चन्द्र गुरुङ (गोरखो आरुघाट अठारसय खोला मान्बु माझागाउँ) नेपाली साहित्यमा चिनिएका कवि तथा अनुवादक हुन् । उनी हाल वैदेशिक रोजगारीको सिलसिलामा बहराइनमा बस्छन् । उनको पहिलो कविताकृति उसको मुटुभित्र देशको नक्सा नै थिएन (विसं २०६३ (सन् २००८०) मा प्रकाशित भएको थियो । उनको दोस्रो कविताकृति माई फादर्स फेस प्रकाशनको तयारीमा छ । उनले थुप्रै नेपाली कवितालाई हिन्दी भाषामा र हिन्दी, अरबीलगायत अन्य विदेशी भाषाका थुप्रै कविताको नेपालीमा अनुवाद गरेका छन् । बहुभाषिक अनुवाद सामथ्र्यका गुरुङद्वारा अनुदिन भर्खरै नोबेल पुरस्कार बिजेता लुइस एलिजाबेथ ग्लुकको कविता साहित्यसागरको यस साताको अनुदित सामग्रीका रूपमा प्रकाशित छ
म तपाईंलाई केही भन्छु
हरेक दिन मानिसहरू मरिरहेका छन्
र यो मात्रै सुरुवात हो ।
हरेक दिन, अन्त्येष्टिस्थलमा,
नयाँ विधवाहरू जन्मिन्छन्
नयाँ नयाँ अनाथहरू पनि ।
उनीहरू आफ्ना हात बाँधेर बस्छन्
यस नयाँ जीवनको बारेमा केही निर्णय गर्ने कोसिस गर्दै ।
अनि उनीहरू चिहानतिर जान्छन्
कोही त पहिलो पटक पुगेका हुन्छन्
उनीहरू रुन डराउँछन् कहिल्यै रुन नआउँदा
अनि कोही उनीहरूतिर ढल्किन्छ
र उनीहरूलाई अब के के गर्नुपर्ने बताउँछ,
जस्तो कि हुनसक्छ– के बोल्नुपर्ने,
खुला चिहानमा माटो कहिले फाल्नुपर्ने ?
अनि त्यसपछि, सब घर फर्केर जान्छन्
जो अचानक अतिथिहरूले भरिएको छ ।
विधवा ओछयानमाथि बस्छिन्, एकदम शालीन,
उनलाई भेट्न मानिसहरू लामबद्ध उभिन्छन्
कहिले उनका हात थाम्छन्, कहिले अँगालोमा बेर्छन् ।
उनीसित सबलाई भन्नलाई केही न केही छ
धन्यवाद दिन्छन्, आएकोमा आभार प्रकट गर्छिन् ।
मनमनै उनी चाहन्छिन् कि उनीहरू गइजाऊन्
उनी चिहानमा फर्केर जान चाहन्छिन्
रोगीको कोठामा, अस्पतालमा ।
उनलाई थाह छ कि यो सम्भव छैन
तर उनको एकमात्र आशा नै
विगतमा फर्किने चाहना हो–
विगततिर अलिकति फर्किने
धेरै टाढा बिहे र पहिलो चुम्बनसम्म होइन ।