- तस्बिर साहित्य
हामी विश्वविद्यालयमा लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा निर्माण गर्ने अभियानमा थियौँ । त्यसबेला देवकोटाको प्रतिमा कसरी बनाउने र कस्तो बनाउने भन्ने विषयमा हामी छलफलमा थियौँ । हाम्रो समूहको नेतृत्व अघिल्लो व्याजका माधव ढुङ्गेलले गरेका थिए । हामी तीन ब्याजका विद्यार्थीमध्ये म कान्छो थिएँ । मसँग दाई पुस्ताका साथीहरूसँग भन्दा पक्कै पनि कम अनुभव थियो तर उत्साह भने भव्य थियो । हामी त्यस बेला नेपाली साहित्यमा समर्पित प्रतिभाहरूका घर घर पुगेर यस विषयमा छलफल गरेका थियौँ । हाम्रो त्यस दिनको गन्तव्य पूर्णप्रकाश नेपाल यात्रीका निवासमा थियो । त्यस लगत्तै घटराज भट्टराईलाई भेट्ने कार्यक्रम थियो ।
यस तस्बिरमा हामी युवा–ठिटाका बिचमा रहेका स्वेत वस्त्रधारी ऋषितुल्य व्यक्ति पूर्णप्रकाश नेपाल यात्री हुन् । यस तस्बिरको पछिल्लो रोमा क्रमश माधव ढुड्गेल सुरेश रानाभाट र हरिहर चापागाईं छन् । अघिल्लो रो मा बायाँपटि मेरा मित्र दिवस ढुङ्गेल छन् । उनी इलामबाट काठमाडौँ घुम्न आएका थिए । दायँपटि म छु । काठमाडौँ घुम्न आएका दिवस भाइ लाई कोठामा एक्लै छोड्न पनि नमिल्ने र उनी घुम्नै आएका हुँदा उनी र हामी सँगसँगै गएका थियौँ । यो तस्बिर भाइ दिवसले काठमाडौँ आउने वित्तिकै किनेको सस्तो क्यामेराबाट खिचिएको हो । हाम्रो समूहका तेजविलास अधिकारी तस्बिरमा नहुँदा उनैले यो तस्बिर खिचेको हो कि भनी सम्झन्छु ।
त्य दिनको भेट र त्यहाँ भएका कुराका विषयमा यात्री स्मृतिग्रन्थमा लामो लेख आइसकेको छ । यहाँ भने भेटका बेला खिचिएको तस्बिरको स्मृति मात्र गर्न खोजिएको हो । पृष्ठभूमिमा यात्रीका अभिभावक, महेन्द्र, सिद्धिचरण श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा जस्ता अग्रज स्रष्टाका तस्बिर, यात्रीका सम्मान पत्र आदि देख्न सकिन्छ । त्यस दिन हामीले भेट्ता उनले आँखाको ज्योति गुमाइसकेको अवस्था थियो तर आफूले बोलेर अरूलाई लेखाउने र पढेर सुन्ने क्रम जारी थियो । नेपाली विषयमा स्नातकोत्तर पढ्ने विद्यार्थीहरू आएका भन्दा उत्साहसाथ आफूले गरेका कामको विस्तार, विश्वविद्यालयमा पढाउँदाको अनुभव र देवकोटाका विषयमा जानकारी दिएको कुरा आज पनि झलझली ससम्झना भइरहन्छ । अब त यो तस्बिर खिचेको पनि दुई दशक भइसके छ । यात्रीले हामीलाई छोडेर गएको पनि दशक भइसके छ ।
-रमेश शुभेच्छु