रीता बुढाथोकी नवप्रतिभा हुन् । उनी तेह्रथुम जिल्लाको फेदाप गाउँपालिकामा २०६० साल फागुन २९ गते जन्मेकी हुन् । मनबहादुर बुढाथोकी र तुलसा बुढाथोकीकी ज्येष्ठ सुपुत्री रीता हाल काठमाडौँको धुम्मराहीमा बस्छिन् । उनी अहिले पशुपति बहुमुखी क्याम्पस चावहिल काठमाडौँमा बी.एड प्रथम वर्षमा अध्यनरत छन् । साहित्यमा अभिरुचि राख्ने रीता अपेक्षा नामबाट पनि चिनिन्छिन् । साहित्यसागरमा उनको ‘मेरा आमाबाबा’ शीर्षकको कविता समेटिएको छ । यस कविताले पितामाताको महत्त्व दर्शाएको छ । -सम्पा. |
मनले छाम्छु आँखाले हेर्छु, अरू केही देख्दिन
सासैमा आमा गाँसैमा बुवा, बिर्सन सक्दिन
जन्म दियौ कर्म दियौ ,सह्यौ दुःख कष्ट
आमाबुबा साथमा भए, भाग्छन् पीडा कष्ट।
भोकै तिर्खै काम गरेर, पढ्न पठायौ
विचार महान थियो र त, अघि बढ्न सिकायौ
सन्तान निम्ति बनेर मैन बलेर उज्यालो
बाँडिनै रह्यौ गरेर काम दुःख र जियालो ।
नाम्लाको डाम हराउनै पाएन, दाउराको भारीले
हातखुट्टा सबै चिथोरी दियो, जङ्गलमा घारीले
बारीमा जान्छौ हलो र जुवा, बोकेर काँधमा
चुल्होमा आगो बलेको हुन्न, फर्किदा साँझमा ।
मनले छाम्छु आँखाले हेर्छु, अरू कोही देख्दिन
सासैमा आमा गाँसैमा बुवा, बिर्सन सक्दिन ।
तेह्रथुम
हाल : काठमाडौँ ।