महाकाव्यको स्वरूप तयार भएको छ । त्यसो हु“दा यसको शीर्षक चयन नायकको नामबाट भएको बुझिन्छ । नायक वा नायिकाको नामबाट शीर्षक चयन गर्नु देवकोटाको महाकाव्यात्मक एक प्रवृत्ति पनि हो । नायक नायिका तथा विषयका आधारमा महाकाव्यको शीर्षक चयन हुन सक्ने शास्त्रीय मान्यता पनि पाइन्छ । यसरी हेर्दा केन्द्रीय पात्र वा नायकका नामबाट चयन भएको यस महाकाव्यको शीर्षक पृथ्वीरा चौहान सार्थक एवम् औचित्यपूर्ण देखिन्छ । यो शीर्षकीकरण महाकाव्यको शास्त्रीय मान्यताका दृष्टिबाट समेत उचित रहेको छ ।
१२. निष्कर्ष
महाकवि लक्ष्मीप्रसाद देवकोटाको पृथ्वीराज चौहान महाकाव्य भारतीय इतिहासको १२ औँ शताब्दीको कथावस्तुमा आधारित छ। २१ सर्गमा विभक्त यस महाकाव्यमा प्रारम्भका सात सर्ग पृष्ठभूमिका रूपमा छन् भने बाँकी सर्गमा कथावस्तु रहेको छ। यसको नायक धीरललित किसिमको छ भने नायिका स्वकीया गुणले युक्त छे। यसको परिवेशविधान युद्ध, प्रेम , रोमान्स र भोगविलासजस्ता सन्दर्भले युक्त छ। मूलतः वीर, करण र शृङ्गार रसको अभिव्यक्ति भएको यस महाकाव्यको अङ्गी रस वीर हो। मुनामदनकै झैँ १६ अक्षरे लोकलयमा रचित यो महाकाव्य नेपाली साहित्यकै पहिलो लोकलयमा रचित महाकाव्य हो। सरल, सरस र प्रसादमय भाषामा रचित यो महाकाव्य श्रुतिमधुर र सम्प्रेषणीय छ। यसले जातीय एकता , राष्ट्रियता र आत्मिक प्रेमको सन्देश दिएको छ । साथै यसमा मृत्यु हार नभई सच्चाइ र वीरताको द्योतक हो भन्ने तर्फ पनि सङ्केत गरिएको छ। यसको शीर्षक पात्र केन्द्री रहेको छ। समग्रमा यो महाकवि लक्ष्मीप्रसाद देवकोटाको मध्यम स्तरको महाकाव्य हो।
सन्दर्भसूची
अधिकारी, कृष्णराज (२०६६). महाकाव्य सिद्धान्त र देवकोटाका महाकाव्य पोखरा : गण्डकी साहित्यसङ्गम।
अवस्थी, महादेव (२०६४). आधुनिक खण्डकाव्य र महाकाव्यको विमर्श. कीर्तिपुर : इन्टेलेक्चुअल्ज बुक्स प्यालेस ।
गौतम, कृष्ण (२०५६). देवकोटाका प्रबन्धकाव्य (दो.सं). काठमाडौँ : विद्यार्थी प्रकाशन ।
जोशी, कुमार बहादुर (२०६५). महाकवि देवकोटा र उनका महाकाव्य (चौ.सं). ललितपुर : साझा प्रकाशन ।
त्रिपाठी, वासुदेव (२०४९). ‘लामो प्रतीक्षापछि पृथ्वीराज चौहानको प्रकाशन’. पृथ्वीराज चौहान. ललितपुर : साझा प्रकाशन
देवकोटा, लक्ष्मीप्रसाद (२०४९). पृथ्वीराज चौहान. ललितपुर : साझा प्रकाशन । (२०५४), शाकुन्तल (दो.सं) ललितपुर : साझा प्रकाशन ।
…………….. (२०५४). शाकुन्तल (दो.सं). ललितपुर : साझा प्रकाशन ।