- तस्बिर साहित्य
२०६९ मा माघ दुई गतेदेखि हाम्रो झापाको बैगुन्धुराको घरमा पुराण लागेको थियो । ६८ साल पुस ३ गते हाम्री हजुरआमा बितेपछि त्यसको वर्षदिनपछि अनुकूल समयमा त्यो पुराण लागेको थियो । पुराण पिताजी र टङ्क खनालले भनेको सम्झन्छु ।
त्यस पुराणमा हामी सबै भेला भएका थियौँ । म काठमाडौँबाट पुगेको थिएँ । त्यस बेला लुइटेल सेवासमाजका तर्फबाट सल्लाहकार रोहिणीविलास लुइटेल र महासचिव भूपराज लुइटेल पनि हाम्रा घरमा पुगेका थिए । त्यसै बेला मैले समाजको साधारण र आजीवन सदस्यता लिएको थिएँ । हाम्रा पिताजी र ठुलोबुबालाई पनि आजीवन सदस्य दिलाइदिएको थिएँ । लुइटेल सेवा समाजका पदाधिकारी र विशेष हाम्रो कुलका साहित्यिक अग्रज रोहिणीविलास लुइटेललाई हाम्रो निवासमा पाउँदा म असाध्यै खुसी भएको थिएँ । यो तस्बिर त्यसै बेला लिइएको हो । सम्भवत मेरो क्यामेरामा ठुलोबुबाले लिएको हो । यसको पृष्ठभूमिको पोकामा केही आवश्यक वस्तु झुन्डाइएको होला, गाउँघरमा अग्लो ठाउँमा नयाँ जुत्ता राख्ने चलन हुन्छ । यो घरको भित्तो रङ्ग्याउन र पलस्तर हुन भ्याएको थिएन । यो फोटो एडिट गर्नुभन्दा यतिकै हेर्न राम्रो लाग्छ । त्यस दिन पाएको सदस्यताकै आधारमा म लुइटेल बन्धु प्रतिष्ठानको महासचिव पनि भएँ ।
लुइटेल कल्प पत्रिकाका तीनवटा अङ्क सम्पादन पनि गरेँ । लुइटेल बन्धु वंशावलीको सम्पादन पनि गरेँ । अहिले त्यस समितिको नाम लुइटेल बन्धु प्रतिष्ठान भएको छ र त्यस प्रतिष्ठानले मल्लाई सल्लाहकार बनाएको छ । अहिले भूपराज सहअध्यक्ष छन् । समाजको नाम प्रतिष्ठानमा रूपान्तर गरौँ भन्नेमा मेरै जोड थियो । यस बेला म मलाई मेरो घरमै पुगेर सदस्यता दिने यी दुई अग्रजहरूलाई आदरपूर्वक सम्झन्छु । अहिले सरसल्लाह गर्न र केही कुरा सोधी खोजी गर्न हाम्रा अग्रज रोहिणीविलास लुइटेललाई भेट्न सकिँदैन भन्नुपर्दा भने नमज्जा लाग्छ । रोहिणीविलासलुइटेलको संयोजकत्वमा लुइटेल कल्पको पहिलो अङ्क प्रकाशन भएको थियो । अहिले उनका नाममा स्मृतिग्रन्थको तयारी भइराखेको छ । त्यसमा मेरा दुईवटा लेख समावेश हुँदैछन् ।
– रमेश शुभेच्छु