त्यस बेला हामी खुब सक्रिय थियौँ । मानौँ साहित्य हामीले नै बोकेर हिँड्नुपर्छ । सन्दर्भ मोतीजयन्तीको हुनुपर्छ । समय २०५६–५७ तिरको । इलाममा कार्यक्रम हुँदा झापा पाँचथरदेखिका साथी डाक्थौँ । साथीहरूलाई आआफ्ना डेरामा अटाउँथ्यौँ । झापा पाँचथर जहाँ कार्यक्रम हुन्छ त्यहाँ हामी पनि पुगिहाल्थ्यौँ । हामी मेचीअञ्चलभरि साहित्य नै साहित्यको प्रभाव छर्न चाहन्थ्यौँ । हवाइपत्रिका निकालेर, लघुपत्रिका निकालेर, कार्यक्रमहरू गरेर, अरूका कार्यक्रममा सहभागी बनेर, कृति प्रकाशन गरेर, जसरी पनि हाम्रो युवा उर्जा साहित्यमा समर्पित गथ्र्यौँ ।
यो तस्बिर एल्बममा मुस्कुराइरहेको रहेछ । यसमा अग्रज साहित्यकारहरू प्रा. माधव भँडारी, भवानी घिमिरे र धरणी गौतम मुस्कुराइरहेका छन् । खोलाघरे साहिँलो, तारा धुर्कापानी, वासुदेव तिम्सिना, सचित राई, कृष्ण राई अभागी, लेखनाथ सिकारु, वसन्त वस्नेत, राज माङ्लाक, सीता आस्था, करुणा राई, मदन राई, सगुन सुसारा, गणेश साम्पाङ, सुदीप सिप्तुङ्खा राईलगायतका साथीहरू छन् ।
यो तस्बिर इलाम साहित्य कला सङ्गीत प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमपछि इलाम क्याम्पस घुमघामका क्रममा खिचिएको थियो । तस्बिर खिच्ने व्यक्ति को थिए, बिर्सियो तर मेरै क्यामेराले खिचेको हो भन्नेमा म पक्का छु । म चाहिँ कालो व्याग बोकेर सफारी सुटमा टुक्रुक्क बसेको रहेछु । त्यस बेला यतिका साहित्यिक योद्धाहरूका बिचमा बस्न पाउनु र आज दुई दशकपछि पनि साहित्य क्षेत्रमै छु भन्न पाउनु मेरालागि गौरवको कुरा हो ।
यस तस्बिरमा केही ऐतिहासिक पक्ष छन् । अब हामी चाहेर पनि भवानी घिमिरे र माधव भँडारीसँग तस्बिर खिच्न सक्तैनौँ । उहाँका कविता पढ्न सुन्न सक्छौँ तर हाम्रा कविता सुनाउन सक्तैनौँ । यहाँ भएका कतिपय साथीहरू साहित्य छोडेर अन्त अन्तै लागिसक्नुभएको छ । त्यस बेला पढाइ र जागिर भए पनि आज जस्तो चापाचाप हुँदैन थियो । मेचीअञ्चलभरि हुने कार्यक्रममा जहाँ पनि पुग्न र आफ्ना कुरा राख्न सकिन्थ्यो । लेखेको लेख्यै गर्न सकिन्थ्यो । गुरुहरूले पनि उकास्न र उचाल्न छोड्दैन थिए । आज जस्तो परिमार्जन गरेर मात्र सुनाउनु वा प्रकाशन गर्नुपर्छ भन्ने पनि हुँदैन थियो । लेखिन्थ्यो, मञ्चमा पढिन्थ्यो, पत्रिकामा छापिन्थ्यो कसैको कुनै डर हुँदैन थियो । साथीहरूका रचनाको पनि निस्फिक्री कमेन्ट गरिन्थ्यो । तुलना गर्दा आज पो साँघुरो हुँदै गइयो । व्यवहार र जागिर, अन्य कामका चापमा परियो ।
सम्झन्छु । आहा त्यो उमेर र जोस । पुनः त्यो उमेर र जोस पाए कति केके गरिन्थ्यो होला । सबै साथीहरूलाई गहिरोसँग हेरेँ । उनीहरूलाई हृदयदेखि सम्झिएर म निकै भावुक भएँ । त्यो समय र त्यस दिनलाई धन्यवाद दिएँ । यहाँ फोटो खिच्ने मान्छे कोही त छुटेकै छ । यसरी छुट्ने साथी कति कति हुँदा रहेछन् । फेरि फोटोमा छुट्नु स्मृतिमै छुट्नु पनि होइन । यी ससाना कुरा पनि त जीवनको सिकाई हो । साथीहरूका मुहार सम्झिएर केही भावुक भएको छु र माधव भँडारी, भवानी घिमिरे जस्ता अभिभावकलाई सम्झिएर अब चाहेर पनि भेट हुँदैन भन्ने सम्झिएर झन् भावुक भएको छु ।
-डा. रमेश शुभेच्छु