लेखक
धीरकुमार श्रेष्ठ नेपाली सिर्जना र साहित्यिक पत्रकारिता क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । उनका आख्यान र निबन्ध विधातर्फ विभिन्न सिर्जनात्मक कृतिहरू प्रकाशित छन् । उनको कलम पाठ्यपुस्तक र बालसाहित्य लेखनमा पनि त्यत्तिकै सक्रिय देखिन्छ । उनको परिचय साहित्यसागरको छैटौँ शृङ्खलामा समेटिइसकेको छ । यहाँ सारभूत परिचयसहित उनको कालो हिउँ शीर्षकको छोटो बालकथा समेटिएको छ । यो कथा संवादात्मक रहेको छ । यस कथाले वातावरणीय परिवर्तनलाई बाल पात्र र परिवेशका माध्यमबाट देखाएको छ । यो रचनालाई बाल आख्यान र रूपकका रूपमा पनि चिनाउन सकिन्छ । -सम्पा. |
(नेहा र डोल्मा विद्यालय गइरहेका छन् । उनीहरूको पिठिउँमा झोला छ । हिँड्दाहिँड्दै कुरो गर्न थाल्छन् ।)
नेहा : (डोल्मातिर फर्किंदै) ओहो ! कस्तो गर्मी भएको आजभोलि । हकि ?
डोल्मा : (नेहातिर फर्किंदै टाउको हल्लाएर) हो नि, के भएको यस्तो !
नेहा : आमाले भन्दै हुनुहुन्थ्यो, यस्तो गर्मी भएको आजसम्म थाहा थिएन रे ।
डोल्मा : हजुरआमा पनि केही वर्षदेखि अचाक्लि गर्मी हुन थाल्यो भन्नुहुन्थ्यो ।
नेहा : पहिले पहिले जाडोमा धारामा पानी जम्थ्यो रे ।
डोल्मा : हो र ?
नेहा : पहिला पहिला हुस्सु लाग्थ्यो रे ।
डोल्मा : पहाडबाट तराईमा बसाइँ सरेको होला नि !
(दुवै जना हाँस्छन् ।)
नेहा : अँ साँच्चि, हिमालमा पनि हिउँ कम भइसक्यो रे नि !
डोल्मा : हो त, (चोरऔँलाले टाढा देखाउँदै) ऊ हिमालको सेतो हिउँ कालो भएको ।
नेहा : (डोल्माले देखाएकोतिर हेर्दै) अँ त । सेतो हिमाल कसरी कालो भएको होला ?
डोल्मा : (अचम्म मानेको जस्तो गरी) हिमाल कालो भएको हो त !
नेहा : (जिज्ञासाको भावमा) अनि के त ?
डोल्मा : सेतो हिउँ पग्लेर कालो पहरो देखिएको नि ।
नेहा : (कुरो बुझे जस्तो गरी) ए ! हो त नि । हिउँचाहिँ किन पग्लिएको होला हकि ?
डोल्मा : गर्मी बढेपछि हिमालको हिउँ पग्लिहाल्छ नि । होइन त ?
नेहा : हो नि । (दुवै जना लम्किन्छन्)