सुरेन उप्रेती नेपाली साहित्यका उल्लेख्य प्रतिभा हुन् । उनले विदेशमा रहेर त्यहाँका साथीहरूलाई पनि समेट्तै निरन्तर साहित्य साधना र सेवा गरिरहेका छन् । साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा उनको परिचय समेटिइसकेको छ । उनी साहित्यसागरका प्रबन्ध–सम्पादक पनि हुन् । यहाँ सारभूत परिचयसहित देवकोटाको व्यक्तित्व मूल्याङ्कन गरिएको रचनालाई समेटिएको छ ।
-सम्पा.
सिक्किम, दार्जेलिङ डुबर्स असम आदि ठाउँहरूमा नेपाली भाषाका भव्य साहित्यिक कार्यक्रमहरू हुने गर्दछन् । जहाँ आदिकवि भानुभक्त आचार्य, कविशिरोमणि लेखनाथ पौडेल, महाकवि लक्ष्मीप्रसाद देवकोटा आदिको जन्म दिनलाई पञ्चायतकालमा नेपालमा हुने राजा महाराजाको जन्म जयन्तीझैँ झाँकी बाजागाजा नाचगानसहित भव्य चाडपर्वका रूपमा मनाइन्छ । ती ठाउँहरूमा बोलीचालीमा शुद्ध र ठेट नेपाली भाषाको प्रयोगलाई प्राथमिकतामा राखेर बोलिन्छ । नेपाली संस्कृति र परम्परालाई हेर्दा साँच्चीकै पौराणिक र ऐतिहासिकतालाई निरन्तरता दिएर राखेको पाइन्छ ।
मलाई नेपालमा रहँदासम्म आफ्नो भाषा र संस्कृतिको महत्त्वको बारेमा उति गहिरो ज्ञान थिएन । हुन त नेपालको शिक्षादेखि प्रशासनिक प्राविधिक, न्यायिक धेरै कुरामा बेलायतीहरूको प्रभाव पर्दै आएको देखिन्छ । अङ्ग्रेजहरूले भारतमा सयौँ वर्ष शासन गर्दा त्यसको प्रत्यक्ष र परोक्ष प्रभाव नेपालमा पनि पर्यो । टाई सुट लगाएका मान्छेलाई सलाम ठोक्ने संस्कृति नेपालमा पनि भित्रियो । किसानले तिरेको करबाट साना व्यापारी, उद्यमी ,श्रमिकले तिरेको करबाट तलब खाने मानिसहरूलाई एगदष्अि क्भचखबलत (जनताको नोकर) भनिन्छ । तर तीनै करबाट बाँच्ने राजा महाराजादेखि तल्लो तहका कर्मचारीहरूसमेतले आफ्ना अन्नदाताहरूलाई कहिल्यै मान्छे गनेनन् । सधैँ पशुवत व्यवहार गरिरहे । जसरी एउटा भारी बोक्ने गधा र मान्छे बोक्ने घोडालाई अझ छिटो हिँडाउन यातना दिइन्छ । सोही व्यवहार जनतामा गर्ने प्रवृत्ति हाम्रो समाजमा रहिरह्यो ।
समाजका पढेलेखेका मान्छे, राम्रा लुगा लगाउने मान्छे र अङ्ग्रेजी जान्ने मान्छेलाई भगवान्सरह मान्नु पर्ने प्रवृत्ति अङ्ग्रेजले जन्माएका हुन् । त्यही चलन नेपालका राणा र राजाहरूले पनि ग्रहण गरे र जनतालाई पनि थोपरे । भारतलाई अङ्ग्रेजले छाडेर गयो तर त्यो कुसंस्कार यथावत् रह्यो । मेहनतकर्मी श्रमिकहरूलाई सदैव हेयको दृष्टिले हेर्ने खराब संस्कारले निरन्तरता पायो । श्रमको कदर गर्ने र सम्मान गर्न कहिलै सिकाएन । अङ्ग्रेजले भारतको सरकारी कामकाजी भाषा अङ्ग्रेजी बनाएको थियो । त्यो भाषामा एक तिहाइ जनताको मात्र पहुँच थियो । अङ्ग्रेज गए पनि उनीहरूले भाषामाथि लादेका नियमहरू गएनन् । अझसम्म पनि कायम नै छन् ।
नेपाल र भारतमा मात्र होइन, पाकिस्थान, माल्दिभ्स, सिङ्गापुर र श्रीलङ्कामा समेत अङ्ग्रेजी भाषालाई सरकारी भाषा बनाए । त्यस्तै गरी हरेक महादेशका केही देशहरूमा अङ्ग्रेजी भाषालाई सरकारी कामकाजको भाषा बनाउन अङ्ग्रेजहरू सफल भए ।
तात्कालीन नेपालमा राणाहरूले शासन गरेका थिए । उनीहरूले स्कुल खोल्नु भनेको आफ्नो शासनको आयु छोट्याउनु हो भन्ने अर्थमा बुझेका थिए । यसरी भाषा साहित्य र संस्कृतिले फल्ने र फैलने मौका पाएको थिएन । २००७ सालको परिवर्तनपश्चात शिक्षा क्षेत्रमा केही परिवर्तनहरू आउन सुरु गरे । महाकवि देवकोटा नेपालको शिक्षामन्त्री हुँदा नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रिय समुदायमा पुर्याउन धेरै पहलहरू भए । तर नेपालको बिडम्बना वहाँले लामो जीवन पाउनु भएन । उहाँको शिक्षा मन्त्रीको समयावधि पनि ज्यादै छोटो रह्यो ।
नेपालमा पनि अङ्ग्रेजले ल्याएका अङ्ग्रेजी भाषालाई प्राथमिकता दिने संस्कार बढ्दै गयो । नेपाली भाषामा पाठ्यपुस्तकहरू तयार हुन सकेनन् । भारत र अङ्ग्रेजले तयार गरेका अङ्ग्रेजी किताबहरू पाठ्यक्रममा राखियो । जति धेरै भाषा जान्यो त्यति राम्रो त हो । तर आफ्नो भाषा नै बिर्सने गरी अङ्ग्रेजी भाषालाई प्राथमिकता दिइयो । अङ्ग्रेजी भाषा जानेपछि जागिर पाइन्छ भन्ने भ्रम सबै मानिसहरूका मन मस्तिष्कमा रोपियो । अङ्ग्रेजी पढाउने स्कुलहरू च्याउ उम्रिएझैँ उम्रिए ।
नेपाल सरकारको राम्रो शिक्षानीति अवलम्बन गर्न सकेन । अङ्ग्रेजी माध्यमका स्कुलका बालबालिकाहरूले अङ्ग्रेजी भाषा त जाने तर नेपाली राम्ररी लेख्न र पढ्न पनि जान्न छोडे । सरकारी विद्यालयहरूका शिक्षकहरूले समेत आफ्ना छोराछोरीहरूलाई अङ्ग्रेजी स्कुलमा भर्ना गरेर पढाउन थाले । सरकारी विद्यालयहरूको गुणस्तर खस्कँदै गयो । सरकारी विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूले माथिल्लो तहमा पुग्दा अङ्ग्रेजी विद्यालयका विद्यार्थीसँग प्रतिष्पर्धा गर्न कठिन भयो । वर्तमान युवा र नयाँ नयाँ पुस्तालाई हेर्ने हो भने नेपाली भन्दा अङ्ग्रेजी भाषाको बढी प्रयोग भएको देखिन्छ । अरू भाषाका पुस्तकहरूलाई मातृभाषामा अनुवाद गरेर या आफै उत्पादन गरेर नेपाली भाषामै शिक्षा दिन सक्यो भने मात्र नेपाली भाषा र साहित्यलाई अजर अमर गर्न सकिन्छ । अरू भाषाको अध्ययन गर्नुपर्छ तर आफ्नो भाषालाई बिर्सिएर होइन । अरू साहित्य र संस्कृति जान्नुपर्छ तर आफ्नोलाई त्यागेर होइन । भाषा, साहित्य र संस्कृति भनेका देशका पहिचान हुन् । देशका मेरुदण्ड र मस्तिष्क हुन् । यो कुरा नीति निर्माण गर्ने शिक्षाविद्हरूले महसुस गर्न आवश्यक छ ।
कुरा आजभन्दा करिब तीन दशक अगाडिको हो । त्यसबेला बेलायतबाट भर्खरै पढाइ सकेर नयाँ जोस र जाँगर लिएर आएका उर्जाशील युवाहरूको एउटा समूह थियो । उनीहरू देशलाई आवश्यक पर्ने दक्ष प्राविधिक जनशक्ति तयार गर्ने सपना सजाएर आएका थिए । जसले विकासोन्मुख देशलाई आवश्यक पर्ने प्रविधिको विकास गर्ने र युवाहरूलाई रोजगार प्रदान गर्न सकूँ भन्ने उद्देश्य राखेका थिए । प्रायः बेलायतमा बिताएका पलहरूका संस्मरण प्रसङ्गबस सुन्न पाइन्थ्यो ।
एकपटक शिक्षक केशव रेग्मीले बिदाका बेलामा हल्याण्ड घुम्न गएको प्रसङ्ग सुनाउनुभयो । त्यहाँका प्रायशः सबै मानिसहरू अङ्ग्रेजी भाषामा कुरा गर्न सक्दछन् । तर ती मानिसहरूसँग अङ्ग्रेजी भाषामा केही सोध्यो भने उत्तर दिँदैनन् । नजानेको अभिनय गर्छन । उनीहरूको मातृभाषा डच भाषा हो । त्यहाँका नब्बे प्रतिशत मान्छेहरूले डच भाषा नै बोल्ने गर्दछन् । उनीहरूसँग जानी नजानी डच भाषामा सोध्यो भने गर्वका साथ उत्तर दिने गर्दछन् । सबै कुरा भन्छन् आफन्तलाईझैँ व्यवहार गर्दछन् । सहयोग गर्न पनि उत्तिकै अग्रसर हुन्छन् । देशप्रतिको उनीहरूको माया भाषाप्रतिको अपनत्व र सम्मान कति उच्च छ ।
केशव रेग्मी सरले यी कुराहरू भनिरहँदा मेरो मन भने कतै हराएझैँ भएको थियो । बजारमा तरकारी बेच्न आउने भारतीय व्यापारीसँग जानी नजानी हिन्दी बोल्ने मान्छेहरूलाई सम्झन्थेँ । गोरो छाला भएका पर्यटकहरूलाई भेट्दा कनीकुथी अङ्ग्रेजी बोलेको सुन्थेँ । ती पर्यटकहरू “म नेपाली बोल्न जान्दछु नि, नेपाली भाषामा कुरा गर्नुहोस् न” भन्दै हुन्थे । नेपाली भने टुटेफुटेको भाषा बोलिरहेका हुन्थे । कुनै देश, भाषा र संस्कृतिमाथि जब अन्य देश, भाषा र संस्कृतिबाट अतिक्रमण हुन्छ । जुन बेला आफ्नो माटो, भाषा र संस्कृतिको पहिचान गुम्ने अवस्था हुन्छ । दबाइन्छ ,सताइन्छ, यातना दिइन्छ र नाम निशाना मेटाउने प्रयासहरू हुन्छन् ।
धेरै थिचाइमा परेपछि कमिलाले पनि शिर ठाडो पार्छ भनेझैँ अस्तित्व रक्षाका लागि मानिसहरू उठ्ने गर्दछन् । त्यस प्रतिरक्षाको युद्ध लड्न सके भने पहिचान जोगिन्छ । चाल्र्स डार्विनले मानव सभ्यताको इतिहासमा भनेझैँ कतचगननभि ायच भहष्कतभलअभ आवश्यक हुन्छ । त्यस युद्धमा बाँच्न सकेनन् भने भाषा लोप भएर जान्छ । पहिचान मेटिएर जान्छ । यस पृथ्वीमा कयौँ भाषा संस्कृति र सभ्यताहरू मेटिएर गएको अँध्यारो इतिहास हामीले सुनेका छौँ । कयौँ भाषा, संस्कृतिहरू र पहिचानहरू लोप भएर गएका कुराहरू पढेका छौँ । नेपालीहरू पनि बेलामा सचेत भएनौँ भने उही अवस्था नआउला भन्न सकिन्नँ ।
शासकहरूको संसारको चक्रवर्ती राजा हुने लहडमा धेरै भाषा र संस्कृतिले सहिद बन्नु पर्यो । प्राकृतिक श्रोत, साधन र सम्पत्ति आर्जन गर्ने होडमा र कोलोनाइज गर्ने शक्तिशालीहरूको लडाइँमा हजारौँ जीवनहरूका शाहदतसँगै भाषा र संस्कृतिहरू लोप भएर गए । यो अवस्थासँग हामी सचेत बन्नुपर्ने देखिन्छ ।
भौगोलिक र प्रशासनिक रूपमा स्वाधीन राष्ट्रहरू पनि भाषा साहित्य र संस्कृतिमा पराधीन हुन बाध्य भएका थुप्रै उदाहरणहरू छन् । आज बारबाडोस, बहामस, घायाना, फिजी, सामोआ श्रीलङ्का, मलेसिया जस्ता धेरै देशहरूमा अङ्ग्रेजी भाषाले त्यहाँको भाषामाथि अतिक्रमण गरेर आफ्नो प्रभुत्व जमाउँन सफल भयो । हाम्रो छिमेकी राष्ट्र भारतमा अङ्ग्रेजले शासन गरेर त्यहाँका भाषा र संस्कृतिमाथि अतिक्रमण गर्यो । त्यहाँका मलयालम तमिल बङ्गाली जस्ता भाषादेखि हिन्दी र संस्कृत भाषासमेत प्रभावित हुन पुगे ।
यस्तो अवस्थामा नेपाली भाषा संस्कृतिका विषयमा पनि चिन्ता गर्नुपर्ने अवस्था छ । आज विश्वमा नेपालीहरू छरिएर रहेका छन् । यो भाषालाई संसारभरि जहाँ नेपाली पुगेका छन् त्यहाँ प्रतिष्ठाका साथ पुर्याउने प्रयास भइरहेको छ । नेपालीको विदेश यात्रासँगै नेपाली भाषा साहित्य र संस्कृति कुनै न कुनै रूपमा पुगेको छ । नेपालको पहिचानलाई विश्व जनस्तरमा पुर्याउने काम ती नेपालीहरूले गरेका छन् ।
चाहे कामको सिलसिलामा पुगून् या विद्याआर्जन गर्न पुगून् । चाहे व्यापार गर्न पुगून् या व्यवसाय गर्न पुगेका हुन् । उनीहरूले नेपाल भन्ने देशको नाम सुन्दै नसुनेका सामान्य मानिसहरूलाई पनि नेपालको बारेमा जानकारी दिने गरेका छन् । नेपाली नेपालीबिच नेपालीमै कुरा गरिरहेका छन् । विचार आदानप्रदान गरिरहेका छन् ।
विदेशमा रहने नेपालीले नेपाल र नेपाली भाषालाई परिचित गराउन र नेपालीको पहिचान बनाउन विभिन्न कार्यक्रमहरू गर्ने गर्दछन् । नेपाली भाषाका कक्षाहरू सञ्चालन गर्दछन् । नेपाली सांस्कृतिक चाडपर्वहरूलाई मनाउने गर्दछन् । दशैँ मनाउने, देउसी भैलो खेल्ने, टीकामाला लगाउने गर्छन् । भाषा साहित्यको विकासका लागि साहित्यिक कार्यक्रमहरू गर्ने गर्छन् । साहित्यकारहरूका जन्म जयन्तीहरूलाई भव्य रूपमा मनाउने गर्दछन् । साना बालबालिकाहरूलाई आफ्नो भाषा संस्कृति सिकाउने काम गर्दछन् । उत्तर अमेरिकामा नेपालीहरू धेरै बसोवास गर्ने देश अमेरिका र क्यानडा हुन् ।
अमेरिकामा त नेपालीहरूको सङ्ख्या लाखौँमा पुगी सकेको छ । क्यानडामा पनि लाख पुग्ने क्रममा छ । नेपालीहरूले विभिन्न ठाउँमा आफ्ना समुदायहरूमा नेपाली भाषाका स्कुलहरू सञ्चालन गरेका छन् । साहित्यिक सङ्घ संस्था खोलेर नेपाली भाषासाहित्य र संस्कृतिलाई बढाउने कामहरू भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले विभिन्न देशका धेरै सहरहरूमा शाखाहरू खोलेर योगदान गर्दैछ । गैरआवासीय नेपाली सङ्घ नेपाली साहित्य समाज आदि थुप्रै सङ्घसंस्थाले नेपाली भाषासाहित्य र संस्कृतिको प्रवद्र्धन गरेका छन् ।
नेपालबाहिर भानु जयन्ती, देवकोटा जयन्ती मनाएर बालबालिकाहरूलाई नेपाली भाषासाहित्य र संस्कृतिको बारेमा सिकाउँछन् । नेपाली भाषाका पुस्तकहरूलाई अनुवाद गरेर अरू भाषीहरूलाई पनि भाषा चिनाउँछन् । अरू भाषाहरूको थिचाइमा परेर आफ्नो भाषाको अस्तित्व मेटिएला भनेर सधैँ चिन्तित हुन्छन् । रातदिन भाषा र साहित्य भन्दै सपना देखेर विविध सृजनाहरू गर्दछन् ।
क्यानडा विभिन्न सहरहरू मन्ट्रियल टोरन्टव, मिसासाग, ब्राम्टन, अलबर्टा, विनिपेग क्यालगरी, ब्रिटिस कोलम्विया, अटवा आदि ठाउँमा स्कुलहरू खोलेर नेपाली भाषाको पढाइ भइरहेको छ । क्यानडाको राजधानी अटवामा कक्षा एकदेखि आठसम्मका छवटा कक्षाहरू सञ्चालित छन् भने नेपाली भाषाको क्रेडिट कोर्स नौकक्षादेखि बार कक्षासम्मको पढाइ भइरहेकोछ । राजधानी अटवामा पनि २००४ सालदेखि लगातार देवकोटा जयन्ती मनाउने क्रम जारी छ । देउसी भैलो खेल्ने र संस्कृतिलाई फैलाउने क्रम निरन्तर चलिरहेको छ ।
विदेशमा बस्ने नेपालीका बिचमा देवकोटाको असामान्य प्रतिभाको चर्चा हुन्छ । देवकवटाले दश दिनमा सुलोचना महाकाव्य र एक दिनमै खण्डकाव्य लेखेको विलक्षणको यथार्थ सुनाउँदा विदेशी लेखक र साहित्यकारहरू समेत चकित हुने गर्दछन् । देवकोटाको यो चमत्कारी क्षमताको कुरा शंकर लामिछानेले चारघण्टामा पाँचवटा कथा लेखेको प्रसङ्गले पनि पुष्टि गर्दछ । त्यस्तै सुलोचना महाकाव्यका साँची भएर देवकोटाले भनेको लेख्ने श्यामदास वैष्णवको कुराले सारालाई नै चकित बनाउँछ । देवकोटा स्वदेश भित्रका विविध भाषाका ज्ञाताका अतिरिक्त विभिन्न नौ अन्तर्राष्ट्रिय भाषामा उतिकै पोख्त थिए भन्ने कुराले झनै आश्चर्य तुल्याउँछ । यस्ता प्रतिभालाई विश्वसामू पुर्याउन सके देवकोटा जस्तो प्रतिभावान साहित्यकार संसारमै नमुनाका रूपमा हुने थिए ।