ठाकुर शर्मा भण्डारी (२०१० भाद्र २५, जुहाङ गा.वि.स. वार्ड नं. ६, मोहरिया गाउँ गुल्मी, लुम्बिनी, सुपुत्र : नवनिधि भण्डारी (जगन्नाथ) र धनकला भण्डारी) नेपाली साहित्यमा स्रष्टा, समीक्षक एवम् साहित्यिक पत्रकारका रूपमा सुपरिचित छन् । भण्डारी साहित्याचार्य (सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसी, भारत) र एम.ए. नेपाली (त्रिभुवनविश्वविद्यालय, कीर्तिपुर, नेपाल) भएकाले उनी साहित्याचार्यका रूपमा योग्यता र व्यवहारले पनि परिचित छन् । उनका अन्तध्र्वनि (२०५५ वैशाख), आस्थाका पाइला (२०५९ भाद्र), उपासना (२०६०), शब्दनाद (२०७०) र सम्मिलन (२०७५) समेत आधादर्जन कविताकृति प्रकाशित छन् । उनका केही मुक्तकसङ्ग्रह पनि प्रकाशित छन् । प्रकृतिमा मान्छे (२०६६) र पद्यमुक्तक (२०७३ आश्विन) उनका मुक्तकसङ्ग्रहहरू हुन् । उनका तीतामीठा कुरा (२०६३, सह–लेखन), वसन्तानन्द (चम्पूकाव्य २०६५), नीति–विचार (२०६७, सह–लेखन) अभिनवन–काव्य २०७१) जस्ता काव्य हुँदै आरोहण, (सहलेखन–त्रयोदशकवि २०७४) महाकाव्य पनि प्रकाशित छ । उनले सूक्तिसुधा (अनुवाद २०७२ फागुनशिवरात्री) शीर्षकको कृति पनि अनुवाद गरेका छन् । भण्डारीले निबन्धतर्फ पञ्चामृत (२०६८) कृति प्रकाशित गरेका छन् । यो आध्यात्मिक लेख निबन्धसङ्ग्रह हो । निबन्धभन्दा उनको मूल रुचि र समर्पण भने कविता विधामा केन्द्रित देखिन्छ । उनका अहिेलेसम्म प्रकाशित कवितात्मक उपविधाका कृति र अनुवादसमेतले भण्डारीलाई सिर्जनातर्फ कविका रूपमा चिनाउँछन् । उनी निरन्तर सिर्जना गर्न सक्ने कविका रूपमा देखिन्छन् । भण्डारीस्रष्टा मात्र नभई द्रष्टा पनि हुन् । उनको सहलेखनमा क्याम्पस तहका पाठ्य पुस्तक लेखनिका साथै विविध समालोचना कृति पनि प्रकाशित छन् । उनका समालोचना कृतिहरूमा विमर्शन (२०६६), साहित्ययात्राकापदचाप (२०७०), अभिव्यञ्जन (२०७४), विवेचन (२०७४), परिदर्शन (२०७४)जस्ता कृतिहरू पनि प्रकाशित छन् । उनी साहित्यिक पात्रकारका रूपमा पनि सक्रिय छन् । उनका सम्पादनमा वैजयन्ती विधाप्रधान पत्रिका दिस्किइरहेको छ । साहित्य सागरको प्रस्तुत अङकमा शर्मा भण्डारीको माधव घिमिरेलाई विषय बनाइएको कविता समेटिएको छ । राष्ट्रकवि शीर्षकको यस कवितामा घिमिरेका प्रभावहरूको छाप देख्न सकिन्छ । -सम्पा. |
यो राष्ट्रमा उज्ज्वल साधना थ्यौ
हिमालजस्तो गरिमा उचाइ
झर्ना झरेझैँ कविता चलाइ ।१।साहित्य पायौँ रसपूर्णताको
जीवन्तता थ्यो भव–भावनाको
यो दिव्य आलोक स्वराष्ट्र–गान
पाई रमायौँ कविता विधान ।२।
आलोक छर्ने कवि सूर्यजस्तै
आनन्दको रश्मि छ चन्द्रजस्तै
कवीन्द्रको अन्तर भाव रास
आशा भरोसा कवि–ता–प्रकाश ।३।
साहित्यमा देख्दछु ‘घामपानी’
रम्थ्यौ सदा बालक–धर्म जानी
सौन्दर्य नेपाल बुझेर लेख्यौ
काव्यात्मको ज्योति समग्र पोख्यौ ।४।
‘राजेश्वरी’ सुन्दर साधना हुन्
‘गौरी’ सबैकी मन–भावना हुन्
जहाँ छ खुल्ने करुणानुभूति
काव्यात्मका माधव धन्य मूर्ति ।५।
अस्तित्वको खातिर लड्न सक्ने
अन्तर्यको गान गरेर हिँड्ने
यो राष्ट्रको वैभवमा रमायौ
आनन्दको नन्दन राग ल्यायौ ।६।
स्वतन्त्र काव्यामृतमा विशिष्ट
सम्मानको मान गुथ्यौ विचित्र
काव्यत्ममा भो गहिरो कुदाइ
हृत्केन्द्रमा बस्न सक्यौ सजाई ।७।
मुस्कान मिल्थ्यो मनमा सजाएँ
यो लेखनीमा शुभभाव ल्याएँ
अनन्त आस्था छरिँदा पवित्र
सुशान्त यात्रातिर भो सुचित्र ।८।
आस्था छ आनन्द गुरुत्व–आस्था
विस्तार छन् दृष्टि विचार आस्था
अनन्त आस्था छ अनन्त भाव
अनन्ततामा मिलूँ साथसाथ ।९।
अनेकमा एक स्वराभिधान
सर्वत्र पायौ परिपूर्ण मान
जीवन्त आस्था कविता विधान
श्रद्धा बिसाएँ कवि पूर्णतामा ।१०।