धीरकुमार श्रेष्ठ बहुमुखी साहित्यिक प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको बालकथा बाङ्गो पुच्छर’ समेटिएको छ । यस कथामा जीवजन्तुलाई नै पात्र बनाएर बालबालिकामा सकारात्मक प्रभाव पार्न खोजिएको छ । यो कथा मनोरञ्जनप्रधान छ ।
सम्पा.
एकदिन स्याललाई ठट्टा गर्न मन लाग्यो । उसलाई, “कसलाई जिल्याऊँ ? कसलाई जिल्याऊँ ?” भयो । हिँड्दाहिँड्दै उसले बाँदरलाई भेट्यो । भन्यो, “भाइ, घुम्न जाऊँ न ।”
बाँदरले सोच्यो, “स्याल यति भलादमी त होइन । आज यसले के आँट्यो । हेर्नुपर्यो ।”
मुखले चाहिँ भन्यो, “हुन्छ दाइ, कता जाने ?”
स्यालले भन्यो, “जङ्गलतिरै जाऊँ भाइ ।”
दुवै हिँडे । उनीहरूले चउरमा चर्दै गरेको गैँडालाई भेटे ।
बाँदरले सोध्यो, “काका, के गर्दै हुनुहुन्छ ?”
गैँडाले भन्यो, “के गर्नु नि ! देखेनौ, घाँस खाँदै छु ।”
“ला ! यो के देख्नुपर्यो नि !” स्यालले हत्तपत्त भन्यो ।
“के भयो भतिजा ?” सोझो गैँडाले सोध्यो ।
“के हुनु नि थाहा पाउनुभएन ?” स्यालले उल्टै सोध्यो ।
“अहँ !” गैँडाले सोझो उत्तर दियो ।
“खै ! मेरो आँखा बाङ्गो हो कि … ” उसले जानी जानी वाक्य पूरा गरेन ।
“भन न के भयो ?” लप्पनछप्पन नजान्ने गैँडाले भन्यो ।
“के हुनु नि ! म त तपाईंको पुच्छर बाङ्गो देख्छु त !” दुःखलाग्दो अनुहार बनाउँदै स्यालले भन्यो ।
“हो र ? यस्तो त नहुनुपर्ने !” भन्दै गैँडा आफ्नो बाङ्गिएको पुच्छर हेर्न फनफनी घुम्न थाल्यो ।
स्याल मुसुमुसु हाँस्दै अगि लाग्यो । बाँदर पछि लाग्यो । दुवैले कुलेलम ठोके ।