मीना सुवेदी साहित्यका क्षेत्रमा नवप्रतिभा हुन् । उनी पार्वती सुवेदी र शिवप्रसाद सुवेदीकी सुपुत्री हुन् । काभ्रेको मण्डन देउपुरमा जन्मिएकी यी प्रतिभा क्याम्पस जीवनको प्रवेशसँगै फाट्टफुट्ट कविता, गीत, गजल र मुक्तक लेख्दै आएकी छन् । काठमाडौँको पशुपति बहुमुखी क्याम्पस चावहिलमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत यी प्रतिभा साहित्य सिर्जना गर्न रुचाउँछिन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘म को हुँ’ शीर्षकको कविता रचना समेटिएको छ । यस रचनामा उनले सडकबालबालिकाका विषयमा समाजको दृष्टिकोण र आफूभित्रको जिज्ञासालाई उजागर गरेकी छन् । -सम्पा. |
म को हुँ ?
कहाँ जन्मे, हुर्के त्यो थाहै छैन
घरपरिवारको माया कस्तो हुन्छ
त्यसको महसुस पनि छैन ।
पहिलो पटक आँखा खोली हेर्दा
सडकमा रहेको पाएँ
सडकमै ताते गर्दै हिँड्न सिकेँ,
माग्दै खोज्दै खान सिकेँ ।
आमाबाबासित रहन पायेको भए
कहाँ बाट कहा पुग्थेँ होला
केही पढ्थेँ सिक्थेँ होला
केबल सडक बालक भएँ ।
जब हुन थालँे ठुलो
बल्ल आउन थाल्यो ज्ञान
किन छ दुब्लो मेरो ज्यान
किन अरू पढ्न जान्छन्
किन म पढ्न जान्दिनँ ।
जब बुझ्न थालेँ
कापी र कलमका कुरा
विद्यालय र किताबका कुरा
यता आफ्नो जीवनमा बोरा
कसरी भनुँ म
छुँदा कस्तो हुन्छ कलम र कापी
आभागी खाते भनी सबले हेला गर्छन्
यस्तो हुनु मेरो भाग्य र कर्मले ठगेको भन्छन्
यस्ता बालबालिकालाई हेप्नेहरू हो
आऊ सहयोगको हात बढाऊ
म पनि यो समाजमा केही गरेर देखाउने छु ।
म पनि कामलाग्ने मान्छे बन्नेछु ।