- तस्बिर साहित्य
सिन्धुलीगढी घुमेर हेर्दा
सुन्तली मै कतिमा राम्रो दरबार
मार्यो नि मायाले मार्यो
म सिन्धुलीसँग जोडेर यो पुरानो लोकगीत सम्झिइरहन्छु । यसलाई हाम्रा गाउँले दाई कुलप्रसाद अधिकारी गाइरहन्थे । यही एउटा मात्र थियो घाँसदाउरा गर्दा उनले गाउँने कण्ठस्थ गीत । यो गीत रेडियो नेपालमा पनि बजेको र सुनेको सम्झन्छु । पछि नेपालका पचहत्तर जिल्लाको नाम पढ्दा सिन्धुली पढेँ । पछि उमानाथ शास्त्री सिन्धुलीयको महाकाव्य मकवानीबाला पढ्ने क्रममा उनी सिन्धुलीमा जन्मिएका हुँदा सिन्धुलीय लेखेको थाहा पाएँ । कृष्णहरि बरालसँग परिचय हुँदा सिन्धुली घर भएको थाहा पाएको थिएँ । अझपछि मेरा साथी बनेर आए सिन्धुलीय सुपुत्र प्रोल्लास सिन्धुलीय, सविना सिन्धु र ईश्वर सिन्धुले । भेटिए सिन्धुलीका साथीहरू माधव ढुङ्गेल, भावकेशर बराल, दिल पौडेल आदि धेरै धेरै । यस क्षेत्रका धेरै लेखकहरू चिनिँदै गए ।
२०७६ सालको साउनमा प्रा. राजेन्द्र सुवेदी र म सिन्धुलीको दुधौली नगरपालिकामा निम्त्याइएका थियौँ । दुधौली मासिकको वार्षिकोत्सवका अवसरमा गोरखापत्रका पूर्वअध्यक्ष एवम् महाप्रबन्धक साथै एक अग्रज साहित्यकारका रूपमा, सुवेदी सर निम्त्याइएका थिए । म एउटा युवा लेखकका रूपमा निम्त्याइएको थिएँ ।
हामी गुरु चेला अर्थात् राजेन्द्र सुवेदी र म तीन दिनका सहयात्री बनेका थियौँ । मलाई गुरुसँग यात्रा गर्ने सुअवसर जुरेको थियो त्यस दिन । त्यसका सूत्राधार थिए मेरा अनन्य मित्र र छिमेकी दिल पौडेल । म उत्साही थिएँ गुरुसँग काठमाडौँको कोलाहलबाट दुई दिनको मुक्तिको सुखद कल्पनाले । गुरु प्रा. राजेन्द्र सुवेदी र म दुवै पाँचथरे छोराहरू हौँ । हामी दुवै एकै ठाउँमा एउटै कार्यक्रममा एउटै उद्देश्यले निम्त्याइनु अपूर्व संयोग थियो । संयोग भए पनि त्यसले मलाई धेरै फाइदा पुर्याइरहेको थियो । गुरुसँगको तीन दिने यात्रा धेरै उपलब्धिले छोपिएर आयो ।
हाम्रो यात्राको योजना बनाउने र निमन्त्रणा गर्ने मित्रहरूमध्ये दिलजीले सुवेदी गुरु जस्ता अग्रजलाई आफ्नो गाउँ देखाएर टेकाएर केही साहित्यिक, सांस्कृतिक उर्जा बटुल्ने प्रयत्न गरेका हुँदा हुन् । अर्का सूत्रधार थिए दुधौली मासिकका सम्पादक मित्र दीपेन्द्र बुढाथोकी । उनी गाउँमै बसेर पत्रकारिता गरिरहेका मानिस । उनलाई लाग्यो होला गोरखापत्रका महाप्रबन्धक भइसकेका सुवेदी सरलाई लगेर आफ्नो पत्रिकाको वार्षिकोत्सवमा केही कुरा सुनौँ । हामी यस्तै केही योजनाले बोलाइयौँ ।
मलाई दिलजी र दीपेन्द्रजीले भनेका थिए, तपाईंले राजेन्द्र सुवेदी सरलाई लिएर आउनु पर्यो । त्यस क्रममा हामीलाई सम्पर्क गर्ने र निम्ता गर्ने साथीहरू दुधौली संबद्ध रवीन्द्र भट्टराई, रोहितकुमार गुरुङ, हरि गाउँले, शंकर ढुगाना, दीपक लामा, अमित वि.क, वचन अधिकारी आदि थिए । उनीहरू संस्थाले दिएको जिममेवारीअनुसार हामीलाई निम्ता दिइरहेका र सम्पर्क गरिरहेका थिए ।
हामी २०७६ सालको साउन २० गते काठमाडौँबाट बाटो लाग्यौँ । हामी नाइट बस चढ्नुमा सुवेदी गुरुको भन्दा मेरो स्वार्थ थियो । मैले दुई ठाउँको जागिर भ्याएर यात्रालाई पनि भ्याउने योजना बनाएको थिएँ । गुरुले धन्न स्वीकार गरिदिनाले मैले समय बचाउन सकेको थिएँ नभए एक्लाएक्लै जानुपर्ने हुन्थ्यो । हामी कोटेश्वरबाट सार्वजनिक यातायात चढेर कलङ्की पुग्यौँ । निकै प्रतीक्षा र पट्यार लाग्दो धुलो खाएपछि बल्ल दुधौली पुग्ने बस आयो । हामीलाई भनिएको थियो– कटारीको बसमा चढ्नु र निश्चित ठाउँमा उत्रनु । हामी त्यसै निर्देशनअनुसार रात्रीवसको यात्रामा निस्किएका थियौँ । मलाई केही अफ्ठारो पनि लागिरहेको थियो गुरुलाई मेरो योजनाअनुरूप रात्रिवसमा हिँडाउनु पर्दा । तर अवस्थै त्यस्तो थियो । मलाई डेमा हिँड्ने समय त के टिकट बुझ्न जानसम्म फुर्सद थिएन । मेरा शुभचिन्तक रमिला सापकोटालाई नयाँ बस पार्कमा टिकट लिइदिन भनेको थिएँ । त्यस टिकटको फोटो मोबाइलमा पठाइमागेको थिएँ । त्यस बेला बसको टिकट अनलाइनबाट बुकिङ हुँदैन थियो । सोही फोटोअनुसार यात्राको समय मिलाएको थिएँ । गुरुलाई दिउँसो पठाइदिएर आफू एक्लै रात्रि बसमा जान पनि व्यवहारिक हुँदैन थियो । त्यसैले हामी छोटो समयमा पुग्ने ठाउँमा लामो यात्रा गरेर पुगेका थियौँ ।
कार्यक्रममा पत्रिकाको वार्षिकोत्सवको अवसर पारेर हामीलाई सम्मान गरिएको थियो र हाम्रा विचारहरू सुनिएको थियो । हामीलाई कार्यक्रमबाट स्थानीय आवाज सुन्न र परिवेश बुझ्न सघाउ पुगेको थियो ।
त्यस कार्यक्रममा मलाई युवा लेखकका रूपमा र साहित्यिक सञ्चारकर्मीका रूपमा सम्मान गरिएको थयो । यो तस्बिर त्यही सम्मानको हो । यस तस्बिरमा राजेन्द्र गुरुसहित पूर्वसंसद् गङ्गाप्रसाद नेपाल, दुधौली नगरपालिकाका नगरप्रमुख घनश्याम राउत र म सम्मानपत्र थाप्तै छौँ । पृष्ठभूमिमा पत्रिकाका सम्पादक दीपेन्द्र र र अरू सहभागी छन् । त्यस मञ्चमा उमप्रमुख बालकुमारी अधिकारी, रामकुमार अधिकारी र कुमार वस्नेत लगायतका जनप्रतिनिधि, स्थानीय सञ्चारकर्मी र शिक्षासेवी व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो । आज गतहप्तादेखि राजेन्द्र गुरु यो संसारमा नभएका सन्दर्भमा यो तस्बिर दुई वर्षकै बिचमा ऐतिहासिक बनेको छ ।
यो यात्रा एकै दिनमा वा दुई दिनमा सीमित गर्न सकिने भएर पनि तीन दिनको भएको थियो । जाँदा मुग्लिनको बाटो र फर्कँदा सिन्धुलीको बाटो भएर ओहोर दोहोर गर्दा ललितपुर, काठमाडौँ, धादिङ, चितवन, मकवानपुर, पर्षा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, उदयपुर, सिन्धुली, काभ्रे र भक्तपुरको परिक्रमा गरिएको थियो । यो घुमौरो यात्रा जस्तै गुरुसँग विविध पक्ष र विषयका बारेमा रमाइलो कुरा भएको थियो । आज पनि कोटेश्वरबाट गाडी चढ्दादेखि लोकन्थली आएर छुट्तासम्मका अनुभव आँखाअगाडि नाचिरहेका छन् । यो तस्बिर मधुरो भएपनि सम्झना ताजा छन् । सिन्धुसँग जोडिएको गीतले जस्तै गुरुसँग अब भेट नहुने भएपनि गुरुको मायाले मारिरहेको छ ।
– रमेश शुभेच्छु