दिनेश अधिकारीको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको आफ्नै मित्र तीर्थश्रेष्ठासँग विभिन्न सन्दर्भमा खिचिएका तस्बिरसहितको रचना समेटिएको छ । यस रचनाले मित्रताको गहिरो अर्थ प्रकट गरेको छ ।
-सम्पा.
तीर्थ श्रेष्ठ !
मेरो मन पर्ने कवि त हुन नै। त्योभन्दा पर तीसको दशकमा उदाएको हाम्रो कवि पुस्ताको प्रतिनिधि कवि हुन्। सरल र सम्प्रेष्य भाषामा तिब्र अनुभूतिका साथ जीवन र जन- जीवनलाई छुँदै लेखिएका उनका कविता नेपाली साहित्यका अमूल्य सम्पत्ति हुन्।
साथीको पनि आ- आफ्नै सीमा र स्वभाव हुन्छ । धक नमानीकन मनका कुरा खोल्ने सम्बन्ध छ हामी बीच। तीर्थ श्रेष्ठ मेरो मन मिल्ने पनि साथी हुन्।
प्रजातन्त्रप्रति सदैब आस्थावान तीर्थ – कुनै समय राजनीतिमा सक्रिय थिए भने सामाज-सेवाप्रतिको उनको शुरुदेखिको लगाव अहिले उनको दैनिकी जस्तै बनेको छ।
२०१६ साल कार्तिक१६ गते पोखरामा जन्मेका तीर्थ अहिले पनि पोखरामै बस्छन् र पोखराकै लागि बढी सोच्छन् , पोखराकै लागि बढी खट्छन। पोखरा, देशको प्राकृतिक राजधानी हो। तर म पोखरा सम्झँदा फेवा ताल र माछापुच्छ्रे हिमाल संगसंगै तीर्थलाई सम्झन्छु। अथवा भनूँ तीर्थ नहाँसेको पोखरा, मलाई पोखरा जस्तै लाग्दैन।
एकिनसाथ भन्न नसके पनि तीर्थसंग मेरो पहिलो भेट २०३७ साल भदौमा पोखरेली युवा साँस्कृतिक परिवारले आयोजना गरेको “टिकटमा मुक्तक कार्यक्रम”मा भाग लिन जाँदा पोखरामा भएको हो जस्तो लाग्छ। किनभने म पहिलोपटक पोखरा गएको भनेकै त्यही बेला हो। भेटिएका सबैजनासंग नछुट्टिने सम्बन्ध बन्दैन। तीर्थसंग बन्यो। थाहै नपाई सम्बन्धमा प्रगाढता आयो।
म सम्झन्छु – त्यो समय चिट्ठीपत्रको समय थियो। भेटेरै कुरा गर्ने अवसर कमै जुर्थ्यो। हामी लेखेर मन भर्थ्यौं। कहिले `गौरीशंकर किल्ला उद्योग´ त कहिले `रत्न बस्त्र भण्डार´ त कहिले `मोहन ब्रदर्श´को लेटरप्याडमा तीर्थले लेखेका एक दर्जनभन्दा बढी चिट्ठीहरु मसंग अहिले पनि सुरक्षित छन्। तीर्थका ती चिट्ठीहरु अहिले पनि भनिरहेछन्-
• एउटा खुट्टा जेलभित्र र अर्को खुट्टा जेलबाहिर राखेर बाँचिरहेछु । ने. बि. संघको भू. पू. अध्यक्ष हुनुको परिणति!..( २०३८/१/१)
•बिहेको निम्तो पाएकै हुनपर्छ अथवा त्यस बिषयमा सुनेकै हुनुपर्छ। बिहे गरें। जिन्दगीमा गर्नै पर्ने एउटा कामबाट मुक्त भएँ।
•लेख्नै पर्ने कुराहरु त केही छैनन्, यद्यपि एउटा मन छ जो लेख्न वाध्य गराइरहेछ। दिनेश, साँचोमा हामी भेटिनै हुँदैनथ्यो अथवा भेटिए पनि मनदेखि मनसम्म पुल बनाउन हुँदैनथ्यो ।( २०३८/ ०२/२३)
• म जे लेख्छु, त्यसैलाई ( आफुले भोगेको आकाशलाई- दिनेश) साक्षी राखेर लेख्छु।(२०३८/०७/१९)
• मेरो निम्ति मात्र भए पनि दिनेश अधिकारीलाई फ्रस्टेड हुने अधिकार छैन। कसम खाउ! जिन्दगीमा कहिल्यै लेख्न छोड्ने छैनौ।( २०३९/०२/२३)
• लेखनका कुरामा आफुले केही प्रगति गर्न सकिएन र पनि दु:ख छैन। अझै पनि लेख्नमा भन्दा पोखरामा साहित्यिक कार्यक्रमहरुको आयोजनामा संलग्न भइरहुँ झै लाग्छ। एक प्रकारले लागिरहेको पनि छु।( २०४०/०४/ २६)
•…तिमीले कविता लेख्न छोड्यौ भने मैले मित्रता राखिरहनुको कुनै अर्थ रहँदैन।(२०४१/०१/०६)
• साहित्य कुनै पनि `वाद´ को बैशाखी टेकेर बाँच्दैन र कुनै पनि व्यक्ति ( रचनाधर्मी) को मूल्याङ्कन कुनै पनि `वाद´को
आधारमा हुन सक्तैन । हामीले हाम्रो लेखनबाट कुनै मार्ग देखाउन सक्यौं भने त्यो नै भोलिको पुस्ताले हामीलाई सम्झने आधार बन्छ।(२०४२/०६/०९)
र, यस्तै अरु पनि!
जीवन, संघर्ष, साहित्य, मित्रता र पोखरा माथि तीर्थको सोच, समझदारी र दृष्टिकोणका बारेमा बुझ्न, मलाई लाग्छ, चिट्ठीका यिनै केही हरफहरु नै पर्याप्त छन्।
तीर्थ र म दुवैजना कविता र गीत लेख्छौं। तर तीर्थको काव्यकारिता मेरोभन्दा धेरै फराकिलो छ।कविता र गीतका अतिरिक्त तीर्थको लेखन उस्तै प्रभावकारी रुपमा मुक्तक र गजलसम्म फैलिएको छ।
२०२९ सालदेखि तीर्थका रचनाहरु पत्रपत्रिकामा छापिन थाले पनि २०५५ सालमा आएर बल्ल पुस्तकाकारमा उनको पहिलो कवितासङ्ग्रह निस्कियो। यसका लागि उनलाई साथीभाइहरुले निक्कै घचघच्याउनु परेको थियो।तीर्थ श्रेष्ठका कविताहरु (२०५५), जिन्दगीको कुरुक्षेत्रबाट (२०५८), र धर्सैधर्साको चक्रव्यूह (२०७६) हालसम्म प्रकाशित उनका कवितासङ्हहरु हुन भने “पाइलाका निबहरुले” (२०५८) शीर्षकको संयुक्त कवितासङ्ग्रह पनि( मञ्जुल र कुमार आलेको साथमा) प्रकाशनमा आएको छ। जिन्दगीको गोधूलीमा (२०६०) र महाभारतका गीतहरु (२०६२) उनको नाममा रहेका मुक्तकसङ्ग्रहहरु हुन भने ” मेरै हिमाल जस्तो” (२०६८) उनको गीतसङ्ग्रह हो। तीर्थका केही गीतहरु रेकर्ड भै प्रचारप्रसारमा आएका मात्र होइन उत्तिकै रुचाइएका पनि छन्।
नेपाल पुकार, प्राङ्गण( त्रैमासिक)का अतिरिक्त संयुक्तरूपमा भूपी स्मृति-ग्रन्थ समेत सम्पादन गरेका तीर्थ श्रेष्ठ राष्ट्रिय प्रतिभा पुरस्कार, मोती पुरस्कार लगायतका विभिन्न पुरस्कार / सम्मान र बिभूषणद्वारा सम्मानित छन्।
खासगरी साहित्यिक/साङ्गीतिक सन्दर्भमा ” पोखरेली युवा सांस्कृतिक परिवार” पोखराको साझा गौरवको रूपमा रहेको संस्था हो। २०३४ सालमा स्थापित यो संस्थाको नेतृत्व वा जिम्मेवारी एकपछि अर्को युवा वा युवा- उमेर समुहले सम्हाल्दै आएको यथार्थ म आफैंले पनि २०३७/३८ सालदेखि देख्दै आएकोछु। टिकटमा “मुक्तक कार्यक्रम” पो.यु.सा.प. ले आयोजना गरे मध्येको एउटा ऐतिहासिक कार्यक्रम हो। यसले यस्ता धेरै नवीन ढङ्गका महत्त्वपूर्ण कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ। २०४० को दशकमा तीर्थ यसका अध्यक्ष थिए। मुक्तक कार्यक्रमहरुमा भाग लिए बाहेक प्रखर कवि तथा उपन्यासकार सरस्वती प्रतीक्षाले नेतृत्व सम्हालिरहनु भएको बेला २०७० साल माघ ४ गते पो. यु.सा. को ब्यानरमुनि सौभाग्यवस् मैले पनि एकल कवितावाचन गर्ने अवसर पाएको थिएँ। भन्नु परोइन यसको तारतम्य मिलाउने काम भने तीर्थले नै गरेका थिए र मञ्चमा मलाई चिनाउने जिम्मा पनि उनैले लिएका थिए।
उत्कृष्ट सिर्जना गर्नु र राम्ररी संस्था /संगठन चलाउनु फरक कुरा हुन्। तीर्थ दुबै कुरामा निपूर्ण छन्। संभवत: राजनीतिप्रतिको उनको शुरुदेखिको रुचिले पनि उनमा यो क्षमता विकसित भएको हुनुपर्छ।