नवराज खड्का बानेश्वरस्थित बानेश्वर बहुमुखी क्याम्पस स्नातक प्रथम वर्षमा अध्ययनरत विद्यार्थी हुन् । उनी पिता नीरबहादुर खड्का र आमा ललिता खड्का (आचार्य) का सुपुत्रका रूपमा वि.स. २०५८, मंसिर २८ गते खोटाङ जिल्लामा जन्मिएका हुन् । उनी सानैदेखि सिर्जनात्मक लेखनमा रुचि राख्थे । उनले विद्यालय र कलेजमा हुने विभिन्न प्रतियोगितामा सहभागी भएर पुरस्कार पाउनका साथै कथा, कविता, गजल, निबन्ध आदि विधामा कलम चलाइरहेका छन् । उनका रचनामा देशका विकृति, विसङ्गतिविरुद्धका आवाज उठाइरहेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘अनिवार्य बैँक खाता’ शीर्षकको कविता समेटिएको छ । यस कविताले नेपाली राजनीतिज्ञहरूले जनतालाई भोट बैँकका रूपमा मात्र हेरेको र जनजीविकाका सवाललाई बेवास्ता गरेको पक्ष उद्घाटन गरेको छ । -सम्पा. |
म अग्निको रापमा जल्दै गरूँला
तिमी आश्वासनको हात सेकाउन आउनू !
यो शिशिरको चिसोले
कठ्याङ्ग्रिएको मेरो देशको सरकार!
म तिम्रो चिस्सिएको शरीरलाई
पुग्ने जति ताप दिन त नसकूँला
तर,
त्यो चिसो संसदबाट बाहिर निस्कँदै गर्दा
तिम्रो शरीरलाई
अलिकति ताप चाहियो भने
तिमी मकहाँ आउनू ।
म घरविहीन मान्छे
म आफ्नै घर जलाएर
तिम्रो देशको लागि
खरानी दिन त नसकूँला
तर,
यो जल्दै गरेको
मेरो काँचो शरीरको खरानी
तिम्रो देशको लागि
अलिकति मल बन्न सक्छ भने
तिमी मकहाँ आउनू ।
तिम्रो भाष्यमा
सम्भावना नै सम्भावनाको देश सुन्न
मलाई पनि खुब मन पर्छ
ठिक त्यति नै बेला
म असम्भावनाको सिकार भइरहँदा
तिमीलाई चाहिँ कति मन पर्छ ?
तिमी त चुक्ता चुक्तामा जिन्दगी जिइरहेको मान्छे ।
कहाँ देख्न सक्छ ? तिम्रो आँखाले
उधारो नै उधारोले उध्रिनिएको
मेरो जिन्दगीको बैङ्क खाता!
तिम्रो सम्भावनामा मिसिएको गौरवले
मेरो छाती पोलेको छ
एक दिन तिम्रो सम्भावनाको खाता बन्द गरेर
मेरा असम्भावनाले केरिएका अनिर्णयका खाता हेर्न
तिमी मकहाँ आउनू ।
तिमी त विश्वासको मतले चुनिएको माछे !
तिम्रा त्यही झुटा विश्वासले
मेरो जिन्दगी जिउने विश्वास
कसरी टुक्रा टुक्रामा भाँचिन सक्छ ?
के तिमीले कुनै अनुमान गरेका छौ ?
तिम्रा विश्वासहरूमा विश्वास गरेर
जलिरहेको यो शरीर त तिमीलाई काम नआउला
यदि जलिरहेका हातका यी औँलाहरू
वस्तिक छाप लगाएर
तिमीलाई मन्त्री बनाउनमा काम आउँछन् भने
तिमी मकहाँ आउनू ।