निर्जला लम्साल साहित्यमा भर्खरै बामे सर्दै गरेकी प्रतिभा हुन् । उनी स्कुल जीवनबाटै साहित्य सिर्जनामा लागेकी हुन् । विज्ञान विषयमा कक्षा ११ मा पढ्दै गरेकी निर्जला कविता, संस्मरण, मुक्तकमा कलम चलाउँछिन् । उनका रचनाहरू फुटकर रूपमा प्रकाशित छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘मुनाको पर्खाइ’ शीर्षकको कविता समेटिएको छ । यस कविताले मुना र मदनलाई विम्ब बनाएर वैदेशिक रोजगारमा जान विवस युवा युवतीका समस्यालाई देखाएको छ ।
-सम्पा. |
मुना !
आँखामा तिम्रो झझल्को छ
छातीमा तिम्रै यादहरू छन्
ओठमा तिमीले जाँदाजाँदै छोडेको मुस्कान छ
र, म छु
तिमीलाई पर्खिरहेको मदन ।
मझेरी यही हो
जहाँ तिम्रा चुरा बजेको आवाज आउँथ्यो
आँगन यही हो
जहाँ तिम्रो पाउजूको झंकार सुनिन्थ्यो
पिँढी यही हो
तिमीले हरेक बिहान लिपपोत गर्ने
मुना !
बाँच्ने त फगत यादहरू रहेछन्
म तिम्रा यादहरू बोकेर
आधा जिन्दगी बाँचिरहेको छु ।
बाँझो करेसाबारी हेर्छु
र सम्झन्छु
तिमीले उमारेका बिरुवाहरू
छाम्छु खण्डहर घरको भित्तो
र हेर्छु काटिएका आफ्नै दुवै खुट्टा
साहारमको एउटै बैशाखी पनि परदेसिएपछि
बाँकी छ केवल बगरजस्तो वर्तमान
र पैह्रो गइरहने अतीत ।
सम्भावनाका पालुवाहरू पलाउँदैछन्
डालीहरूमा
सपनाका कोपिलाहरू फक्रँदैछन्
आँगनको डिलमा
यहीँ छरौँला समृद्धिको बिउ
पसिनाले सिंचेर उमारौँला
खुसीको फसल
सम्पतिले खुसी नदिने रहेछ
रूपैँयाले सन्तोष नमिल्ने रहेछ
मुना !
आँसु रोकेर आँखामा
तिम्रै बाटो हेरिरहेको छु ।
फर्क मुना !
अब आफ्नै माटोमा फर्क !
मैले मात्रै हैन
यो देशले पनि
तिमीलाई पर्खिरहेको छ ।
०००
सूर्यगढी –४, नुवाकोट
हाल निस्ट कलेज काठमाडौँ