वानेश्वर बहुमुखी क्याम्पस मेरो प्रिय क्याम्पस । मेरो प्राध्यापन आरम्भ भएको क्याम्पस । यस क्याम्पसमा म अढाइदशकदेखि पढाउँदै आएको छु । पहिलो कक्षामा प्रवेश गर्दाका सबै विद्यार्थीको नाम आज पनि सम्झन सक्छु । त्यस बिचमा पन्ध्रौँ व्याज विद्यार्थी आएर गइसके । यहाँ समेटिएको तस्बिरका विद्यार्थीहरू २०७५–२०७७ व्याजका विद्यार्थी हुन् । म उनीहरूलाई अनिवार्य नेपाली विषय प्राध्यापन गर्थें । कक्षाको अन्तिम पिरियड मेरो थियो । त्यस अर्थमा कक्षा सकेर छलफलमा बस्ने पनि भइरहन्थ्यो । मित्रवत् कुराकानी पनि भइरहन्थ्यो ।
एक दिन कक्षा सकिएर बाहिर निस्किएपछि सबै झुरूपपै भेला भएर मसँग तस्बिर लिने विषयमा कुरा उप्काए । मैले पनि त्यस अवसरलाई सदुपयोग गर्नु ठिक ठानेँ । बानेश्वर क्याम्पसका प्राङ्गणमा हामीले नै त्यस बेला भर्खरै बनाएको भानु प्रतिमाअगाडि बसै झुरूपप भएर उभियौँ र तस्बिर खिच्यौँ । केही हतार हुने विद्यार्थी उम्किइहालेछन् । हरेक वर्ष २०० भन्दा बढी विद्यार्थी नियमित भर्ना हुने त्यस कक्षा समूहमा त्यस दिन कति उपस्थित थिए, उपस्थितमध्ये कति समेटिए त्यो थाहा भएन तर यो तस्बिर आज मेरा दृष्टिमा ऐतिहासिक बनिरहेको छ । छुटेका विद्यार्थीहरूको स्मृति पनि गाढा बनिरहेको छ ।
यस तस्बिरमा सञ्जय आचार्य, विक्रम भारती, शिव निरौला, प्रमिला भट्टराई, जुना न्यौपाने, रश्मी गोले, मनिषा बराइली, मेनुका श्रेष्ठ, निरुजा शेरचन, अमीत श्रेष्ठ, स्यामुअल नेपाली, विमला श्रेष्ठ, विनिता लिम्बू, गणेश कोइराला, बबिना तिम्सिना, विषम राजवंशी, सञ्जु ढकाल, गगन बुढा, मेलिना राई, प्रकाशसिङ ठकुरी, पुरन भण्डारीलगायत छन् । अनिवार्य विष्यको कक्षामा यति विद्यार्थीसँग तस्बिर लिनु ठुलो विषय होइन तर यति जनासँग सँगै बसेको अन्य तस्बिर नभएका सन्दर्भमा यो पनि विशेष बन्दो रहेछ । यो तस्बिर खिच्न तारतम्य गर्ने बबिना तिम्सिना, गगन बुढा, शिव निरौलालगायतलाई धन्यवाद ।
हामी शिक्षकहरू त माझी मात्रै हौँ । यी शिष्यशिष्याले मलाई सजिलै चिन्न सक्छन् तर हाम्रा प्राध्यापन यात्रामा नयाँ नयाँ व्याज आउने क्रममा बिर्सिइन सक्छन् । यति अभिलेख भए मैले पनि उनीहरूलाई सम्झिइरहन सक्छु । बुढापाका फोटो खिचे आयु घट्छ भन्थे मैले त फोटो खिचे सम्झना बढ्छ भन्ने बुझेँ ।
यो तस्बिरमा भए भन्दा बढी सङ्ख्या समेटिएको तस्बिर पनि होला । अहिलेलाई यसैको परिचय पनि मलाई महाभारत भयो । कसैको नाम अर्को पर्यो कि भन्ने चिन्ता पनि भइरह्यो । मलाई विश्वास छ यी नियमित आइरहने विद्यार्थी हुँदा त्यसो भएको छैन होला ।
यस तस्बिरका पृष्ठभूमिमा आदिकवि भानुभक्त आचार्यको प्रतिमा छ । त्यो प्रतिमा हामीले नै स्थापना गरेका हौँ । यो पनि वानेश्वर क्याम्पसमा हाम्रो एउटा चिनो हो । क्याम्पसको देखिएको कोठा पुरानो स्टाफ रुम हो । म पहिलो पटक त्यही कोठमा पुगेर क्याम्पस प्रमुख र सहायक क्याम्पसप्रमुखसँग भेटेर जागिर माग्नुको प्रयोजन बताएको थिएँ । त्यसै दिन केदार न्यौपाने, रमेश कोइराला, महेश प्रसाईं, कुलप्रसाद पराजुली, टङ्कमणि नेपाल, घनश्याम भट्टराई, विष्णु सापकोटालगायतका अग्रजसँग परिचय भएको थियो । पृष्ठभूमिको हरियो धुपीको बोटले छेकेका ठाउँमा जुन कोठा छ त्यसै कोठामा मैले पहिलो नमुना कक्षा देखाएको थिएँ । त्यस कक्षामा भेटेका सबै विद्यार्थीका नाम आज पनि सम्झन्छु । ती विद्यार्थीलाई पनि र यी विद्यार्थीलाई पनि शुभकामना । उज्ज्वल शैक्षिक भविष्यको शुभेच्छा ।
-डा. रमेश शुभेच्छु