पार्वती पहारी तुफान युवा पुस्ताकी कवि एवम् गजलकार हुन् । उनको परिचय साहित्य सागरको अघिल्लो शृङ्खलामा समेटिएको छ । यहाँ उनको देवकोटालाई विषय र विम्ब बनाइएको गजल रचना समेटिएको छ । यस गजलले देवकोटालाई चेतनाको विम्बका रूपमा चिनाएको छ ।
– सम्पा.
आँगन पिढी, मझेरी तिमी सिङ्गो घर लाग्छ
साहित्यको अथाह त्यो महासागर लाग्छ
सम्झँदा तिमीलाई म बिर्सन्छु अरूलाई
तिमी वृक्ष म लता उम्रिएको भर्खर लाग्छ
उच्च र निच्च मनुष्य जाति कर्मले बन्दछ
अहङ्कारमा होस गर्नू भन्थ्यौ ठक्कर लाग्छ
चेतनाको ज्योति दिने तिमी महाकवि
कल्पनामा म हूँ पिपल तिमी वर लाग्छ
तिमीबाट चेतना र उज्यालोको किरण पाई
अँध्यारोको यात्रा अचेल भयङ्कर लाग्छ ।