“अबुई ! कति लामो सर्प !” गाउँको घरको आँगनमा खेलिरहेकी वन्दना अचानक चिच्याई । उसले हत्तपत्त लट्ठी टिपी ।
“मलाई नहान ।” सर्पले भन्यो ।
“किन ?” उसले सोधी ।
“लट्ठीले हानेपछि म मरिहाल्छु नि ।”
“अनि मेरो घरमा किन आएको त ?” उसले रिसाउँदै सोधी ।
“म तिम्रो घरमा आएको हो ?” सर्पले सोध्यो ।
“नभए के त ! म तिम्रो घरमा आएको हो ?” उसको रिस कम भएको थिएन ।
“हो, हामी दशौँ पुस्तादेखि यहीँ छौँ । तिमरूले याँ’ कै’ले घर बना’को ? आमालाई सोध त ।”
“आमा ! आमा ! हाम्ले याँ’ घर कै’ले बना’को ?” खुरर्र घरभित्र पसेर उसले सोधी ।
“किन चाहियो तँलाई ?” उल्टै आमाले सोध्नुभयो ।
“भन्नु न क्या ।” ऊ लाडिई ।
“दश वर्षअगाडि ।” आमाले भन्नुभयो ।
“हो रहेछ ।” आँगनमा फर्केर उसले स्विकारी ।
“ल भैगो । तिम्रो घरमा तिमी बस । मचाहिँ बसाइँ सरेर जङ्गल जान्छु । त्यहीँ घर बनाउँछु । हुन्छ ?”
“हुन्छ ।”