यो मट्टीमा अकुशल कलाकारको मूर्ति रुन्छ
हाँसी हिँड्छन् पथिक अरुको दर्द को आज सुन्छ
मेरो शिल्पी यस सकलमा स्वस्थ आकार देऊ
यौटै सानो सरल कृतिमा पूर्ण संसार देऊ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३औं जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले ‘व्यक्तित्व चर्चा र रचनावाचन’ कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रमको आरम्भमा कुलपति गंगाप्रसाद उप्रेतीले गरेका थिए। उनले राष्ट्रकवि घिमिरे लोकको भावना बुझेर काव्य सिर्जना गर्ने साधक भएको उल्लेख गर्दै लोकजीवन, राष्ट्र र राष्ट्रियतालाई आत्मसात गरी सिर्जना गरिएका सिर्जनाहरू कालजयी रहेको बताए। राष्ट्रकवि घिमिरे प्रज्ञा प्रतिष्ठानको अभिभावक भएको उनले बताए। उनले घिमिरेको अन्तिम र महत्वकांक्षी महाकाव्य ‘ऋतम्भरा’ परिवारका सदस्यको अनुमति पाएमा प्रज्ञा प्रतिष्ठान छाप्न तयार रहेको बताए।
उपकुलपति डा. जगमान गुरुङले राष्ट्रकविलाई आफूले सदैव राष्ट्र र राष्ट्रियताप्रति जिम्मेवार स्रष्टाका रूपमा पाएको उल्लेख गरे। यसैगरी सदस्यसचिव प्रा. जगतप्रसाद उपाध्यायले राष्ट्रकविको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै नेपाली राष्ट्रिय भावनालाई मजबुद बनाउन राष्ट्रकवि घिमिरेका सृजनाहरूले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।
प्राज्ञ सभा सदस्य तथा नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माले नेपाल प्रज्ञा प्रतिष्ठानसमक्ष राष्ट्रकवि घिमिरेले आफ्नो जीवनकालमा प्राप्त गरेका मान–सम्मान र पुरस्कारसँग सम्बन्धित सामग्रीको संरक्षण गरिदिन उहाँकी धर्मपत्नी महाकाली घिमिरेको सम्मानमा आजीवन भत्ताको व्यवस्था र राष्ट्रकवि घिमिरेको निवासतर्फ जाने मार्गको नाम ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे’ नामकरणका लागि सरकारसमक्ष प्रस्ताव राखिदिन अनुरोध गरेकी थिइन्।
कार्यक्रममा राष्ट्रकवि घिमिरेका कान्छा छोरा इन्जिनियर राजीव घिमिरेले बुवासँगका केही प्रमुख स्मृतिहरू सुनाएका थिए।
नेपाली काव्यसाहित्यका राष्ट्रकवि घिमिरे वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुनमा जन्मिएका थिए। उनको १०२ वर्षको उमेरमा गत साल भाद्र २ गतेका दिन निधन भएको थियो।