दोस्रो विश्वयुद्ध मानव इतिहासमा कहालीलाग्दो घटनाका रूपमा चित्रित छ । सन् १९३९ देखि १९४५ सम्म चलेको विश्वयुद्धले मानव सभ्यतामाथि पुर्याएको क्षति अहिले पनि पुरिएको छैन । लगभग ७० देशका त्यस बेलासम्म विकसित जल–थल–वायु सेनाहरू यस युद्धमा सहभागी थिए । भनिन्छ यस युद्धमा विश्व दुई भागमा बाँडिएको थियो । यस युद्धले मित्र राष्ट्र र धुरी राष्ट्रलाई सघाएका थिए । यस युद्धमा लगभग छ करोड मानिसहरूको ज्यान गएको अनुमान छ । यो मानव इतिहासको सबभन्दा घातक युद्ध थियो र यसको त्रास आज पनि त्यत्तिकै छ । त्यस बेलाका युद्धबाट विभक्त विश्वमा अन्तमा मित्र राष्ट्रहरूको जित भयो भनिन्छ । त्यो जीत वा हार जे भए पनि त्यसले मानव जातिमा ठुलो पीडा छोडेर गयो । मानव सभ्यताले केबल हारिरह्यो ।
दोस्रो विश्वयुद्धका विभिन्न घटनाहरू चर्चामा छन् । त्यस युद्धसंबद्ध विभिन्न तस्बिरहरू सुरक्षित छन् । तीमध्ये दोस्रो विश्वयुद्धको समयमा जापानमा घटेको एउटा घटना यस तस्बिरले देखाउँछ । यो तस्बिर परिवारका सबै सदस्य गुमाएपछिको एक जापानी बालकको तस्बिर हो । यो तस्बिर जापानमा र विश्वमै निकै चर्चित बन्यो । उनी लास अन्त्यष्टि गर्ने घाटअगाडि आफनी बहिनीको लास बोकेर उभिएका थिए । लासको अन्त्यष्टि गर्न पनि लाइन बस्नु पथ्र्यो । यी बालक आफूभन्दा सानी मृत बहिनीको दाहसंस्कार गर्न लाममा थिए । मरेकी बहिनीको शव काँधमा बोकेर अन्तिम संस्कारको पालो पर्खिरहेका थिए । त्यसै बेला कुनै फोटो पत्रकारले खिचेको तस्बिर हो यो ।
उक्त तस्बिर खिच्ने व्यक्ति (नाम उल्लेख नभएको) ले भनेका थिए कि त्यस केटाले आँसु थाम्न बल गरिरहेको थियो । आफ्नो रुवाइको डाको रोक्नका लागि मुख टम्म पारेको थयो । उसले आफ्नो ओठ यति धेरै टोकेको थियो कि उस्को मुखको कुनाबाट रगत बगिरहेको थियो ।
त्यतिबेला घाटका चौकिदारले ती बालकसँग शव माग्दै भने– तिमीले आफ्नो काँधमा बोकेको बोझ मलाई देऊ ।
बालकले भने – “यो मेरी बहिनीको शव हो । मलाई यो शव भारी लागेको छैन ।“
चौकीदार उनको जवाफ सुनेर अवाक भए । सानो केटाको दुर्दान्त अवस्था हेरेर चुप लागिरहे ।
पालो आएपछि बालकले शव संस्कारमा खटिएका सेनालाई सुम्पिए । बहिनीको शवलाई परिक्रमा गरेर आँसु नचुहाई फर्किए ।
यस तस्बिरका बालकको नाम के थियो । यी बालकका पिठ्युँकी बालिकाको नाम के थियो ? त्यसबारे कसैले केही भनेका छैनन् । आज यो तस्बिर एउटा सहासको प्रतीक बनेको छ । वास्तवमै मान्छे आफूलाई परेपछि मूर्तिवत् हुन्छ । रोएर सुनाउने मान्छे नभएपछि रुन छाड्छ । आफ्नो समस्या आफै हल गर्न लाग्छ ।
जापानमा आज पनि यो तस्बिरलाई शक्तिको प्रतीकका रूपमा प्रयोग गरिन्छ । परेपछि ससाना बालक पनि कति जिम्मेदार बन्छन् ? उनीहरू पनि संस्कार र संस्कृतिलाई कसरी जीवनको ठुलो हिसा सम्झन्छन् ? कसरी उनीहरू पनि आफ्नो कर्तव्यमा हर तरहले लाग्छन् ? आदि प्रशनको जवाफ यस तस्बिरले दिइरहेको छ । फेरि कुनै दाइले यसरी बहिनीको लास बोकेर ओठ टोक्नु नपरोस् ।
-डा. रमेश शुभेच्छु