पहिलो लकडाउनका बेला लामो समय भेटघाट हुन पाएन । बिचमा बानेश्वर क्याम्पसमा केही कुरियार आएर लिन जान नभ्याएको अवस्था थियो । यता घरमा चलाउने खर्च पनि सिद्धिएको अवस्था थियो । त्यस अवस्थामा केही पुस्तक लिन प्रमोद प्रधानलाई पनि भेट्ने काम थियो । त्यसै बेला राजेन्द्र सुवेदी गुरुलाई पनि भेट्ने काम थियो । यी सबै काम भ्याउने गरी भाइ मोहन र म एकै चोटि बाटो मिलाएर लामो मर्निङ वाकमा निस्कियौँ ।
बानेश्वर पुगेर केही कुरियर लियौँ । त्यताबाट फर्कंदा महादेवस्थानमा प्रमोद प्रधानकामा निस्किएर केही पुस्तक लियौँ । त्यसपछि राजेन्द्र सरका घरमा पुग्यौँ । त्यस बेला मानिसले मानिस भेट्नु डरलाग्दो कुरा थियो । मान्छेसँग मान्छे डराउनु पथ्र्यो । माक्सले मुख छोपेर मात्र कुरा गर्नु पथ्र्यो । गुरुका घरमा गएर हामी डराई डराई बस्यौँ । गुरु र गुरुआमासँग लामो कुरा भयो । गुरु तस्बिरमा देखिएको कुर्सी र टेबलमा बसेर आफ्ना प्राज्ञिक काम गर्नुहुन्थ्यो । त्यस दिन पनि केही गरिरहनुभएको थियो । हामी पुगेपछि चस्मा र पल्टाइराखेको पुस्तक यथावत राखेर खुलेर कुरा गर्नुभयो । पृष्ठभूमिमा उहाँको अति आवश्यक पुस्तक राख्ने सानो पुस्तकालय छ । अझ पृष्ठभूमिमा उहाँका पिताको तस्बिर छ । टेवलमा गुरुको चस्मासँगै गुरुआमाको काइँयो पनि छ ।
कुरै कुरामा गुरुले मुख खोल त कस्ता भएछौ भन्नुभयो । मैले मुख खोलको आशय बुभिmिहालेँ । माक्स खोलेर गोजीमा राखेँ र कुरा गर्न थालेँ । त्यसै बेला भाइले मोवाइलबाट फोटो खिचिदिए । हामी फोटो खिच्ने पोजमा भन्दा पनि कुराका गहिरामाइमा थियोँ आज यो तस्बिरमा हेर्दा गुरुबाट प्रफुल्ल मुद्रामा आशीर्वाद पाइरहेको जस्तो लाग्छ ।
यतिको टाढा बसेपछि माक्स चाहिँदैन फेरि तिमीहरू त सुरक्षित नै छौ नि होइन ? भन्ने गुरुको आत्मविश्वासको सम्झना हुन्छ । त्यति ठुलो आत्मविश्वास हुने मानिसलाई कोरोनाले सिकार बनाएको पक्ष गुनासो बनेर आइरहन्छ । यो तस्बिर पनि अब एउटा इतिहास बन्यो । अब त्यस घरमा जाँदा यसरी हाँसेर स्वागत गर्ने र आशीर्वाद दिने पात्र हुनुहुन्न भन्ने गुनासो मनमा रहिरहेको छ । यो गुरुसँगको सामिप्य र आशीर्वादको चिनो बनेको छ ।
-डा. रमेश शुभेच्छु