अदुवादक डा. पुष्करराज भट्टको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनले अनुवाद गरेको हिन्दी लघुकथाकार पवन शर्माको भंग भएको अनुभूति शीर्षकको लघुकथा समेटिएको छ ।– सम्पा. |
मूल लेखक पवन शर्माको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको भंग भएको अनुभूति शीर्षकको कथाको नेपाली अनुवाद सोही शीर्षकमा प्रस्तुत गरिएको छ । यस लघुकथाले विवाह अघि र पछि सन्तानमा आउने परिवर्तन र त्यसले वृद्धवृद्धालाई पार्ने असरको उद्घाटन गरेको छ ।-सम्पा. |
“रेल धेरै ढिला भयो ?” श्रीमतीले बिस्तारै भनिन् ।
“हो, लगभग सवा घण्टे ढिला… अब हिँड्नै लागेको होला ।” ऊ बोल्यो ।
मोनूको हजुरबुवा उसलाई आफ्नो काखमा लिएर उभिएका छन् । उनको नजिकै हजुरआमा पनि । अँध्यारो बढिरहेको छ ।
“बुवा ! हजुरहरू घर फर्किुनुहोस्, रात हुँदै छ ।” उसले बुवालाई भन्यो ।
“जाउँला…“ बुवाले बिस्तारै भन्नुभयो ।
रेल स्टेसनमा धेरै भीड छ । रेलबाट जाने मानिस रेल हिँडने समयको प्रतीक्षा गरिरहेका छन् ।
“अब तिमी कहिले आउँछौ मोनु ?” आमाले बुवाको काखबाट मोनुलाई लिँदै भनिन् ।
“आमा ! हेरौँ अब कहिले बिदा हुन्छ ?” ऊ बोल्यो । .
“घर खाली भयो अब !” आमाले भनिन् । उसले केही भनेन । .. बुवाले आमातिर हेर्नुभयो । ं.
अचानक रेलले सिटी बजायो ।
“हिँड, तिमी सब बसिहाल् ।” बुवाले भन्नुभयो । .
“लौ त !” भनेर उसले झुकेर आमा र बुवाको खुट्टा छोयो…श्रीमतीले पनि…..र तिनै जना आफ्नो सिटमा गएर बसे ।
“पुगेर फोन गर्नु” आमा कतै भित्रबाट भिजिरहेकी थिइन् ।…भिजेको आवाज निस्कियो उनको मुखबाट ।
“हुन्छ आमा !” उसले झ्यालबाट बाहिर हेर्दै भन्यो ।
रेल बिस्तारै स्टेशनबाट घस्रिन लाग्यो । दुवैले झ्यालबाट हात निकाले । मोनुले पनि सानो हात बाहिर निकाल्यो । रेलको गति तेज हुन थाल्यो । आमा र बुवाका हात पनि हल्ल्नि लागे । थोरै समयमा स्टेसन शून्य भयो । बिदा गर्न गएका मानिस फर्किए । आमा र बुवा पनि….
“कसरी ऊ बुहारीको कुरामा लाग्यो ?….अहिलेसम्म त यस्तो थिएन् ।” आमाले स्टेसनबाट बाहिर आउँदै भनिन् ।
बुवाले हिँडदाहिँडदै एक पलका लागि आमालाई हेरे, केही भनेनन् ।
“सानो थियो, त्यतिबेला भन्दथ्यो, बुढेसकालमा तपाईँलाई म आफूसँगै राख्नेछु…. तिमी मसँगै रहनेछौ आमा । तर अब आएर चुपचाप मोनु र बुहारीलाई लिएर गयो…एक पटक पनि सोधेन कि आमा तपाईँ पनि जानुहुन्छ कि ?” आमा सडकमा हिँड्दै भनिरहेकी थिइन् । उनी धोतीले आँसु पुछिरहेकी थिइन् । बुवा निरिह भएर कहिले आमाालाई हेरिरहेका थिए….त कहिले सडकमा हिँडिरहेको भीडलाई ।