गीता सापकोटा (२०३८ साल पौष ११ गते बिहीबार इनपा ७, इलाम सुपुत्रीः कृष्णभक्त र माता विष्णुमाया सापकोटा) नेपाली साहित्यमा सुपरिचित नाम हो । त्रिभुवन विश्व विद्यालयबाट एमए, बिएड र एम फिल गरेकी सापकोटा सिर्जना र समीक्षाका क्षेत्रमा सक्रिय छन् । उनका सिर्जनातर्फ इलामे चेलीका रचनाहरू (संयुक्त कवितासङ्ग्रह, २०५९) इतिहासका पानाभित्र (गजलसङ्ग्रह, २०६१), नेपाली गजलमा नारी हस्ताक्षर (संयुक्त गजलसङ्ग्रह, २०६२), पुरस्कार कविता सङ्ग्रह (२०६५), उपहार (बाल कवितासङ्ग्रह, २०६६ सह), भान्से बाहुनी (कवितासङ्ग्रह (२०७४) जस्ता कृतिहरू प्रकाशित छन् । पाठ्यपुस्तकतर्फ उनका आधुनिक नेपाली माला (कक्षा १–५, २०६७) र कक्षा छ र ७ (२०७०) का शृङ्खलाहरू प्रकाशित छन् । उनका समालोचनात्मक लेखहरू विभिन्न पत्रपत्रिकामा छरिएर रहेका छन् । सापकोटाको अर्को व्यक्तित्व सम्पादकका रूपमा स्थापित छ । उनको सम्पादनमा पं भवानीशंकर सापकोटा स्मृति ग्रन्थ (२०६९) उच्च माध्यमिक नेपाली समालोचना (२०६८) जस्ता कृतिहरू प्रकाशन भएका छन् । उनले इलामबाट प्रकाशित ज्योति पुञ्ज द्वैमासिकका साथै इशारा मासिक, दिगो ललित आवाज मासिक ललितपुर र वेभ लेन्थ त्रैमासिक काठमाडौँ जस्ता पत्रिकाहरू सम्पादन गरेकी छन् । उनले चिचिला मासिक र नवतारा मासिक जस्ता पत्रपत्रिकाको प्रतिनिधि सम्पादक भएर पनि काम गरेकी छन् । एक दर्जनजति सञ्चार, साहित्य, एवम् सामाजिक संस्थाहरूस“ग संलग्न सापकोटा पेसाले शिक्षण एवम् प्राध्यापन गर्छिन् । साहित्य सागरको प्रस्तुत अंकमा सापकोटाको घिमिरेका व्यक्तित्वलाई विम्ब बनाइएको कर्मगान शीर्षकको कविता समेटिएको छ । यस कविताले कर्मवीर मानिस अमर हुने पक्षलाई समेटेको छ । -सम्पा. |
सिर्जना चुली हौ सिड्गै कर्मवीर सुसर्जक
साधना कर्ममा डुब्दा भयो जीवन सार्थक
सिर्जनामा कतै शोक, कतै जोस र जाँगर
कतै जिज्ञासु आवाज, कतै उमङ्ग हर्ष छ ।
वनपाखा तिमीभित्रै सुसाउँछन् निरन्तर
खोलानाला र झर्नाले पाउँछन् काव्यका स्वर
युवा जोस जगाएर रच्छौ काव्य सरासर
उर्लँदो खहरे हैनौ, तिमी अनन्त सागर ।
मस्र्याङ्दी तटमा खेल्दै हुर्केको काव्य आँकुरा
निरन्तर उकालो गै चढ्यो शिखर टाकुरा
काव्य सौन्दर्यमै गीत, अझ नाटक सुन्दर
उज्याली धरती पार्यौ साधनाले निरन्तर ।
इलाम