- तस्बिर साहित्य
कुनै कुनै तस्बिर खिचेका बेला यति ऐतिहासिक बन्लान् भन्ने सोचिएको हुँदो रहेनछ । म काठमाडौँ आएर यहाँका स्थापित व्यक्तित्वहरूसँग परिचयको क्रममा थिएँ । परिचय बनिसकेकै थिएन । एक दिन राजेन्द्र सुवेदी सरले कीर्तिपुरको एम. ए. दोस्रो वर्षको कक्षा सकेर बाहिर निस्कने बेलामा कडा आवाजमा भन्नुभयो : रमेशजी एकछिन बाहिर आउनुहोस् ।
म सरसँगसँगै जस्तो ढोकाबाट बाहिर निस्किएँ । उहाँले अँगालो हालेर डोर्याउँदै अलि पर लगेर एकान्त जस्तो ठाउँमा पुगेपछि भन्नुभयो : भोलि बिहान सात बजे कोटेश्वर क्याम्पसमा वासुदेव त्रिपाठीलाई अभिन्न्दन गर्ने कार्यक्रम छ । मोतीजयन्ती र अरू साहित्यिक कार्यक्रम पनि छ । तिमीले पनि विद्यार्थीलाई प्रेरित गर्ने गरीको एउटा कविता वाचन गर्नुपर्छ आउनु है ।
म उत्साही भएँ । खुसीले पुलकित हुँदै एकै सासमा हुन्छ भनेँ । भोलिपल्ट सरले भनेकै समयमा सोध्दै खोज्दै कोटेश्वर बहुमुखी क्याम्पस पुगेँ । उहाँका कार्यकक्षमा बसेर अरू सरहरूसँग चिनजान गरेँ । पहिलादेखि परिचित देवी नेपाल, धीरकुमार श्रेष्ठसँगको भेट सुखद बन्यो । अरू सरहरूलाई पनि चिन्न पाएँ । कार्यक्रम केही ढिला सुरु भयो । कार्यक्रम सञ्चालक धीरकुमार श्रेष्ठ हुनुहुन्थ्यो । विद्यार्थीहरूको कविता प्रतियोगिता पनि थियो । निर्णायक मण्डलमा देवी नेपाल र अरू सरहरू हुनुहुन्थ्यो । मलाई नवोदित छन्दकवि भनेर सम्बोधन गर्दै क्याम्पसको मञ्चमा राखिएको थियो । श्रीभद्र शर्मा सभाध्यष भएको, वासुदेव त्रिपाठी प्रमुख अतिथि भएको र राजेन्द्र सुवेदी जस्ता उच्च व्यक्तित्व भएको मञ्चमा म पनि बसेको थिएँ । त्यो मेरो काठमाडौँका ठुला मञ्चको पहिलो चढाइ र बसाइ थियो । त्यस मञ्चका अझ राम्रा र सफा फोटोहरू कोटेश्वर क्याम्पसका एलबममा होलान् । यी फोटो मेरो सामान्य क्यामेराबाट कुनै कलेजकै विद्यार्थीले खिचेका थिए । फोटो खिचाइको कोण राम्रो नभए पनि यी फोटो मेरा जीवनको ऐतिहासिक फोटो बनेर रहेका छन् । यी फोटोमा देखिएको मञ्चको अग्रभागमा वासुदेव त्रिपाठी, श्रीभद्र शर्मा र राजेन्द्र सुवेदी हुनुहुन्छ । पछिल्लो भागमा म र कलेजले अथितिका रूपा आसन ग्रहण गराएका लेखक , प्राध्यापक र विद्यार्थी प्रतिनिधि हुनुहुन्छ । एकापटि साइडमा देवी नेपाललगायत निर्णयक मण्डलका सदस्य हुनुहुन्छ । तीनवटै फोटोमा धीरकुमार श्रेष्ठ उद्घोषण गरिरहनुभएको छ । एउटामा म बोल्दै र कविता सुनाउँदैछु । अर्कोमा धीरकुमार श्रेष्ठ कविता सुनाउन विद्यार्थीलाई मायक हस्तान्तरण गर्दै हुनुहुन्छ ।
यो तस्बिर लिएका दिन मेरो आत्मबल निकै बलियो भएको थियो । कार्यक्रम सकेर सरकै आज्ञाअनुसार उहाँकै पछि लागेर उहाँको घरमा प्रवेश गरेको थिएँ । दिदीले पकाएको मिठो खाना खाएर उहाँसँगै कुरा गर्दै कीर्तिपुरसम्म रिङरोडको गाडी चढेर पुगेको थिएँ । सरले बाटामा भन्नुभएको थियो : म यही बाटामा प्राय: तपाईँहरूलाई पढाउने र अन्य उपन्यास पढ्छु । कार्यक्रममा बोल्नु पर्ने किताबहरू पढ्छु । समालोचना लेख्ने खाका र निबन्धका विषय सङ्कलन गर्छु । अहिले बुझ्दा त्यस दिन सर कोटेश्वर क्याम्पसको डिउटी सकेर विश्वविद्यालयको डिउटी भ्याउन हिँड्नुभएको रहेछ । त्यसै दिन साँझ त्रिचन्द्र क्याम्पसमा पनि उहाँको कक्षा भएको बुझिएको थियो । यी तस्बिर खिचिएको, कोटेश्वर क्याम्पस र गुरुगृह टेकिएको दिनका विषयमा मैले दैनिकी पनि लेखेको छु । त्यसमा कार्यक्रमको टिपोट र अनुभूति पनि छ । त्यो समय क्रममा सार्वजनिक हुने नै छ । आज राजेन्द्र सुवेदी गुरुको सम्झनामा यति ।
-रमेश शुभेच्छु