विजयराज आचार्य (२०३३, माघ ९, प्युठान, सुपुत्र : पिताम्बर आचार्य र मनकला आचार्य) नेपाली बालसाहित्यका क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । उनका बालसाहित्यका दर्जनौँ कृतिहरू प्रकाशित छन् । उनका कृतिहरु शान्तिको आत्मकथा (सचित्र बालकथा), चौध चम्किला कोपिला (अन्तर्वार्ता सङ्ग्रह बालबालिकासँग), नयाँ बस्ती (बालउपन्यास), केवलपुरे किसान (जीवनी), हाम्रो आवाज (बालउपन्यास), उज्यालोको खोजीमा (बालनाटक), कान्छाकुमार (जीवनी), परिवर्तन (बालउपन्यास), श्यामप्रसाद (जीवनी), झमककुमारी (जीवनी), चितुवासँग जम्काभेट (सचित्र बालकथा), अग्रज स्रष्टाहरू (जीवनीसङ्ग्रह), बाटुली (बालकथासङ्ग्रह), काढेँ दुम्सी (सचित्रबालपुस्तक) कोकले क्याँक ! कोकले (सचित्रपुस्तक) म त स्कुल जान्न (सचित्रबालकथा), रमाइलो स्कुल (सचित्रबालकथा), आआफ्नो सुर (सचित्रबालकथा), बुबाको माया (बालकथासङ्ग्रह), हजुरआमाको माया (बालकथासङ्ग्रह), छोरीको माया (बालकथासङ्ग्रह), आमाको माया (बालकथा), छट्टु चङ्खे (सचित्रबालकथा), पाप पखाल्ने गङ्गा (बालकथासङ्ग्रह ), बुधनी (सचित्रबालकथा), जेनिसको जन्मदिन (बालकथासङ्ग्रह), स्मार्ट घर (बालकथासङ्ग्रह), विनयशील विनय (जीवनी), गुड नाइट (किशोरकथासङ्ग्रह ), रङ्गीन विष (बालकथासङ्ग्रह), आकाश ओढ्ने जिन्दगी (बालकथासङ्ग्रह) रमाइलोगाउँ (सचित्रबालकथा), सिद्धार्थ (बालनाटक) शिक्षाको ज्योति (सचित्रबालकथा) जस्ता बालसाहित्यक कृतिका साथै रातकी रानी (हाइकु), पग्लिएको धरती (हाइकु), राँगालाई जुत्ता (लघुकथासङ्ग्रह) लगायत कृतिहरु प्रकाशित छन् । पुस्तक प्रकाशन व्यवसाय र लेखनमा सक्रिय आचार्यका सम्पादनमा विभिन्न कृति पनि प्रकाशन भएका छन् । उनका प्रतिनिधि बालनाटकहरू, प्रतिनिधि बालकथाहरूविश्वका बालकथा (भाग–२) उनका प्रमुख प्रकाशित बालसािहित्यक कृति हुन् । उनको सम्पादनमा नव प्रतिभा (बाल मासिक पत्रिका), हाम्रो बालबगैँचा (मासिक बालपत्रिका) जस्ता पत्रपत्रिका पनि प्रकाशनमा आएका छन् । उनको कलम बालसाहित्यको अनुवादका क्षेत्रमा पनि निरन्तर चलेको छ । उनका बालबगैँचा (बालकथासङ्ग्रह), एउटा नयाँ पुलको निर्माण, खरायोको पुच्छर किन छोटो भयो ?, कृतज्ञ बाघ, डल्फिनको रमाइलो कथा, विश्वप्रसिद्ध लोक कथाहरू १, विश्वप्रसिद्ध लोक कथाहरू २, विश्वप्रसिद्ध लोक कथाहरू ३, विश्वप्रसिद्ध लोक कथाहरू ४, हितोपदेशकाकथाहरू (भाग १), हितोपदेशकाकथाहरू (भाग २), प्रसिद्ध चिनियाँ बालकथासङ्ग्रह (खण्ड–१), प्रसिद्ध चिनियाँ बालकथासङ्ग्रह (खण्ड–२), प्रसिद्ध चिनियाँ बालकथासङ्ग्रह (खण्ड–३), विश्व प्रसिद्ध बालकथासङ्ग्रह (खण्ड–६), विश्व प्रसिद्ध बालकथा (खण्ड–७), रमाइला चिनियाँ बालकथा, लियो टाल्सटायका उत्कृष्ट बालनाटक, पञ्चतन्त्रका रमाइला कथाहरू, विश्व प्रसिद्ध जापानी लोककथाहरू, सफलताका सय सूत्र जस्ता अनेक कृति प्रकाशित छन् । निरन्तर बालबालिकाका लागि केही लेखिरहने आचार्यको मूल क्षेत्र बालसाहित्य र त्यसमा पनि बालआख्यान हो ।
साहित्यसागरको प्रस्तुत शृङ्खलामा ‘कुटीको यात्रा’ शीर्षकको बालकथा समेटिएको छ । यस कथाले बालबालिकालाई हजुरबाले प्राकृतिक, ऐतिहासिक एवम् सांस्कृतिक भूमिको भ्रमण गराई बालबालिकामा मनोरञ्जन र नयाँ ज्ञानको सञ्चार गरिएको छ । यसले बालजिज्ञासा र अभिभावकको साथलाई उपयुक्त पात्र, परिवेश, भषा र सन्देशका साथ प्रस्तुत गरिएको छ । सम्पा. |
“ल हिँड, म कुटी घुमाउन लैजान्छु ।” हजुरबाले भन्नुभयो ।
“कुटी भनेको के हो ? त्यो कहाँ पर्छ ?” निखिलले सोध्यो ।
“कुटीमा त जोगी बस्छन् होइन र ?” निशाले सोधी ।
“हो जोगी बस्ने ठाउँलाई कुटी भन्छन् ।” श्यामले जान्ने हुँदै भन्यो ।
“घरमै जन्मे हुर्केको भए गाई बाख्रा चराउन कुटी जान्थ्यो । सहरमा हुर्केकाले नामै अचम्म लाग्यो ।” हजुरबाले ठट्टा गर्दै भन्नुभयो ।
“कुटी एकदम रमाइलो छ होला हैन र हजुरबा ?” निशाले सोधी ।
“रमाइलो नभए त किन घुमाउन लैजानु, हैन हजुर बा ।” निखिलले भन्यो ।
“कुटी एकदम रमाइलो छ । पोहोर जेठमा म मामाघर आएको बेला त्यही बाटो भएर सिरसनी घाटु नाच हेर्न गएको थिएँ ।” श्यामले हौसिँदै भन्यो ।
“फुर्से दाइ ! बाटुली बैनी !, के तपाईंहरू पनि कुटी घुम्न जानुभएको छ ?” निखिलले सोध्यो ।
“किन नजानु ! छुट्टी भयो कि गाईबाख्रा चराउन कुटी जानुपर्छ ।” फुर्सेले जवाफ दियो ।
“म त साथीसित स्कुलबाट पनि कुटी घुम्न गएकी छु ।” बाटुलीले भनी ।
“आहा ! निकै रमाइलो छ जस्तो छ चाँडै जाऔँ न है ।” निखिलले हतारिँदै प्रस्ताव राख्यो ।
“हुन्छ, हुन्छ गइहालौँ ।” श्यामले उत्साहित हुँदै भन्यो ।
“ल, ल सबैजना झट्ट घुम्न जाऊ । म पनि भटाभट काम गर्न थाल्छु ।” हजुरआमाले भन्नुभयो ।
“गै हालुम् न त हजुरबा ।” निखिलले हतारिँदै भन्यो ।
“बाटो हामीले पनि देखेका छौँ । हजुरबालाई किन दुःख दिने र !” बाटुलीले भनी ।
“बाटो मात्र देखेर हुन्छ ? कुटीको बारेमा जान्ने मान्छे भए सजिलो हुन्छ नि ।” श्यामले भन्यो ।
“त्यसैले त हजुरबासँग जाने भनेको नि ।” निशाले भनी ।
“निशाले भनेको एकदम ठिक हो ।” निखिलले समर्थन जनायो ।
“हजुरबा चाँडै जाऊँ न है ।” श्यामले हजुरबालाई झकझकाउँदै भन्यो ।
“काम नपाएर घरको मुलीमान्छे केटाकेटी घुमाउन डाँडातिर जानुहोला ।” हजुरआमाले झर्कंदै भन्नुभयो ।
“घरको मुलीले त हो नि नाति–नातिना घुमाउने ।” हजुरबाले फिस्स हाँस्दै भन्नुभयो ।
“हुर्रे ! हुर्रे !! हजुरबाले हामीलाई घुमाउन लैजाने हुनुभयो ।” निशाले नाच्दै भनी ।
“खाजा पेटभरि खाओ । ठुलै उकालो उक्लिनु पर्छ । एक एक बोतल पानी बोक । सजिला जुत्ता लगाओ ।” हजुरबाले भन्नुभयो ।
“हुन्छ हजुरबा । हामी त्यसै गर्छौं ।” सबैजनाले एकै स्वरमा भने ।”
सबैजना कुटीतिर लागे ।
“धत्तेरिका ! चितुवाले बाटो काट्यो । होस् गर है ।” हजुरबाले हडबडाउँदै भन्नुभयो ।
त्यत्तिकैमा खस्राङखुस्रुङ आवाज आयो । केटाकेटी डरले थुरथुर भए ।
“आबुई !”, फुर्से करायो । अरूहरू पनि हल्लाखल्ला गर्न थाले ।
“किन डराएका, म छँदैछु नि ।” हजुरबाले भन्नुभयो ।
“हजुरबा ! चितुवा कान्लामुनि लुकेजस्तो छ । त्यहाँ खस्राङखुस्रुङ गर्दैछ ।” श्यामले हडबडाउँदै भन्यो ।
‘खै खै कता !’ भन्दै हजुरबा आवाज आएतिर जानुभयो ।
“छाड । हामी आप्mनो बाटो लागौँ । उसलाई असर पारेन भने चितुवा होस् कि बाघ, कसैले पनि केही पनि गर्दैन । हामीले असर पा¥यौँ भने मात्र उनीहरूले रिसाएर आक्रमण गर्ने हुन् ।”, हजुरबाले भन्नुभयो । सबैजना फेरि हिँड्न थाले ।
“क्या ठूलो चौर । कति रमाइलो दृश्य ।” निखिल एकाएक करायो ।
“आम्मै कति ठूलो खाल्टो यसमा परियो भने त मरिन्छ होला !” निशाले अत्तालिँदै भनी ।
“त्यो त इनार हो । पहिला यहाँ राजाको दरबार थियो । उनीहरूले पानी खान खनेको ।” हजुरबाले जवाफ दिनुभयो ।
“पानीको इनार रे ! पानी त छैन त ?” निमेशले अचम्म मान्दै सोध्यो ।
“राजा–महाराजाले कहिल्यै जनताको भलो चिताउँदैनन् ।” फुर्सेले सुनेको कुरा प्वाक्क भन्यो ।
“किन र भाइ ?” श्यामले सोध्यो ।
“यसको जवाफ हजुरबाले दिनुहुन्छ ।” फुर्सेले भन्यो ।
“पहिला यहाँ भुरे–टाकुरे राजाको दरबार थियो । त्यतिबेला पानी खान यो इनार खनेछन् । पछि दरबार छाडेर भाग्ने बेला जनताले खान्छन् भनेर रानीले इनारै पुर्न लगाइछन् ।” हजुरबाले लामो सास फेर्दै भन्नुभयो ।
“यहाँ त हेलिकोप्टर पनि बस्छ जस्तो छ ।” निखिलले भन्यो ।
“हो यहाँ बेला बेला हेलिकोप्टर बस्छ । त्यसमा आएका मानिस पाल टाँगेर बस्छन् । दुरबिनले के के हेर्छन् । अनि झन्डा गाडेर जान्छन् ।” फुर्सेले भन्यो ।
“आहा ! कति रमाइलो गाउँ । गाउँमाथिको जङ्गल झन् रमाइलो ।” निखिलले रमाउँदै भन्यो ।
“त्यो गुरुङ बस्ती हो ।” हजुरबाले प्रस्ट पार्नुभयो ।
“सिरसेनीमा त वैशाखे पूर्णिमामा घाटु नाच लाग्छ । कति रमाइलो हुन्छ घाटु । मैले पोहोर साल हेरेको ।” श्यामले रमाउँदै भन्यो ।
“दोखामेको जङ्गल त एकदम खतरा छ । त्यहाँ त संसारकै सबभन्दा डरलाग्दो लागो बस्छ । दोखामेको लागो लाग्यो भने मान्छे त पुक्लुक्कै हुन्छ ।” फुर्सेले डराउँदै भन्यो ।
“भुत ओडार र गेलको भन्दा पनि डरलाग्दो लागो हो र दाइ ।” बाटुलीले सोधी ।
“होइन होइन, हजुरआमाले भन्नुभएको सबभन्दा खतरनाक त कात्रेखोला र कुल्यानको देउता हो रे !” श्यामले भन्यो ।
उहाँहरूले भनेको कुरा त मैले बुझिनँ नि हजुर बा ?” निखिलले सोध्यो ।
“उनीहरूले भनेका सबैकुरा अन्धविश्वास हुन् ।” हजुरबाले हाँस्दै भन्नुभयो ।
छक्ऽऽ छक्ऽऽ छक्ऽऽ !
“आहा ! कस्तो रमाइलोे आवाज । यो त रेलगाडीको आवाज जस्तै छ नि ?” निशाले सोधी ।
“हो यो रेलगाडीको आवाज हो ।” बाटुलीले उत्तर दिई ।
“कस्तो नचाहिने कुरा गर्छे यो बाटुली पनि ! काठमाडौँमा त रेलगाडी छैन । अब यस्तो बिकट डाँडोमा कसरी आउँछ रेलगाडी ?” निखिलले झर्कंदै भन्यो ।
“काठमाडौँको भृकुटी मण्डपमा हामीले रेलगाडी खेलेको होइन ?” निशाले जिस्कँदै भनी ।
त्यो त खेलौना रेलगाडी पो हो त ।” निखिलले आँखा तर्दै भन्यो ।
“हामीले पनि कुटीमै रेल गुड्यो कहाँ भनेका छौँ र ? रेलको आवाज सुनियो पो भनेको त ।” फुर्सेले जिस्कदै भन्यो ।
“कहाँ गुडेको रेलको आवाज सुनिएको त यो ?” निशाले सोधी ।
“गोरखपुरमा गुडेको गाडीको ।” बाटुलीले जवाफ दिई ।
“गोरखपुर त भारतमा पर्दैन र ?” निखिलले सोध्यो ।
“हो, गोरखपुर भारतमा पर्छ । जान पनि एकदिन पैदल र एकबिहान बसमा गुडेर मात्र पुगिन्छ । तर त्यहाँको रेलको आवाज यहाँ प्रस्ट सुनिन्छ ।” हजुरबाले भन्नुभयो ।
“नागबेलीले जस्तै यो गाउँलाई बेरेका ती दुई नदी र उत्तर दक्षिणतिरका ति दुई डाँडाले त मेरो मनै रमायो ।” निखिलले रमाउँदै भन्यो ।
“कुटीको विशेषता नै यही हो, जता हे¥यो त्यतै रमाइलो । ती दुई नदी झिमु्रक र माडी हुन् । तिनीहरू मिसिएको ठाउँ ऐरावती । त्यहाँ माघे सङ्क्रान्तिमा मेला लाग्छ । ऐरावती नै रापती नदीको मुहान हो ।” हजुरबाले भन्नुभयो ।
“अनि नि दुई डाँडाको नाम के हो नि हजुरबा ?” निशाले सोधी ।
“उत्तरतिरको स्वर्गद्वारी दक्षिणतिरको अर्घा यी दुवै ऐतिहासिक धार्मिक स्थल हुन् ।” हजुरबाले एकै सासमा भन्नुभयो ।
“कुटीमा जोगी बस्छन् भन्थे । यहाँ त कोही पनि बस्दा रहेनछन् ।” निशाले सोधी ।
“राजा भागेपछि यहाँ जोगी बस्थे रे होइन हजुरबा ?” बाटुलीले सोधी ।
“बस्न त बस्थे तर … … ।” यति भनेर हजुरबा फिस्स हास्नुभयो ।
“तर के नि ?” श्यामले सोध्यो ।
“यहाँ बसेका जोगीले गाउँ गाउँमा गएर मिठो मिठो खान माग्थे । नदिए राति बाघ बनेर आउँछौँ भनेर धम्क्याउँथे ।” यति भनेर हजुरबाले लामो सास फेर्नुभयो ।
“त्यसपछि के भो त ?” निखिलले सोध्यो ।
“एकदिन साँच्चिकै बाघ कुटीमुनिको जङ्गलमा आएर डुक्रिएछ । त्यस पछि त जोगीहरू कुम्लोकुटुरो बोकेर कुलेलम ठोकेछन् । अनि गाउँलेले पनि शान्तिको सास फेर्न पाए ।”
यति भनेर हजुरबा मुसुक्क मुस्कुराउनु भयो ।
“धत्तेरी रातै पर्न थालेछ । अब फर्कौं ।” हजुरबा बाटो लाग्नुभयो । सबैजनाले हजुरबालाई पछ्याए ।