एक दशक अगाडिको कुरा हो । २०६८ सालको कुनै दिन साहित्यकार भूवनहरि सिग्देलले बाण भञ्ज्याङको चण्डी भैरव मा.विमा भएको एउटा साहित्यिक कार्यक्रममा निम्ता गर्नुभयो । शनिबारको दिन हुँदा हामी सबै कुरा छोडेर त्यहाँ सहभागी भयौँ ।
जेठ महिनाको समय थियो । विद्यालय पाताल वनका पुछारमा । कार्यक्रममा विद्यालयका शिक्षक र केही विद्यार्थीको मात्र सहभागिता थियो । कार्यक्रम बेलैमा सकियो । हामी विद्यालयबाट पात्ले बनको उकालो लाग्यौँ । बाटामा काफल खाँदै माथि काली मयलको थुम्कोमा चढ्यौँ । साथमा डिल्लीराज अर्याल, डिल्लीराज मुलतिहुन, सुशिला खड्का हसिना, थरेन्द्र बराललगायत हामी बीस पच्चिस जना पुगेका थियौँ । सबैको नाम अर्को फोटो फेलापरेपछि मात्र भन्न सकिएला । उकालो चढेर त्यस ठाउँमा पुग्न निकै मिहिनेत गर्नुपरेको भने सम्झना ताजा छ सहयात्री सबैको नाम सम्झन सकिएन ।
हामी त्यहाँ जाँदा कुनै भव्य कार्यक्रम पनि भएको होइन यद्यपि भुवनहरिको उर्दीमा हामी विनासर्त त्यहाँ पुगेका थियौँ । काली थुम्को र विद्यालयको दुरी निकै भिरालो फेदि र उचाइमा थियो । त्यो थुम्को चढ्न रुखका हाँगा भाँचेर लाठी नै टेक्नु परेको थियो । लाठी टेक्तै केही मिहिनेत पनि गर्नु परेको थियो । त्यहाँबाट विभिन्न ठाउँको सजिलै दृश्यावलोकन गर्न सकिन्थ्यो । तल स्कुल छेउछाउका काफल विद्यार्थीले खाइसकेका थिए तर लेकका कालपलका बोट काफल पकाएर नुहिएका थिए । तीमध्ये एउटा काफल पाकेको बोटको हाँगो नुहाएर सबै काफल खाइरहेका थियौँ । त्यसै बेला सुशीला खड्का हसिनाले फोटो खिचिदिइन् । त्यो फोटो आज यस आलेखको विषय बन्यो ।
यो तस्बिरमा बायाँबाट क्रमशः छेउमा म, खगेन्द्र खोल्साघरे, चन्द्रप्रसाद न्यौपाने, न्यौपानेकी सुपुत्री अर्चना न्यौपाने र भुवनहरि सिग्देल काफल खानमा मग्न छौँ । आज एक दशकपछाडि हेर्दा यो तस्बिर निकै महत्वपूर्ण बनिरहेको छ । धन्य त्यो समय, धन्य त्यो फुर्सद र यतिका महाकाव्यकारसँगको सङ्गत ।
-डा. रमेश शुभेच्छु