२०७२ सालमा भुइँचालाको हाहाकार आउनुअगाडि नै, त्यस सालको दशैँतिहार आउनुअगाडि नै, तिज अउनुभन्दा पनि अगाडि नै हामी एउटा चाड मनाउँदै थियौँ – गुरूपूर्णिमा । त्यस चाडमा हामी पुस्ता पुस्ताका चेला गुरुनिवासमा भेला हुन्थ्यौँ । मेरा गुरुमध्ये प्रा. राजेन्द्र सुवेदी गुरु आफ्ना गुरुहरूलाई असाध्यै मान्नुहुन्थ्यो । उहाँको त्यस गुणले उहाँलाई माने पुगिहाल्छ सबै गुरुको आशीर्वाद पाइहालिन्छ जस्तै लाग्थ्यो । त्यस दिन गुरूपूर्णिमाको दिन थियो । बिहानै फोन गर्दा राजेन्द्र गुरुले भन्नुभयो – म पनि त्रिपाठी गुरुकामा आउँदैछु तिमी पनि त्यहीँ आऊ, त्यसपछि ठाकुर गुरुकामा जाऊँला ।
म भाइ मोहनलाई लिएर त्रिपाठी गुरुकामा पुगेँ । म पुग्नासाथ धरणी गौतम गुरु पुग्नुभयो । उहाँ मेरा महेन्द्र बहुमुखी क्याम्पस इलामका गुरु । म इलाममा बस्ता उहाँकै घरमा डेरा गरी बसेको । मेरो साहित्यिक विकासमा उहाँका घरको पुस्तकालयको पनि टेवा छ । हामी भेला भएर कुरा गर्दैगर्दा राजेन्द्र गुरु र इन्दिरा गुरुआमा पुग्नुभयो । त्यस दिन उहाँहरू कोटेश्वरदेखि हिँड्दै पुग्नुभएको थियो । एकाएक माहोल पर्वमय, उत्सवमय र श्रद्धामय बन्यो । हामीले गुरुलाई केही उपहार गर्यौँ । त्रिपाठी गुरुले सबैलाई आशीर्वाद दिनुभयो । राजेन्द्र गुरु र धरणी गुरुले मलाई थप आशीर्वाद दिनुभयो । मैले गुरु पनि भेटँे, गुरुका गुरु पनि भेटेँ । यस्तो संयोग सधैँ मिल्दैन । त्यस अवसरमा गुरुगुरुआमासँग बसेर तस्बिर खिचियो । यो तस्बिर भाइ मोहनले खिचिदिएका हुन् । यस तस्बिरमा क्रमशः धरणी गौतम, प्रा.राजेन्द्र सुवेदी, प्रा.डा. वासुदेव त्रिपाठी, म, गीता त्रिपाठी गुरुआमा र इन्दिरा सुवेदी गुरुआमा छौँ । आज चाहेर पनि राजेन्द्र गुरुसँग भेट हुन सक्तैन तर यो तस्बिर हेर्दा सधैँ गुरुगुरुआमाको आशीर्वाद पाइरहेको छु जस्तो लाग्छ ।
म त्यसबेला आफ्नो सानो बच्चा पनि भएकाले डेरा छेउमा कुनै अभिभावक हुन् वा घरवेटी नै अभिभावक भइदिऊन् भन्ने चाहना राख्थेँ । त्यस्तो घर धुइँपत्ताल खोजेर पनि मिलेको थिएन । आखिर केही नलागेपछि त्रिपाठी गुरुकै घर छेउमा डेरा सरेर गएको थिएँ । त्यो मेरो सोह्रौँ डेरा थियो । त्यस बेला गीताजीको जागिर पनि बानेश्वरको चेल्सी इन्टरनेसलन स्कुलमा थियो । बाबुको स्कुल पनि त्यतै काठमाडौँ गुरुकुलमा सारिएको थियो । त्यहाँ बस्ता हाम्रो बाबुलाई बोलाइदिने मान्छे गुरु र गुरुआमासहित त्यस परिवारका सदस्यहरू हुन्थे । हाम्रो बसाई नजिकै मात्र होइन पारिवारिक सानिध्यका साथ त्यहाँ भएको थियो ।
म नजिकै हुँदा त्यस बेला राजेन्द्र जुरु त्रिपाठी गुरुकामा पसेपिच्छे उहीँ बोलाउनुहुन्थ्यो । कहिलेकाहीँ त के गर्दैछौ भनेर अचानक हाम्रा कोठामा छिर्नुहुन्थ्यो । उहाँको त्यस्तो आगमनलाई मैले ठुलो आशीर्वाद सम्झिएको थिएँ ? त्रिपाठी सर पनि कुनै बेला आजकाल देखिनुहुन्न नि भन्दै कोठामै पुग्नुहुन्थ्यो । म कि जागिरका चटारामा कि कुनै लेखापढीका चटारामा हुन्थेँ । यहाँ भेटिएका गुरुमध्ये धरणी गौतम गुरु पनि बेलाबेला त्यो बाटो हिँड्दा डेरामा पस्नुहुन्थ्यो । संयोग भनूँ मलाई तेरो विद्यावारिधि कहिले सकिन्छ भनेर सोधिरहने गुरुहरू पनि उहाँहरू नै हुनुहुन्थ्यो ? सम्भवत उहाँहरूका आशीर्वादले होला म त्यो डेरा छोडेर ठुलो ऋण गरेरै भए पनि गृहप्रवेश गरेँ । समय क्रममा विद्यावारिधि पनि गरेँ ।
सबै गुरुगुरुआमालाई नमन ।
-डा. रमेश शुभेच्छु